भेरीमा बगेर गोठालो गएका ३ बालिकाको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — भेरी नदीमा बगेर ३ बालिकाको मृत्यु भएको छ । डोल्पाको ठूलीभेरी नगरपालिका–९, मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, अन्दाजी १०/११ वर्षीया गंगा कठायत र १० वर्षीया विजया कठायतको भेरी नदीमा बग्दा मृत्यु भएको डोल्पा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले भेरी नदीले बगाउँदा ३ बालिकाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार मोतीपुरस्थित भेरी नदी किनारमा गोठालो गएका उनीहरु नदीपारि गाई फर्काउन जाँदा नदीमा पसेको अनुमान छ । यशोधा र विजयालाई भेरी नदीमा बग्दै गरेको अवस्थामा उद्दार गरी जिल्ला अस्पताल पुर्‍याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो । गंगा भने बगेको स्थानबाट ५ किलोमिटर तल मृत फेला परेको डिएसपी रञ्जितकारले बताए ।

गस्तीमा रहेको प्रहरीले भेरीले मानिस बगाइरहेको देखेपछि उद्दारमा लागेको थियो । विमानस्थल सुरक्षागार्ड जुफालबाट ठूलीभेरी नगरपालिका–९, भित्तिमा खटिएको प्रहरीको टोलीले बालिका बग्दै गरेको अवस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी कालागौंडा र प्रहरी चौकी त्रिपुराकोटको टोली उद्दारमा खटिएको थियो ।

प्रकाशित : जेष्ठ २०, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसका ८ सांसदको संशोधन प्रस्ताव दर्ता (अपडेट)

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका आठ सांसदहरुले मंगलबार संविधान संशोधनको विधेयक दर्ता गराएका छन् । सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव , अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्मनारण चौधरीले संघीय संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएका हुन् ।

उनीहरुले पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन हालेको बताएका छन् । राजपा र समाजवादीले संशोधन दर्ता गराएपछि तराई/मधेसकै भूभागबाट प्रतिनिधित्व

गर्ने कांग्रेस सांसदहरुले संशोधन दर्ता गराएका हुन् । संशोधन हाल्ने मध्येका सांसद सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी दिएरै संशोधन हालिएको बताए । उनीहरुले तत्कालीन कांग्रेस नेतृत्वकै सरकारले अघि बढाएको विधेयकमा उल्लेखित बिषयभन्दा फरक समानुपातिक समावेशीको बिषय थपेका छन् । संविधानमा समावेशी प्रतिनिधित्वको व्यवस्था मात्रै रहेकोमा संशोधनमा समानुपातिक शब्द थप गरिएको छ । यसअघि कांग्रेसले प्रदेशको सीमाना हेरफोर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको बिषयमा संशोधन हालेको थियो । अहिले संशोधनमा ती सबै बिषय हूबहु राखिएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७७ १८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×