कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लाको नाम्खामा पढाइ सुरु

छपाल लामा

हुम्ला — नाम्खा गाउँपालिकाका सबै विद्यालयमा बुधबारदेखि पठनपाठन सुरु भएको छ । कोरोनाका कारण ७ महिनादेखि बन्द रहेका विद्यालय खोल्ने निर्णय गरिएको हो । गाउँपालिकाकै वडा नं. ६ लिमीमा रहेका तीनवटा विद्यालय भने कोरोना कहरमा पनि बन्द भएका छैनन् ।

हुम्लाको नाम्खामा पढाइ सुरु

सरोकारवालासँग छलफल गरी विद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष तेमा तामाङले बताए ।

नाम्खामा १६ सामुदायिक विद्यालय र एक धार्मिक विद्यालय (गुम्बा) छन् । तामाङका अनुसार सबै विद्यालयमा गरेर १ हजार ६० विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकामा कोरोनाको जोखिम नरहेको र विद्यार्थीको पढाइ पनि बिथोलिएकाले दसैं–तिहारको बीचमा पनि अध्ययन सुरु गरिएको उनले बताए । ‘कोरोनाको त्रासले पढाइ लथालिङ्ग भएको छ, त्यसैले विद्यालय खोल्ने निर्णय गरिएको हो,’ उनले भने, ‘कोरोनाका सुरक्षा विधि अपनाएर विद्यालय खोलिनेछ ।’

यालबाङस्थित महाबौद्ध माविका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाले स्वास्थ्यका सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गरिएको बताए । उनका अनुसार गाउँपालिका बाहिरबाट अध्ययन गर्न आउने विद्यार्थीको पीसीआर परीक्षण गरिनेछ । उक्त आवासीय विद्यालयमा ३ सय २० जना विद्यार्थी अध्ययनरत छन् ।

कर्णालीका अन्य हिमाली क्षेत्रमा जस्तै नाम्खामा पनि फागुनदेखि शैक्षिक सत्र सुरु हुन्छ । अब शैक्षिक सत्र सकिन साढे ३ महिनामात्र बाँकी छ । यही अवस्थालाई मध्यनजर गर्दै सदरमुकाम सिमकोटस्थित मानसरोवर माविमा पनि कात्तिक १८ गतेदेखि पठनपाठन सुरु हुने भएको छ । सो विद्यालयमा कक्षा ६ देखि १२ सम्म पढाइ हुन्छ । प्रधानाध्यापक अमरबहादुर शाहीले विद्यालयमा सेनिटाइजर, साबुन र मास्कको प्रयोग गर्नुका साथै आवश्यकताअनुसार विद्यार्थी र शिक्षकको पीसीआर परीक्षण पनि गरिने बताए ।

प्रकाशित : कार्तिक १२, २०७७ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?