ज्वाइँलाई छोरा भनेर नागरिकता दिलाउँदा दुई जना पक्राउ
सल्यान — ज्वाइँलाई छोरा भनेर फर्जी नागरिकता बनाइदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
छत्रेश्वरी गाउँपालिका–७ जिताठान बस्ने बर्ष ४६ का मुस्ताज मियाँ र बबई गाउँपालिका–७ दाङ घर भई हाल जिताठान बस्दै आएका बर्ष २३ का समिर मियाँ भन्ने ईमाम बक्स मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
छत्रेश्वरी गाउँपालिका ७ वडा कार्यालयको सिफारिसमा २०७५ भदौ २४ गते मुस्ताज मियाँका छोरा भन्दै ज्वाइँ समिर मियाँले नागरिकता लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउमा परेका दुबै जनालाई नेपाल नागरिकता ऐन २०६४ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।
दाङ घर भएका समिर मियाँले बाबु बिसमुल्ला मियाँलाई पटकपटक नागरिकता बनाइदिन आग्रह गर्दा पनि बेवास्ता गरेकाले सल्यान आएर ससुरालाई बुवा बनाएर नागरिकता लिन परेको बयान दिएको प्रहरी निरीक्षक ओलीले बताए । पक्राउ गरेका दुवैलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी अनुसन्धान भइरहेको छ ।
प्रकाशित : आश्विन २१, २०७७ ०८:३३