गाउँगाउँमा झाँक्री नाचको रौनक- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँगाउँमा झाँक्री नाचको रौनक

राजबहादुर शाही

मुगु — यहाँका गाउँबस्तीमा झाँक्री नाचको रौनक सुरु भएको छ । जिल्लाका कार्कीबाडा, ढुम, तलितुम, पिना, टोप्लाझयारी, मुर्मालगायत गाउँमा जनै पूर्णिमादेखि एक सातासम्म झाँक्रीमेला लाग्‍ने गरेको छ ।

छायानाथरारा नगरपालिका–१२ थार्पमा पनि झाक्रीमेला सुरु भएको छ । आइतबार झाँक्रीसहित आएका तीर्थालुले सोमबार दिनभर मालिका तीर्थस्थलमा पूजापाठ गरे । थार्पको झाँक्रीनाच हेर्न र मष्टा देउतासँग ग्रहदशा हेराउन जुम्ला, हुम्ला र मुगुका बासिन्दाको घुँइचो लाग्छ ।

झाँक्री नाचले गाउँमा चहलपहल बढाएको थार्पका पुरिलाल सावतले बताए । उनका अनुसार मालिका लेकमा ३ दिनसम्म जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गरेको छ ।


झयारीगाउँमा पनि महादेव र गुरा देवताका झाँक्री दिनभर नाचेका छन् । केही गाउँमा जनपूर्णिमाको दिन सुरु भएको झाँक्रीमेला कार्तिक पूर्णिमासम्म चल्ने गुरा देवताका झाँक्री भक्तबहादुर शाहीले बताए । एकदशीको दिन सदरमुकामबाट छायानाथ र ऋणीमोक्ष धाममा गएका झाँक्री र भक्तालु पनि सोमबार फर्किएको छायानाथ मन्दिरका पुजारी लक्ष्मीप्रसाद चौलागाईले बताए ।

प्रकाशित : श्रावण १९, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्

भिक्षु संघनायकमा बोधिसेन

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल भिक्षु महासंघले सोमबार संघनायकका रूपमा भिक्षु बोधिसेनलाई पदस्थापन गरेको छ ।

महासंघको स्वयम्भूस्थित आनन्दकुटी विहारको सीमा गृहमा भएको भेलाले बौद्ध थेरवाद विधिपूर्वक सर्वसम्मतिले निर्णय गरेको हो । उनी नेपाली थेरवादी बौद्ध धर्मको इतिहासमा आठौं संघनायक हुन् ।

सातौं संघनायक ज्ञानपूर्णिक महास्थविरको निधनपछि यो पद खाली रहेको थियो । यसअघिका अन्य संघनायकमा भिक्षुहरू प्रज्ञानन्द, शाक्यानन्द, अनिरुद्ध, सुबोधानन्द, बुद्धघोष र अश्वघोष रहेका थिए । यस्तै, त्यस भेलाले भिक्षु गुणघोषलाई संघको संघउपनायक पनि चयन गरेको छ । नेपालमा थेरवाद बौद्ध धर्मको सुरुआतपछि बोधिसेनलाई दोस्रो पुस्ताका भिक्षु मानिन्छ ।

उनी तीन दशकयता बनेपा काभ्रेमा रहेर थेरवाद बौद्ध धर्मको विकासमा संलग्‍न छन् । उनको गृहस्थीको नाम बुद्धरत्न बज्राचार्य हो । ललितपुरको गाबहालमा २००७ सालमा उनको जन्म भएको हो । उनको २०२३ सालमा प्रवज्जित भएको थियो । नेपाल भाषाका लेखक समेत रहेको बोधिसेनले अनुवाद गरेका मुख्य ग्रन्थमा अंगुत्तरनिकाय, थेरगाथा, थेरीगाथा र पेतवत्थु प्रमुख रहेका छन् ।

प्रकाशित : श्रावण १९, २०७७ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×