कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाटनमै गएर गोठालाको स्वास्थ्य परीक्षण

छपाल लामा

हुम्ला — कोरोनाका साथै अन्य स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै पाटनमा रहेका खर्काला (गोठाला) को स्वास्थ्य परीक्षण गरिएको छ । सदरमुकाम सिमकोटदेखि पैदल डेढ दिन लाग्ने चुवाखोला क्षेत्रका खर्कालुको स्वास्थ्य परीक्षण र उपचार गरिएको हो ।

पाटनमै गएर गोठालाको स्वास्थ्य परीक्षण

सिमकोट गाउँपालिकाको वडा-१ अन्तर्गत पर्ने दोजाम स्वास्थ्य सेवा केन्द्रले अहेब रत्न बोहोरालाई एक साताको लागि त्यहाँ खटाएको थियो । उनले खर्कमै गएर गोठालाहरुको स्वास्थ्य परीक्षण गरेका हुन् । उनीहरु पाटनमै बस्ने भएकाले कोरोनाका साथै अन्य कुनै स्वास्थ्य समस्या हुनसक्छ भनेर त्यहीँ गएर जाँच्ने काम गरिएको अहेब बोहोराले बताए । उनी शुक्रबार दोजाम फर्केका छन् ।

चुवाखोला पाटनको लडेखोलामा पाल टाँगेर स्वास्थ्य शिविर चलाइएको थियो । गत वर्ष पनि यही समयमा गोठालाको लागि स्वास्थ्य शिविर चलाइएको थियो । यो वर्ष शिविरमा ४५ जना खर्कालुको स्वास्थ्य परीक्षण भएको र ५ जना बालबालिकालाई खोप लगाइएको उनले बताए ।

अधिकांश खर्कालुमा ग्याष्ट्राइटिसको समस्या देखिएको उनको भनाइ छ । ‘केही बिरामीलाई टाउको दुख्ने, ज्वरो आउने समस्या देखियो, दमका बिरामी पनि रहेछन्,’ उनले भने, ‘स्वास्थ्य परीक्षणपछि हामीले औषधी दिएका छौं ।’

खर्कमा चौंरी चराउने क्रममा लडेर चोट लागेका छिमी लामाले खर्कमै उपचार पाएपछि खुसी व्यक्त गरे । ‘खर्कमै औषधीमूलो होला भन्ने त कहिल्यै सोचेको थिइँन,’ उनले भने, ‘यहीँ डाक्टर (स्वास्थ्यकर्मी) आउँदा सरकार आएको जस्तो लाग्यो ।’

खर्कालाको उपचार गर्दै स्वास्थ्यकर्मी रन्न बोहरा ।

प्रकाशित : भाद्र २७, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?