१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

रित्तिँदै कर्णालीका आइसोलेसन

१ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएकामा अहिले २ सय ९९ जना मात्र आइसोलेनमा छन्
कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णालीमा कोरोना संक्रमितहरू निको भएर घर जाने क्रम बढेको छ । आइसोलेसनमा बसेका उनीहरूलाई लक्षणमुक्त भएका आधारमा पीसीआर परीक्षण नगरेरै पठाउन थालिएपछि आइसोलेसन रित्तिन थालेका छन् ।

रित्तिँदै कर्णालीका आइसोलेसन

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म १ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा १ हजार १ सय ७८ जनालाई डिस्चार्ज गरिएको छ । अहिले २ सय ९९ जना मात्र विभिन्न जिल्लाका आइसोलेसनमा बसिरहेका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

जेठ ५ गते पहिलोपटक संक्रमण देखिएको कर्णालीमा जेठ २३ गते ७ जनालाई डिस्चार्ज गरिएको थियो । सुरुवातको केही समयसम्म पुनः स्वाब परीक्षण गरेर डिस्चार्ज गर्ने गरिए पनि अहिले आइसोलेसनमा बसेको समय र उनीहरूमा देखिएको लक्षणका आधारमा डिस्चार्ज गर्ने गरिएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । ‘सरकारले भर्ना भएको लामो समयसम्म लक्षण देखिएन भने डिस्चार्ज गर्न मिल्ने निर्देशन दिएको छ,’ उनले भने, ‘हामीले त्यही निर्देशनका आधारमा डिस्चार्ज गर्ने गरेका छौं ।’ संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २१ गते देशभरका कोरोना अस्पताललाई ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ पठाई परीक्षणबिनै डिस्चार्ज गर्न सकिने बाटो खोलेको थियो ।

प्रदेश सरकारका अनुसार कर्णालीमा कोरोना संक्रमितका लागि कुल आइसोलेसन बेड संख्या १ हजार ६ सय १९ रहेको छ । परीक्षणबिनै घर पठाउने गरिएपछि आइसोलेसन बेडहरू खाली भएका छन् । २ सय बेड क्षमताको सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा अहिले ३६ जना संक्रमित छन् । तीमध्ये २ जना आईसीयू (सघन उपचार कक्ष) मा छन् भने अन्यको अवस्था सामान्य छ । डा. खड्काका अनुसार कर्णालीका अधिकांश कोरोना संक्रमितमा लक्षण देखिएको छैन । संक्रमितमध्ये ६ जनाको मृत्यु भए पनि कोरोनाकै कारण उनीहरूको मृत्यु भने भएको होइन ।

कर्णालीमा शुक्रबारसम्म २९ हजार ८ सय २६ पीसीआर परीक्षण भएको छ । सुर्खेतमा रहेको पीसीआर मेसिन बिग्रिएको छ भने अहिले जुम्ला, दैलेख र रुकुम पश्चिमको चौरजहारीबाट परीक्षण भइरहेको छ । सुर्खेतको प्रयोगशालामा संकलन भएका स्वाबको प्रोसेसिङ गरी नेपालगन्जस्थित प्रयोगशालामा पठाउने गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले बताइन् ।

संक्रमितहरू परीक्षणबिनै डिस्चार्ज भएपछि गाउँमा भने जोखिम बढेको छ । प्रदेश अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका एक संक्रमितले पीसीआर परीक्षण नहुँदा ढुक्क रहने अवस्था नभएको बताए । ‘गाउँका मान्छेले पनि शंका गर्दै दुर्व्यवहार गर्छन्,’ उनले भने, ‘मैले त सकभर सावधानी अपनाउने प्रयास गरेको छु, सँगै आएका अन्य केही व्यक्ति भने मज्जाले गाउँमा डुलिरहेका छन् ।’

क्वारेन्टाइन पनि रित्तिँदै

पछिल्लो समय भारतबाट आउने व्यक्तिको संख्या घट्दै गएपछि शैक्षिक संस्थामा बनाइएका क्वारेन्टाइन पनि खाली हुँदै गएका छन् । मुख्यमन्त्री कार्यालयले पछिल्लोपटक असार १२ गते गरेको अपडेटअनुसार ४३ हजार २ सय ५५ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएकामा त्यहाँ ६ हजार ७ सय ६६ जना मात्र बसिरहेका छन् । ६२ हजार ४ सय ५३ जना क्वारेन्टाइनमा बसेर फर्किएका कार्यालयका उपसचिव हेमबहादुर रानाले बताए । उनका अनुसार लकडाउन सुरु भएयता कर्णालीमा भारतबाट ४८ हजार ११ जना र अन्य मुलुकबाट २ सय ७५ जना आएका थिए ।

सुर्खेतमा सावधानी

संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेत जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि लागू हुने गरी लकडाउनमा कडाइ गरेको छ । कार्यालयले फलफूल, तरकारी, दूध, ग्यास, औषधि पसलजस्ता अत्यावश्यक सेवाबाहेकका पसल बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मात्र खुला गर्न निर्देशन गरेको छ । यी पसललाई साताको शनिबार बन्द गर्नसमेत निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए । होटल, रेस्टुरेन्ट, खाजा नास्ता पसल, सैलुन र ब्युटीपार्लरलाई पूर्णरूपमा बन्द गरिएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले समेत सुर्खेतसहित संक्रमण बढी देखिएका जिल्लामा लकडाउन कडा पार्ने निर्णय गरेको थियो । कर्णालीका तीन जिल्ला दैलेख, सुर्खेत र सल्यानमा संक्रमण बढी छ । शुक्रबारसम्म दैलेखमा ७ सय ७५, सुर्खेतमा ४ सय ५७ र सल्यानमा १ सय ९२ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : असार १९, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?