कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाको ‘रेड जोन’ बन्दै वीरेन्द्रनगर

चाँदनी कठायत

वीरेन्द्रनगर — संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर कोरोनाको ‘रेड जोन’ बन्न थालेको छ । बुधबार एकैदिन वीरेन्द्रनगरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार बिहान १९ जनामा र दिउँसो थप १७ जनामा संक्रमण देखिएको छ ।

कोरोनाको ‘रेड जोन’ बन्दै वीरेन्द्रनगर

बिहान पुष्टि भएका १९ मध्ये कन्ट्रयाक्ट ट्रेसिङमा नपरेका समुदायस्तरका ५ जनासमेत रहेको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए । २४ घन्टाको अद्यावधिक विवरणअनुसार शुक्रबार अपराह्नसम्म सुर्खेतमा २१ जना संक्रमित थपिएका छन् ।

‘अहिले देखिएको संक्रमण ठ्याक्कै समुदायस्तरकै संक्रमण त होइन,’ उनले भने, ‘कर्णालीभन्दा अन्य प्रदेशबाट र साउदीबाट आएका व्यक्तिमा पनि संक्रमण देखिएको छ ।’ वीरेन्द्रनगरमा संक्रमितहरुको पछिल्लो तथ्यांक हेर्दा अवस्था सामान्य नरहेको उनी बताउँछन् ।

वीरेन्द्रनगर कर्णालीको मुख्य प्रवेशद्वार पनि भएकाले अन्य स्थानीय तहभन्दा बढी जोखिम भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । लकडाउन खुलेसँगै स्थानीयले अवस्थालाई सामान्य रुपमा लिनु, विभिन्न चाडपर्व नजिकिँदै जानुलगायत कारणले पनि भिडभाड बढ्दा जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

समुदायस्तरमा परीक्षण सुरु भएसँगै व्यापारी, सवारी चालक, सैलुन व्यवसायी र बाहिरबाट आएका मजदुरहरूमा पनि संक्रमण देखिएको छ । अहिलेसम्म वीरेन्द्रनगरमा कोरोना संक्रमितको संख्या १ सय ९३ पुगेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भुपेन्द्र गिरीले बताए । उनका अनुसार अहिले ७३ जनाको अस्पताल र होम आइसोलेसनमा उपचार भइरहेको छ ।

नगरपालिकाका सेवा बन्द

कोरोना संक्रमणको जोखिम बढेपछि वीरेन्द्रनगर नगरपालिकाले ८ दिनसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको छ । संक्रमितको संख्या बढेको भन्दै नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले बुधबार सेवा प्रवाह रोक्ने निर्णय गरेको हो । नगरपालिकासँगै मातहतका सबै वडा कार्यालय शुक्रबारदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । विज्ञप्तिअनुसार साउन ३० देखि भदौ ५ गतेसम्म कार्यालयका सेवा बन्द रहने छन् ।

प्रदेशको तयारी

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेश सरकारले दोस्रो चरणको प्रतिकार्य सुरु गरेको छ । प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी) ले भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य गर्नेदेखि ३ जिल्लामा सघन उपचार कक्ष (आईसीयू) थप गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रवेशका लागि कम्तीमा ३ दिनअघिको पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने व्यवस्था गरिएको निमित्त प्रदेश प्रमुख सचिव आनन्द सारुले बताए । उनका अनुसार रातिको समयमा भने प्रवेश निषेध गरिनेछ । प्रदेश भित्रिने मुख्य नाका सल्यानको कालिमाटी, काल्चे, कपूरकोट, सुर्खेतको बबई र कुइनेमा पीसीआर रिपोर्ट उनले जानकारी दिए ।

पास बनाएर आएका व्यक्तिहरूले समेत पछिल्लो ३ दिनयताको पीसीआर रिपोर्ट पेस गर्नुपर्नेछ । देशभित्र र भारतबाट आएका नेपालीलाई नाकामै छुट्टाछुट्टै क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने बैठकले निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । संक्रमणको नियन्त्रण गर्न वीरेन्द्रनगरलगायत मुख्य बजार क्षेत्रका होटल तथा रेस्टुरेन्ट भदौ १ गतेदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।

निमित्त प्रमुख सचिव सारुका अनुसार कतिपय होटल तथा रेस्टुरेन्ट स्थानीय प्रशासनको स्वीकृतिमा आवश्यक सुरक्षा मापदण्ड पूरा गरी आइसोलेसन तथा क्वारेन्टाइनको रुपमा पनि प्रयोग गर्न सकिनेछ । उनका अनुसार दैलेख, कालीकोट र सल्यान जिल्ला अस्पतालमा १५ वटा आईसीयू बेड थप्ने निर्णय पनि भएको छ ।

३ जिल्ला अस्पतालमा तत्काल ५/५ वटा आईसीयू र १/१ वटा भेन्टिलेटर थप्ने तयारी थालिएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । उनका अनुसार २ साताभित्र आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सुर्खेत र जुम्लामा पनि आईसीयू र भेन्टिलेटर थप्नेबारे छलफल भइरहेको उनले बताए ।

प्रदेश सरकारले अब ‘१ पालिका, १ क्वारेन्टाइन र आइसोलेसन’ बनाउन पनि सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिएको छ । भारतबाट आउने नागरिकलाई अनिवार्यरुपमा सीमा नाकाकै क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?