कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीकोटमा ३ सय ५८ घर भत्किए, ५ सय ९५ परिवार विस्थापित

तुलाराम पाण्डे

कालीकोट — यसपालिको बाढीपहिरोका कारण कालीकोटमा ३ सय ५८ घर भत्किएका छन् । पहिरोले १८ को मृत्यु भएको छ भने ७ अझै बेपत्ता छन् । सबैभन्दा बढी क्षति नरहरिनाथ गाउँपालिकामा पुगेको छ, त्यहाँ १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । ५३ घर भत्किएको र ४ सय ९४ परिवारका १ हजार ९ सय १९ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कालीकोटमा ३ सय ५८ घर भत्किए, ५ सय ९५ परिवार विस्थापित

सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंका अनुसार रास्कोटमा २ को मृत्यु र ५ जना बेपत्ता भएका छन् । ३० घर भत्किएकोमा १६ घरका ८९ जना विस्थापित भएको उनले बताए । पचालझरना गाउँपालिकाको खार्दुगाउँमा १ सय २२ घर पहिरोको उच्च जोखिममा छन् । सदरमुकाम रहेको खाडाचक्रमा बाढीले एक जना र सान्नीत्रिवेणीमा २ जनाको मृत्यु भएको छ । २ जना बालबालिकाले ज्यान गुमाएको महाबैमा ५ घर भत्किएको र १२ जना विस्थापित भएको स्थानीय प्रशासनको तथ्यांक छ ।

त्यस्तै, पहिरोले मानवीय क्षति नभएको शुभकालिकामा ९ परिवारका १२ जना विस्थापित भएका छन् । एक जनाले ज्यान गुमाएको पलातामा ८ घर भत्किएका छन् । ‘गाउँका सबै घरधुरी जोखिममा छन्,’ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले भने, ‘घर–खेतपाखो जताततै चिरैचिरा परेको छ ।’ प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बाढीपहिरोले जिल्लाभर झन्डै १५ करोड रुपैयाँको क्षति पुर्‍याएको बताए ।


पहिरोको जोखिममा रहेका नरहरिनाथ–४ अदेलाका घर । तस्बिर : तुलाराम/कान्तिपुर


प्रकाशित : श्रावण २१, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?