कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकको स्तरोन्‍नतिमा अनियमितता आरोप

ठेकेदार भन्छन्–‘५० लाख बचाएर घर र कार किनेँ’
ज्योति कटुवाल

दैलेख — कर्णाली राजमार्गबाट ठाटीकाँध गाउँपालिका जोड्ने चिने–ठाटीकाँध –बिजारे सडक स्तरोन्नतिमा अनियमितता भएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

सडकको स्तरोन्‍नतिमा अनियमितता आरोप

७४ लाख रुपैयाँ विनियोजन गरिएको योजना उपभोक्ता समितिले निर्माण गर्न नसकेपछि ठेकेदारलाई जिम्मा लगाइएको थियो ।

गाउँपालिकाले गत आर्थिक वर्षमा सडक स्तरोन्नतिका लागि ७४ लाख रुपैयाँ विनियोजन गरेको थियो । योजनामा ठेकेदार, उपभोक्ता समिति र प्राविधिकले मिलेमतो गरेर अनियमितता गरेको स्थानीयको आरोप छ । ‘केही ठाउँमा मात्रै ग्राभेल बिछ्याएर रकम सक्ने मात्रै काम भयो,’स्थानीय बिर्खबहादुर शाहीले भने, ‘पानी परेको बेला सडकमा मान्छे हिँड्नसमेत मुस्किल हुन्छ ।’ प्राविधिक स्टमेट मिलाएर सडकमा अनियमितता गरिएको उनले आरोप लगाए ।

गुणस्तरहीन ग्राभेल गरी उपभोक्ता समिति र ठेकेदारले रकम सिध्याएको स्थानीय कमल शाहीले बताए । उनका अनुसार सडकमा जथाभावी छरिएको ढुंगा र गिट्टी उप्किसकेका छन् । ‘सबै ग्राभेल माटोमा मिसियो,’ उनले भने, ‘स्तरोन्नति गरिएको सडकमा साना गाडी चलाउन पनि मुस्किल छ ।’ उनका अनुसार गाउँपालिकाले भने १५ सय मिटर ग्राभेल गरिएको दाबी गरेको छ ।

गाउँपालिकाले सुरुमा उपभोक्ता समितिमार्फत काम गर्न खोजे पनि नसकेपछि ठेकेदारको जिम्मा लगाइएको हो । सडक ग्राभेलको जिम्मा विजय कन्स्ट्रक्सन, सुर्खेतले पाएको थियो । सडक स्तरोन्नतिका लागि सुरुमा ५० लाख रुपैयाँ विनियोजन गरी उपभोक्ता समितिलाई जिम्मा दिए पनि नसकेपछि ठेकेदारमार्फत गराउन थप २४ लाख रुपैयाँ थप गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ५ लाख रुपैयाँको काम बाँकी भएको भन्दै ठेकेदारलाई ६९ लाख रुपैयाँ भुक्तानी दिएको छ ।

सडकको स्तरोन्नतिमा अनियमितता भएको ठेकेदार उपेन्द्र बोहोराले स्वीकारे । ‘योजनाबाट ५० लाख बचाएर घर र कार किनेँ, ’ उनले भने, ‘ग्राभेल १५ लाखको पनि भएको छैन, केही रकम उपभोक्ता समितिका पदाधिकारीलाई वितरण गरियो ।’ रकम नपाएका केही व्यक्तिले आफ्नो विरोध गरेको उनको दाबी छ ।

बजेट फ्रिज जाने भएपछि असार मसान्तमा ठेकेदारमार्फत हतारहतार काम गराइएको उपभोक्ता समितिका सचिव मानबहादुर विष्टले बताए । उनका अनुसार समितिमा खर्च भएको ७४ हजार रुपैयाँ राखेर बाँकी रकम ठेकेदारलाई दिइएको हो । ‘समितिसँग स्रोत–साधन नभएकाले ठेकेदारलाई काम दिएका हौं,’ उनले भने, ‘समितिले पाउने पुरै रकमसमेत पाएको छैन ।’ गाउँपालिकाका सवइन्जिनियर लबबहादुर सिजापतिले स्टमेटअनुसार काम भएको दाबी गरे ।

इन्जिनियरले प्राविधिक स्टमेटअनुसार काम भएको प्रतिवेदन पेश गरेपछि ठेकेदारलाई भुक्तानी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बावुराम नेपालीले बताए । सडकमा सम्झौता अनुसार काम भएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले दाबी गरे ।

प्रकाशित : भाद्र २५, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?