छत्रेश्वरी गाउँपालिकाका सातवटै वडा कार्यालयमा तालाबन्दी
सल्यान — छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार कर्मचारीले पालिकाको सातवटै वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
गाउँपालिकाले अहिलेसम्म म्याद थप नगरेको भन्दै कार्यालयमा कार्यरत स्थायी कर्मचारीलाई बाहिर निकालेर करार कर्मचारीले तालाबन्दी गरेका हुन् ।
करार कर्मचारीको म्याद थप नगर्दासम्म वडा कार्यालयमा लगाएको ताला नखोलिने कर्मचारीले बताएका छन् । तालाबन्दीले कर्मचारीको समस्या समाधान नभए मंगलबारदेखि गाउँपालिकाको कार्यालयमासमेत धर्ना दिने उनीरुले जानकारी गराएका छन् ।
नेकपा र कांग्रेस निकट जनप्रतिनिधिको विवादले गर्दा आफूहरुको रोजीरोटी गुमेको करार कर्मचारी संघर्ष समितिका संयोजक दिलीप बोहराले बताए । करारमा भर्ना गरेका कर्मचारीलाई हटाउने भनेर कार्यपालिकाबाट नै नेकपा जनप्रतिनिधिले आवाज उठाएपछि साउनदेखि नै आन्दोलनमा उत्रिएको उनले जानकारी गराए । ‘हामीलाई राजनीतिक एजेन्डा बनाइएको छ,’ उनले भने । करारमा भर्ना गरिएका कर्मचारीलाई तत्काल नियुक्ति दिनु पर्ने र करार सम्झौताले निरन्तरता पाउनु पर्ने उनको माग छ ।
गाउँपालिकाले पालिकाभरि शिक्षक, स्वास्थ्यकर्मीलगायत गरी सय जना कर्मचार करारमा भर्ना गरेको छ ।
प्रकाशित : आश्विन १२, २०७७ १२:५५