कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारेकोटका पहिरोपीडित भन्छन्- ‘रात पर्नासाथ मन अत्तालिन्छ’

चाँदनी कठायत

वीरेन्द्रनगर — असार २६ गते राति पहिरोले जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँका २ घर पुरिए । पहिरोले दुवै घरका १२ जनालाई पनि निन्द्रैमा बगायो ।

बारेकोटका पहिरोपीडित भन्छन्- ‘रात पर्नासाथ मन अत्तालिन्छ’

छिमेकीको परिवार पहिरोले बगाएपछि संयोगले बाँचेका लाले सार्कीसहित बारेकोटबासीको रातको निन्द्रा त्यही दिनदेखि खोसिएको छ ।

घर पनि पहिरोको धरापमा परेपछि उनीहरु जाग्राम बस्न थालेका छन् । ‘दुवैतिरबाट पहिरो गएपछि मेरो घरबीचमा पर्‍यो,’ उनले टेलिफोनमा भने, ‘परिवारलाई घरबाट बाहिर निकालेर झण्डै २ घण्टा खोलाको बीचमा उभिएँ, बिहानपख खोला तरेर परिवार बचाएँ ।’ घर पहिरोको जोखिममा परेपछि उनीसहित बारकोट–४, ५ र ६ नम्बर वडाका बासिन्दा विद्यालय र खुला चौरमा त्रिपाल टाँगेर बस्न बाध्य छन् । उनीहरु बिहान खोला तरेर दिनभर घरमा जान्छन् भने रात परेपछि विद्यालयमा फर्कन्छन् । पहिरो प्रभावित ठाउँमा पुगेर वीरेन्द्रनर आएका प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहका अनुसार ६ गते बिहानसम्म १ हजार २ सय २ परिवार विस्थापित भएका छन् ।

सार्कीगाउँकै कमल सार्कीको आधा घर पहिरोले पुरेको छ । बचेको आधा घर आफ्नै लागि धराप बनेको उनी बताउँछन् । ‘कतिबेला सबै भत्किने हो थाहा छैन,’ उनले भने, ‘त्यस्तो घरमा काल खोज्न जानुभन्दा यही बसेर कष्ट काटिरहेका छौं ।’ बालबालिकाहरु डराएर घर जान पनि मान्दैनन् । खोला तरेर घर र स्कुल गर्नुपर्ने बाध्यता रहेको तीलक रावतले बताए । जोखिमपूर्ण खोला तर्न बालबालिका डराउने गरेका र यसले उनीहरुको मष्तिस्कमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

घरमाथिबाट आएको पहिरोले सार्कीगाउँका गोपाल सार्की र तुलबहादुर सार्कीको घरका १२ जनालाई बगाएको थियो । गोपालकी पत्नी पुष्पाको शव अहिलेसम्म भेटिएको छैन । २५ गते दिदीको घरमा पाहुना गएका कुशे गाउँपालिका–९ चौराटाका १४ वर्षीया गौरी, १६ वर्षीया कविता, २० वर्षीया डिल्ली तथा १८ वर्षीय वीरेन्द्र सार्कीले दिदी कलु सार्कीसँगै निन्द्रैमा ज्यान गुमाए । पहिरोले तुलबहादुरका छोरीहरु तिर्खा र कमलासँगै ६ वर्षीय छोरा सुवासलाई पनि बगायो । गोपाल सार्कीसहित उनकी १३ वर्षीया छोरी लक्ष्मी, छोरा अर्जुन र पत्नी पुष्पालाई पनि बगाएको थियो । पहिरोले बगाएर बेपत्ता भएकामध्ये ११ जनाको शव फरकफरक समयमा फेला परेको प्रहरीले जनाएको छ ।

बारेकोटको वडा नम्बर ५ र ६ मा पनि सोही दिन पहिरो गयो । प्रदेशसभा सदस्य सिंहका अनुसार ५ नम्बर वडामा कुनै पनि मानवीय क्षति भएको छैन । उनका अनुसार २५ गते बिहान करिब ८ बजे ६ नम्बर वडास्थित धुमामा गएको पहिरोले २० वर्षीय शिवदेव चलाउने र १२ वर्षीय प्रचण्ड चलाउनेलाई पनि बगाएको थियो । शिवदेवको शव अहिलेसम्म भेटिएको छैन । पहिरोमा परी ४ जना घाइते भएका थिए । घाईतेमध्ये ३ जना सामान्य उपचारपछि घर फर्किए पनि रामचन्द्र चलाउनेको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पहिरोले कटान गरेको जाजरकोटबारको गाउँ । तस्बिर सौजन्य : कृष्ण सिंह

राहत र सुरक्षित बासको माग

बारेकोट–४ स्थित भगवती प्राथमिक विद्यालय र अन्य खुला चौरमा बसेका विस्थापितले आफूहरुलाई सुरक्षित बसोबासको व्यवस्था गरिदिन माग गरेका छन् । उनीहरुले खेतबारी सबै बगाएपछि उब्जनी गरेर खाने ठाउँ नभएको भन्दै भोकमरीको अवस्था आउन नदिन तत्काल राहतको व्यवस्था गर्न अनुरोध गरेका छन् ।

बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले विभिन्न क्षेत्रबाट राहत संकलन भइरहेको बताए । ‘विस्थापितलाई अहिले सुरक्षित स्थानमा राखिएको छ,’ उनले भने, ‘हामीले प्रदेश र केन्द्र सरकारसँग बस्ती स्थानान्तरणका लागि माग गरेका छौँ ।’ प्रदेश सरकारले गरेको सामूहिक विपद् जोखिम बिमाअन्तर्गत पहिरोमा मृत्यु भएका मृतकका परिवारले २ लाख रुपैयाँ पाउने उनले जानकारी दिए ।

प्रदेशसभा सदस्य सिंहले तत्कालका लागि खाद्यान्न, त्रिपाल र कम्बललगायतको व्यवस्था विभिन्न क्षेत्रबाट भइरहेको बताए । उनका अनुसार विश्व खाद्य संगठनले खाद्यान्न सहयोग गर्ने बचन दिएको छ । दीर्घकालीन बस्ती विकासका लागि पनि प्रदेश र संघ सरकारले मिलेर उचित कदम चाल्नुपर्ने उनको भनाइ छ ।

गाउँपालिकाका अनुसार बारेकोटको जिरी, मैना, भैलोखाना, तोलखान, करुका, कार्कीजिउला, घर्तीगाउँ, सुवाकोटलगायत डेढ दर्जन बस्ती पहिरोको उच्च जोखिममा छन् । पहिरोका कारण ५५ घर पूर्णरुपमा क्षति भएको अध्यक्ष शाहले बताए । गाउँपालिकाका अनुसार ४ सय ७७ घर नभत्किए पनि बस्नै नमिल्ने भएका छन् भने १ सय ९७ घर उच्च जोखिममा छन् । ४ सय २८ घर सामान्य जोखिममा रहेको गाउँपालिकाको तथ्यांक छ । पशुबस्तुतर्फ १ करोड ७९ लाख ३ हजार र अन्य कृषि उत्पादन, घर, गोठ, शौचालय, खानेपानीलगायतमा ६४ करोड रुपैयाँको क्षति भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : श्रावण १२, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?