कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा फरार अभियुक्त धमाधम पक्राउ

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश प्रहरीले फरार सूचीमा रहेका अभियुक्तको खोजीलाई तीव्र बनाएको छ । अभियानै सञ्चालन गरी वैशाखयता ६ जिल्लाका ९७ जना फरार अभियुक्त पक्राउ परिसकेका छन् । सबैभन्दा धेरै सल्यान प्रहरीले ६ वर्ष २ महिना ३ दिन कैद सजाय भोग्नुपर्ने ८४ जना फरार अभियुक्तलाई साढे ३ महिनाको अवधिमा पक्राउ गरेको हो । 

कर्णालीमा फरार अभियुक्त धमाधम पक्राउ

लकडाउनको अवधिलाई सदुपयोग गर्दै फरार अभियुक्त खोजी गर्न सबै जिल्लामा विशेष प्रहरी टोली खटाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

प्रदेश प्रहरीका अनुसार कर्णालीमा अदालतले कैद तथा जरिवाना सुनाएका १ हजार ९ सय ६९ जना अभियुक्त अझै फरार छन् । ‘प्रदेश प्रहरीकै अनुगमनमा खोजी कार्यलाई तीव्रता दिएका छौं,’ एसएसपी बास्तोलाले भने, ‘यो हाम्रो नियमित काम हो, अहिले अभियान नै सञ्चालन गरी पक्राउ गर्न थालिएको छ ।’

सुर्खेत प्रहरीले २० वर्ष २ महिना १५ दिन कैद असुल गर्नुपर्ने ५ जना फरार अभियुक्त पक्राउ गरेको डीएसपी रामप्रसाद घर्तीले बताए । उनका अनुसार लागूऔषध कारोबारमा संलग्न २ सहित जबरजस्ती करणी, ज्यान मार्ने उद्योग र अंशबण्डा मुद्दाका १/१ जनालाई पक्राउ गरिएको हो । दैलेख प्रहरीले पनि २० वर्ष ३ महिना १५ दिन कैद सजाय सुनाइएका ३ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

डोल्पा प्रहरीले १६ वर्ष १० महिना कैद सजाय सुनाइएका २ जनालाई पक्राउ गरेको छ भने जुम्लामा १० हजार जरिवाना असुल गर्नुपर्ने २ जना पक्राउ परेका छन् । एसएसपी बास्तोलाले सुर्खेतमा १ हजार १ सय ५४, सल्यानमा २ सय ९७, रुकुम पश्चिममा १ सय ४९, दैलेखका १ सय १ र कालिकोटका ९० जना अभियुक्त फरार रहेको बताए । उनका अनुसार जाजरकोटका ८३, डोल्पामा ३०, मुगुका २९, जुम्लामा २३ जना र हुम्लाका १३ जना फरार छन् ।

५ वर्षदेखि फरार रहेकाहरु पनि यो अवधिमा पक्राउ परेका छन् । ‘फरार अभियुक्त पक्राउलाई तीव्र बनाइएपछि अपराधीमा डर पैदा भएको छ,’ एसएसपी बास्तोलाले भने, ‘जति वर्ष अगाडिदेखि अभियुक्तहरु भागे पनि पक्राउ परिहाल्छन्, उनीहरुलाई जहाँ गए पनि उन्मुक्ति मिल्दैन ।’

प्रकाशित : श्रावण १८, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?