कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्लामा क्वारेन्टाइन भरिएपछि भारतबाट आएकाहरू गाउँतिर

एलपी देवकोटा

जुम्ला — जिल्लास्तरीय एकीकृत क्वारेन्टाइन भरिएपछि भारत र अन्य जिल्लाबाट आइतबार जुम्ला आइपुगेका ३५ जना गाउँ गएका छन् । स्थानीय तहले राति ११ बजेसम्म पनि क्वारेन्टाइन व्यवस्था नगर्दा उनीहरू गाउँतिर लागेका हुन् ।

चन्दननाथ नगरपालिकाका १२ र तातोपानी गाउँपालिकाका २३ जनालाई जुम्ला बसपार्कस्थित क्वारेन्टाइनमा राख्न ठाउँ अभाव भएको थियो । गुठिचौरका ५ जनालाई भने गाउँपालिकाले गाडीमा राखेर लगेको छ ।

जिल्लामा भएका चारवटै एकीकृत क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालय, लामास्थित दुर्गा मावि, कुडारीस्थित सरस्वती मावि र रारालिहीस्थित कुडारी मावि भरिभराउ भएका छन् । तिनमा ५ सय १ जना बसिरहेका छन् । थप क्वारेन्टाइन बनाउन शनिबारदेखि नै पहल गरेको स्थानीय तहले जनाएका छन् ।

यसअघि निर्माण व्यवसायी संघको भवनमा बनाउने भनिएको क्वारेन्टाइन अदातलमा स्थानीयले मुद्दा हालेका कारण अघि बढ्न सकेको छैन । अदालतले हाललाई क्वारेन्टाइन नबनाउन अन्तरिम आदेश दिएको निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । ‘क्वारेन्टाइन बनाउने जिम्मेवारी पालिकाको हो । हामीले सुरक्षा दिने हो । हामीले दिएकै छौं,’ उनले भने, ‘क्वारेन्टाइन बनाउन ठाउँठाउँ जाँदा स्थानीयले अवरोध गरेका कारण सकिएको छैन । प्रशासनले मात्रै केही गर्न सक्दैन ।’

स्थानीयले बस्तीछेउ क्वारेन्टाइन बनाउन अवरोध गर्ने गरेका छन् । अहिले प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा १ सय ७० जना बसेका छन् । आइतबार रारालिहिमा अलपत्र परेका चन्दननाथ नगरपालिका–३ का ८ जनालाई डाँडाकोट स्कुलमा क्वारेन्टाइन बनाएर राखिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।

प्रकाशित : जेष्ठ १९, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?