कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला अस्पताल मुगुमा एक सातामा चार बिरामीको जटिल शल्यक्रिया

राजबहादुर शाही

मुगु — जिल्ला अस्पतालमा एक सातामै चारजना बिरामीको जटिल शल्यक्रिया गरिएको छ । यसअघि शल्यक्रिया सुविधा नहुँदा यहाँका बिरामी महँगो रकम खर्च गरेर नेपालगन्ज, सुर्खेत र जुम्लामा उपचार गराउन बाध्य थिए ।

जिल्ला अस्पताल मुगुमा एक सातामा चार बिरामीको जटिल शल्यक्रिया

एक साताको अवधिमा आन्द्रामा प्वाल परेका छायानाथरारा नगरपालिकाका ४५ वर्षीय सुरेन्द्र बुढा, फिस्टुलाको समस्या भएकी छायानाथरारा–३ की जलदेवी बुढा र हातको हड्डी ‘फ्याक्चर’ भएका भामवाडाका सन्दिप रावलको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा परेका मुगुमकार्मारोङ गाउँपालिका–७ का छोर्देन लामाको हातको शल्यक्रिया गरिएको अस्पतालका डा. सिद्धार्थध्वज खातीले बताए । उनका अनुसार यसअघि अस्पतालमा जटिल अवस्थाका गर्भवतीको मात्र शल्यक्रिया सुविधा थियो ।

शल्यक्रिया सुविधा नहुँदा बिरामीहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र नेपालगन्जस्थित भेरी अस्पताल जान बाध्य थिए ।

अस्पतालमा एमजीडीपी डा. खाती आएपछि आन्द्रामा प्वाल परेको, फिस्टुला, हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिस, सिएसजस्ता जटिल स्वास्थ्य समस्याको शल्यक्रिया गर्न थालिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी पर्शुराम नेपालीले क्रमश: शल्यक्रिया सेवा थप हुँदै जाने बताए ।

उनका अनुसार जिल्ला बाहिर जाँदा बिरामीलाई सामान्य शल्यक्रिया गर्न पनि कम्तिमा एक लाख रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता थियो ।

प्रकाशित : आश्विन २१, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?