कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ वर्षदेखि झोलुंगे पुल अलपत्र

राजबहादुर शाही

मुगु — हुम्ला र मुगु जोड्न ४ वर्षअघि निर्माण सुरु गरिएको हुम्ला कर्णाली नदीको झोलुंगे पुल अलपत्र परेको छ । सोरु गाउँपालिका–४, फोतुचौरदेखि हुम्लाको जैर जोड्ने झोलुंगे पुल लामो समयदेखि अलपत्र परेको हो ।

झोलुंगे पुल क्षेत्र विकास कार्यक्रमले पुल निर्माणको काम सुरु गरेको थियो । पुल निर्माण नहुँदा स्थानीयबासी एक घण्टा टाढा हिँडेर छिमेकी जिल्ला आउजाउ गर्न बाध्य छन् । फोतुगाउँका बासिन्दालाई हुम्ला आउजाउ गर्न सजिलोका लागि पुल निर्माण थालिएको थियो । तर जैरगाउँका स्थानीयको अवरोधका कारण पुल निर्माण अधुरै बनेको हो ।

पुल निर्माणका सबै सामग्री ढुवानी भइसके पनि स्थानीयको अवरोधका कारण निर्माण अलपत्र गरेको उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर शाहीले बताए । उनका अनुसार पुल निर्माण भएपछि जैरगाउँको घाँस दाउरा चोरी हुने भन्दै स्थानीयले अवरोध गरेका छन् । पुल अलपत्र परेपछि निर्माण सामग्री जीर्ण बन्दै गएको उनले गुनासो गरे ।

पुल निर्माणका लागि सहजीकरण गरिदिन स्थानीय जनप्रतिनिधिसँग आग्रह गरे पनि बेवास्ता भइरहेको नागरिक अगुवा गोर्खबहादुर शाहीले बताए । उनका अनुसार पुल नबन्दा हुम्ला जानुपर्ने सोरु गाउँका बासिन्दाले एक घण्टा टाढाको नेरघाट गएर पुल तर्नुपर्ने बाध्यता छ । सोरु गाउँपालिकाकै लिब्रुखोला जोड्ने ट्रसब्रीज पनि लामो समयदेखि अलपत्र परेको उनले गुनासो गरे ।

स्थानीयलाई सहमतिमा ल्याउन पटकपटक दुवै गाउँको सर्वपक्षीय बैठक गरे पनि सफल नभएको सर्केगाड गाउँपालिका उपप्रमुख जोशी धामीले बताए ।

प्रकाशित : आश्विन २, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?