कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोले कालीकोटमा खानेपानी, सिँचाइ र सडक अवरुद्ध 

तुलाराम पाण्डे

कालीकोट — साता दिनदेखिको अविरल वर्षाले कालीकोटका रास्कोट, नरहरिनाथ र सान्नी त्रिवेणीमा खानेपानी, सिँचाई र सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । बाढी पहिरोले कालीकोटमा २२ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । जिल्लाभर १ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् । ५ सय घरहरुमा आशिंक क्षति पुगेको छ । 

बाढीपहिरोले कालीकोटमा खानेपानी, सिँचाइ र सडक अवरुद्ध 

पहिरोले रास्कोट नगरपालिकाका २९ वटा खानेपानी स्किम बाढी पहिरोले बगाएको छ भने १४ वटा सिँचाई कूलो भत्काएको नगर प्रमुख काशीचन्द्र बरालले बताए । उनले खानेपानी अभावमा गाउँमा हाहाकार भएको बताए । 'क्षरास्कोट त टापुजस्तो भयो । नगर प्रमुख बरालले भने, 'हिँड्ने सडक छैन, पिउने पानी छैन, विद्युत् नहुँदा मिल चल्दैन, खोलाका घट्ट सबै बगिसके ।' नगर प्रमुख बरालकाअनुसार रास्कोटमा मात्र ३ सय ६० परिवार विस्थापित भएका छन् । पहिरोले रास्कोट नगरपालिकामा खानेपानी र सिँचाईको सेतुका रुपमा प्रयोग भएका फुगाड, लडे खोला, बगाने खोला, घट्टे खोला, बुढीसैन, तुसारे खोलामा आएको बाढीले सबै संरचना क्षतिविक्षत पारेको छ ।

बडोलतोला, बलेढुंगा, घट्टेगडा, लहरेला, चोक्टेबगर, तामाकोट, पुछुडेबाडा, सेराचौर, औल, बड्डाला, गैरा, पुच्छेगाउ, ओखलढुंगा, डाडागाउँ, बाइती, सिम र बाखरकोट, फडेराडा, राताखाल, कुमालवाडा बस्तीका बासिन्दालाई जोखिमबाट बचाउन विद्यालय र चउरमा राखिएको नगरले जनाएको छ । पहिरोमा हराएकालाई ५ दिनसम्म प्रहरीले खोजे पनि भेटाउन सकेको छैन ।

बाढीपहिरोले कर्णाली करिडोरको फुगाडमा हालिएको बेलिब्रिज क्षतिग्रस्त छ । गाउँ पुग्ने सडक पनि सबै अवरुद्ध छन् ।

नरहरिनाथमा ४ सय ९४ घरधुरी विस्थापित

बाढी पहिरोले नरहरिनाथ गाउँपालिकामा ४ सय ९४ घर परिवार विस्थापित भएको पालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनकाअनुसार ८ सय ८५ घर पहिराको जोखिममा छन् । गाउँपालिकामा २१ घर पहिरोले भत्किएका छन् ।

स्थानीय तह र प्रहरीको तथ्यांक बाझियो

बाढी पहिरोले क्षति भएका भौतिक संरचना र नागरिकको चलअचल सम्पत्तिको स्थानीय तहले बढाइचढाई गरेर क्षतिको विवरण दिने र प्रशासनले बुझ्दै छ भन्दै क्षतिलाई न्यूनीकरण गर्ने गरेको पाइएको छ । आइतबार बिहानसम्म प्रहरीले जिल्लाभर ६१ घर भत्किएको मुचुल्का तयार पारेको भने अन्य क्षति पनि स्थानीय तहले दिएको विवरणभन्दा कम छ । प्रहरीकाअनुसार रास्कोट १ बडोलतलामा ९ परिवारका ५८ जना, लहरेला सागाटियामा २५ घर परिवारमात्र विस्थापित भएका छन् । धेरैजसो घाम लागेपछि आफ्नो घर फर्किसके ।

त्यस्तै, नरहरिनाथमा पनि प्रहरीकोभन्दा पालिकाले क्षति धेरै देखाएको छ । प्रहरीले सबैभन्दा बढी नरहरिनाथ ४ माझगोठीमा २५ घरपरिवारका १ सय १३७ जना विस्थापित भएको जनाएको छ भने गाउँपालिकाले २ सय ३२ घरधुरी विस्थापित देखाएको छ । सान्नी त्रिवेणीमा प्रहरीले १० घरमा ५० जना विस्थापित भएको जानकारी दिएको छ भने पालिका उपाध्यक्ष होइजा बुढाले ५० घरका १ सयभन्दा बढी विस्थापित भएको सुनाइन् ।

बाढी पहिरोको विस्तृत रुपले तथ्यांक संकलन प्रहरीमार्फत भइरहेकोले आउने बुधबारको जिल्ला विपद् ब्यवस्थापन समिति बैठकमा सबै विवरण आउने प्रजिअ चन्द्रप्रसाद गैरेले बताए ।

अझै राहत पाएनन्

पहिरोको अनुगमन गर्न हेलिकप्टर चढेर मुख्यमन्त्री लगायतको टोली गाउँ पुगे पनि पीडित परिवारले अझै राहत पाउन सकेका छैनन् । नरहरिनाथ, रास्कोट, सान्नीत्रिवेणी र पचालझरनाका पहिरो पीडितको बिचल्ली छ । स्थानीय सरकार र प्रहरी प्रशासनले क्षतिको सबै विवरण दिन सकेको छैन । क्षतिको विवरण नहुँदा सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले पनि पीडितलाई सहयोग सकेका छैनन् ।

प्रकाशित : श्रावण १८, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?