मुगुमा २० लाखसहित ठेकेदार बेपत्ता- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुमा २० लाखसहित ठेकेदार बेपत्ता

राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिका–२ मुगु  गाउँका २८ वर्षीय ठेकेदार टासी तामाङ २० लाख रुपैयाँसहित ४ दिनदेखि बेपत्ता भएका छन् । तामाङले गत मंगलबार पुलुस्थित राष्ट्रिय वाणिज्य बैंकबाट कोइकी पर्यटकीय पदमार्गको भुक्तानी लिएका थिए ।  बैंकबाट रकम लिएर गाउँ फर्कने क्रममा उनी बेपत्ता भएका हुन् । 

बेपत्ताको खोजीका लागि पुलु प्रहरी चौकीको टोली परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले बताए । उनका अनुसार साउन १३ गते राति उनी चितैकुनाको एक होटेलमा बास बसेका थिए । त्यही रात स्थानीयसँग उनको झगडा परेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोइकी पर्यटकीय पदमार्ग निर्माणको जिम्मा उनका दाजु उर्गिन तामाङले लिएका लिएका छन् । मजदुरलाई वितरण गर्न तामाङले बैंकबाट रकम भुक्तानी लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सदरमुकाम गमगढीबाट मुगुमकार्मारोङ गाउँपालिकाको केन्द्र पुलु पुग्न झन्डै एक दिनको पैदल दूरी छ । अविरल वर्षा जारी रहेकाले बेपत्ताको खोजीमा समस्या भइरहेको डीएसपी शाहले बताए ।

प्रकाशित : श्रावण १६, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्

जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या ५ पुग्यो

चाँदनी कठायत

वीरेन्द्रनगर — गत शुक्रबार जंगली च्याउ खाएर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिकाका थप १ जनाको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा गत सोमबारदेखि उपचाररत २२ वर्षीय ललित चलाउनेको बिहीबार राति मृत्यु भएको हो । 


योसँगै च्याउ खाएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । विषालु च्याउ खाँदा गत शनिबार एकै घरका ८ जना बिरामी परेका थिए । बिरामी भएकामध्ये २ वर्षीया अन्जनाको साउन ११ गते गाउँमै मृत्यु भयो । अन्य ७ जना बिरामीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल उपचारका लागि ल्याइएको थियो ।

उपचार गराइरहेकामध्ये घरमुली टेकबहादुर चलाउनेकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातीनी निरुता सिंहको मंगलबार राति मृत्यु भएको थियो ।

अहिले टेकबहादुरसहित उनकी ३३ वर्षीया बुहारी कल्पना र १५ वर्षीया भतिजी पशुपति उपचाररत छन् । टेकबहादुरलाई अहिले सघन उपचार कक्ष (आईसीयु) मा राखिएको अस्पतालका मेडिकल विभाग प्रमुख डा. केएन पौडलले बताए । ‘उहाँको अवस्था सुधारोन्मुख छ,’ उनले भने, ‘तर पनि आईसीयुमा रहुन्जेल केही भन्न सक्ने अवस्था छैन ।’

अरु २ जनाको अवस्था सामान्य भए पनि पेट दुख्ने, होस हराउने र सास फेर्न मुस्किल हुनेजस्ता लक्षण देखिएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण १६, २०७७ १४:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×