कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यापारीमा कोरोना संक्रमण भएपछि खलंगामा निषेधाज्ञा

जुम्ला — चन्दननाथ नगरपालिका–५ खलंगाका एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणका क्रममा ती व्यापारीसहित चिकित्सक र स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । समुदायमा संक्रमण फैलन नदिन भन्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

मंगलबार दिउँसो ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनका अनुसार संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ थालिएको छ । चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ । औषधि पसल र स्वास्थ्य सेवाबाहेकका सबै क्षेत्र पूर्णरूपमा बन्द गर्न भनिएको छ । जुम्लामा हालसम्म संक्रमण पुष्टि भएका ६५ जनामध्ये ५१ जना निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा १४ जनाको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।


प्रकाशित : असार ३१, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?