सेते दमाईको सालिक बन्ने
दैलेख — छोराले अन्तरजातीय विवाह गरेको भन्दै हत्या गरिएका नौमूले गाउँपालिका–१ तोलीका सेते दमाईको ९ वर्षपछि सालिक बन्ने भएको छ । संघीय सांसद पार्वती विशुंखेको पहलमा दमाईको सालिक बन्न लागेको हो ।
२०६८ सालमा छोराले अन्तरजातीय विवाह गरेपछि विवाद हुँदा बुहारीका माइतीपक्षको खुकुरी प्रहारबाट उनको हत्या भएको थियो । उनका कान्छा छोरा सन्तबहादुरले सोही गाउँकी राजकुमारी शाहीसँग २०६८ साउन २८ गते विवाह गरेका थिए ।
जिल्लामा जातीय विभेदको समस्या कायमै रहेकाले घटना स्मरण गराउन सालिक बनाउन लागिएको विशुंखेले बताइन् । ‘जातीय विभेदमा परी ज्यान गुमाउने उनीजस्ता धेरै छन्,’ उनले भनिन्, ‘छुवाछुत अन्त्य किताबमा लेखेर मात्र हुँदैन, व्यवहारमा लागू गर्न पनि आवश्यक छ ।’ ढिलै भए पनि दमाईका परिवारले न्याय पाएको दलित मुक्ति समाजका केन्द्रीय सदस्य गोपाल नेपालीले बताए । उनका अनुसार हत्या घटनाका ९ दोषीमध्ये मुख्य योजनाकार विन्दकला शाहीसमेत ३ जनालाई २०/२० वर्षको जेल सजाय तोकिएको छ । उनीहरुले अहिले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् ।