कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा १९ जनाको आवेदन

आवेदकमध्येबाट उपकुलपतिले सिफारिस गर्ने एक जनालाई कुलपति (प्रधानमन्त्री) ले नियुक्त गरेपछि डेढ वर्षदेखि निमित्त रजिस्ट्रारको भरमा चलिरहेको एमयूले ‘कन्फर्म’ रजिस्ट्रार पाउनेछ ।
कलेन्द्र सेजुवाल

सुर्खेत — मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिस्ट्रार बन्न १९ जनाले आवेदन दिएका छन् । उपकुलपतिले आवेदकमध्येबाट एक जनाको नाम विश्वविद्यालयका कुलपति (प्रधानमन्त्री) लाई नियुक्तिका लागि सिफारिस गर्नेछन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा १९ जनाको आवेदन

उपकुलपतिको स्वकीय सचिवालयका अनुसार आवेदकमा एमयूका प्राध्यापकहरू केशरसिंह राना, दीपबहादुर रावल, नारायण पौडेल, इन्जिनियरिङ संकायका डिन अनन्तराज घिमिरे, त्रिभुवन विश्वविद्यालयका बुद्धिप्रसाद सापकोटा, राष्ट्रिय परीक्षा बोर्डका कर्णाली प्रदेश कार्यालय प्रमुख जितबहादुर शाहलगायतले आवेदन दिएका छन् । कर्णाली प्रदेशका र अन्य विश्वविद्यालयका प्राध्यापकहरूले पनि आवेदन दिएको सचिवालयले जनाएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन–२०६७ को दफा २५ मा रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपतिबाट हुने प्रावधान छ । सिधै नाम सिफारिस गर्न मिल्ने भए पनि उपकुलपति नन्दबहादुर सिंहले असार २२ गते सातदिने सूचनामार्फत आवेदन मागेका थिए । अन्तर्राष्ट्रिय मापदण्डको छनोट समिति गठन गरी सोही समितिले दिएका नाममध्येबाट एक जनालाई नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गर्ने उनको भनाइ छ । उनका अनुसार समितिले आवेदकको भिजन पेपर, विषयगत विज्ञता र कार्यानुभवका आधारमा ३ जनाको नाम सिफारिस गर्नेछ । ‘हामीले अबको एक हप्ताभित्र नयाँ रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गर्नेछौं,’ उनले भने, ‘यसमा राजनीतिक वा अन्य कुनै पनि किसिमको दबाबले प्रभाव पार्नेछैन ।’ अर्थशास्त्र बुझेको र प्रशासन राम्ररी चलाउन सक्ने मान्छेलाई सिफारिस गर्ने उनले बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार महेन्द्रकुमार मल्लको चारवर्षे कार्यकाल आइतबार सकिएको छ । यद्यपि आन्तरिक विवादका कारण उनलाई कामकाजमा रोक लगाइएपछि २०७५ मंसिर १९ देखि यामबहादुर कार्की निमित्त रजिस्ट्रारका रूपमा कार्यरत छन् । यो प्रक्रिया पूरा भएपछि एमयूले डेढ वर्षपछि ‘कन्फर्म’ रजिस्ट्रार पाउनेछ ।

प्रकाशित : असार ३०, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?