कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुत्केरीले पाएनन् यातायात खर्च र न्यानो झोला

गर्भ जाँच गराए ८ सय र स्वास्थ्य संस्थामा सुत्केरी भए २ हजार पाइन्छ । उनीहरूलाई न्यानो झोलासमेत दिइन्छ ।
हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–१४ कि कुस्मा केसी गत चैत ४ मा गाउँकै स्वास्थ्यचौकीमा सुत्केरी भइन् । गर्भावस्थामा उनले चारपटक जाँच पनि गराएकी थिइन् । तर, मापदण्डअनुसार उनले अहिलेसम्म पनि सरकारबाट पाउनुपर्ने सुविधा पाएकी छैनन् ।

सुत्केरीले पाएनन् यातायात खर्च र न्यानो झोला

महिलाले गर्भ जाँच गराए ८ सय र स्वास्थ्य संस्थामा सुत्केरी भएबापत २ हजार रुपैयाँ पाउँछन् । उनीहरूलाई न्यानो झोलासमेत दिइन्छ ।

आठबीसकोट–१२ की नवीना पुनले पनि नगर अस्पतालमा फागुन १ मा सुत्केरी भए पनि अझै यातायात खर्च नपाएको गुनासो गरिन् । ‘सरकारले दिने भनेकै सुविधा दिएको छैन,’ उनले भनिन्, ‘घर आउँदा पछि दिऊँला भनेका थिए, त्यो पछि कहिले आउने हो थाहा छैन ।’

पुसदेखि नै नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा सुत्केरी भएका झन्डै २ सय महिला यस्तो सरकारी सुविधाबाट वञ्चित हुन् । नगरपालिकाका स्वास्थ्य संयोजक मणिराज शाहले चालु आर्थिक वर्षको विनियोजित बजेट सकिएपछि समस्या भएको बताए । उनका अनुसार यस वर्ष सुत्केरी प्रोत्साहन भत्ताबापत ११ लाख ७० हजार रुपैयाँ छुट्याइएको थियो । उक्त बजेटले दोस्रो चौमासिकसम्म पनि पुगेन । संघीय मन्त्रालयमा माग गरिएको थप १८ लाख ८८ हजार रुपैयाँ बजेट नआउँदा वितरण गर्न नसकिएको उनको भनाइ छ । १४ वडा रहेको आठबीसकोटमा नगर अस्पतालसहित ३ स्वास्थ्यचौकी सञ्चालनमा छन् ।

नगरप्रमुख गोर्खबहादुर केसीले पहिला थोरै बजेट पठाउने र पछि पनि थप नगर्ने चलनले आमा सुरक्षा कार्यक्रम सञ्चालनमा समस्या आएको बताए । उनले भने, ‘संघीय सरकारले नपठाएपछि सुत्केरीलाई खाली हात घर पठाउनुपर्ने बाध्यता भयो ।’

प्रकाशित : जेष्ठ ११, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?