कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोटमा चोरीका घटना बढे

भीमबहादुर सिंह

जाजरकोट — दसैंलगायत चाडपर्व नजिकिएसँगै सदरमुकाम खलंगा र आसपासका गाउँमा चोरीका घटना बढेका छन् । भेरी नगरपालिका–२ बाहुनथानामा एकै रातमा झण्डै एक दर्जन चोरीका घटना भएका छन् ।

गत मंगलबार भेरी नगरपालिका–२ बाहुनथानाका गणेशबहादुर खड्काको घरबाट ५५ हजार र २ तोला सुन चोरी भयो । सोही ठाउँका मिलन खड्का र हर्कबहादुर ताउलेको घरबाट पनि ३५/३५ हजार चोरी भयो । सोही दिन रिसाङकी प्रेमकला शर्माको घरबाट आधा तोला सुन र ४ हजार चोरी भएको प्रहरीले जनाएको छ । त्यस्तै सोमबार राति दारनेटाका भीमबहादुर खड्का, प्रेमबहादुर ओलीलगायतको खोरबाट खसी चोरी भए ।

गत सोमबारदेखि शुक्रबारसम्म भेरी नगरपालिका–२ का दर्जन घरबाट ३ लाख नगद, ३ तोला सुन र १३ वटा खसी चोरी भएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए ।

चोरी बढ्दै गएपछि गाउँगाउँमा त्रास छाएको स्थानीय अगुवा भवानीप्रसाद शर्माले बताए । उनका अनुसार चोरले पसलमा रहेका चाउचाउ, साबुन, चिनी, तेल तथा मेडिकलको औषधिसमेत चोरी गरेका छन् । ‘एकपछि अर्को चोरीका घटना हुन थालेपछि कसरी जिउधन जोगाउने भन्ने चिन्ता छाएको छ,’ उनले भने, ‘चोरलाई समात्न गाउँलेहरु धेरै रात जाग्राम बसे पनि प्रयास सफल भएन ।’

सदरमुकाम खलंगा नजिकैका पानीनाउला, रिसाङ, दारनेटा, बाहुनथाना, पोखरालगायत गाउँमा चोरी बढिरहेको स्थानीय भीमबहादुर खड्काले बताए ।

चोरीका घटना बढेपछि गाउँगाउँमा २४ सै घण्टा प्रहरी टोली परिचालन गरिएको डीएसपी श्रेष्ठले बताए । प्रहरी टोली परिचालन गरेपछि चोरीका घटना घटेको उनले दाबी गरे । चोरी गर्नेहरुको खोजी भइरहेको उनले बताए ।

प्रकाशित : आश्विन २४, २०७७ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?