विपन्‍नका ३ सय ५० घर निर्माण अधुरै

राजबहादुर शाही

मुगु — कोरोना भाइरस संक्रमणको जोखिम र लकडाउनका कारण जनता आवास कार्यक्रम अलपत्र परेको छ । लकडाउनले ३ सय ५० विपन्न परिवारको घर निर्माण अलपत्र परेको हो ।

चालु आर्थिक वर्षभित्रै सबै घर निर्माण गर्ने गरी कार्यक्रम सुरु गरिएको थियो । तर अहिलेसम्म एउटा घर बन्न नसकेको जिल्ला पूर्बाधार कार्यालयले जनाएको छ । जसका लागि कार्यालयले प्रतिपरिवार ३ लाख रुपैयाँमा निर्माणको सम्झौता गरेको निमित्त प्रमुख मोहनसिंह कार्कीले बताए । उनका अनुसार गत पुस महिनामा पहिलो किस्ताबापत सबै परिवारलाई ८३ हजार रुपैयाँ भुक्तानी गरिसकिएको छ । उनले अहिलेसम्म ५० प्रतिशत काम पूरा हुन नसकिएको जानकारी दिए ।

कार्यक्रमअन्तर्गत पिलरसहितको एक तले तीन कोठा भएको घर निर्माण गर्ने कार्यविधिमा उल्लेख छ । लकडाउनका कारण जस्ता पाता र सिमेन्ट ढुवानीमा समस्या भएपछि घर निर्माण अधुरै बनेको सोरु गाउँपालिका–४ का प्रकाश कामीले बताए । ‘निर्माण सामग्री जुटाउनै समस्या भयो,’ उनले भने, ‘लकडाउन नभएको भए सबै नयाँ घरमा सरिसक्थ्यौं ।’

अनुदान पाएपछि घर बनाउन उत्साही भएका विपन्न परिवार अहिले निराश छन् । लकडाउनका कारण यो वर्ष नयाँ घरमा सर्ने सपना अधुरै हुने छायानाथरारा नगरपालिका–८ का अंक कामीले बताए । जनता आवास कार्यक्रम र स्थानीय तहबीच समन्वय नहुँदा पनि घर निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार कार्यक्रमको सबै बजेट आउन ढिलाइ हुँदा घर निर्माणमा समस्या भएको हो । जिल्लाभरिका सबै घर निर्माण गर्न ९ करोड बजेट चाहिने भए पनि ३ करोड रुपैयाँ मात्र निकासा भएको निमित्त प्रमुख कार्कीले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्

‘पहिलो पटक’ रोकियो भूमे पर्व

हरि गौतम

रुकुम पश्‍चिम — यतिबेला चोक, चौतारा, सार्वजनिक क्षेत्र सुनसान छन् । हरेक वर्षको यो समयमा हरेक दिन बाक्लो उपस्थिति हुने जिल्लाका अधिकांश भूगोलका यी क्षेत्र यो वर्ष सुनसान छन् । नाच्ने, गाउने त परको कुरा केही संख्यामा जम्मा हुने अवस्थासमेत छैन । बलपूजा अर्थात भूमे पर्व मनाउने समय हो यो ।

मगर बाहूल्य यस जिल्लाका मगर समुदायको मुख्य पर्व भूमे हो । झण्डै एक महिना भूमे पर्व मनाइन्छ । तर यो वर्ष भने यो पर्वको सुरुवातसम्म भएन । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)ले यो पर्व मनाउन दिएन । कोरोना भाइरसका कारण न सर्वसाधारणले भूमे पर्वको तयारी गरे न हाल यो पर्वका गतिविधि गरिरहेका छन् ।

‘यो वर्ष भूमे पर्व मनाउन सम्भव भएन,’ भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले भने, ‘यो पर्व मनाउन थालेदेखि पहिलो पटक रोकिएको हुनुर्पछ, कारोनाको त्रासका कारणले सामूहिक रुपमा मनाइने भूमे पर्व मनाउन डराउनुपर्ने अवस्था छ ।’ यो पर्वका धेरै काम सामूहिक रुपमा गर्नुपर्ने हुन्छ । फूलपाती टिप्ने, पूजा गर्ने, बलि चढाउने, नाच,गान गर्ने सबै काम एक्लै र दूरी कायम गरेर सम्भव छैन । नितान्त घरमा गर्न सकिने काम भने हुने अध्यक्ष बुढाले बताए । मिठो, मसिनो खाने, घरमा परिवारले मात्रै पूजा,पाठ गरेर भूमे मनाएपनि बाँकी सामूहिक रुपमा हुने काम बन्द गरिएको छ । भोज,भतेर तथा मेला, जात्राको साथमा भूमे पर्व पनि नमाउन भनिएको छ । ५ नम्वर प्रदेश सरकारले भूमे पर्वको अवसरमा एक दिन बिदा दिने निर्णयसमेत गरेको छ ।

भूमे पर्व परापूर्वकालदेखि मनाइँदै आएको पर्व हो । ठाउँ र बस्तीअनुसार यसलाई फरक फरक नामले चिनिन्छ । कतै बल्क, कतै नामक, कतै भूमेकै नामले यो पर्व चिनिन्छ । समग्रमा यसलाई भूमे पर्व भन्दा सबैले बुझ्छन् । दसैं, तिहार तथा अरु चाडबाडमा खासै वास्ता नदिने मगर समुदाय भूमे पर्वलाई महत्व दिएर मनाउँछन् । हरेक जेठ १ गते सुरु भएर असार ५ गते यो पर्व समापन गरिन्छ । सबै क्षेत्रमा जेठ १ गते सुरु हुने यो पर्वलाई कतै असार ३ र कतै असार ५ गते समापन गरिन्छ । केही वर्षअघि सम्म असार ३ गते नै समापन गर्ने गरिए पनि पछिल्ला वर्ष यसलाई असार ५ गते समापन गर्न थालिएको छ ।

मगर समुदायले भूमे अर्थात बलपूजालाई वर्षभरिको ठूलो पर्वको रुपमा लिन्छन् । लेक र बेसी अर्थात भूमि पुज्ने पर्व बलपूजा अर्थात भूमेनाच हो । यो एक महिनाको अवधिमा लेक (पहाड) र बेसीलाई पुज्नुका साथै दैनिक जसो नाचगान गर्ने गरिन्छ । वर्षातको समयमा लेकबाट बाढी, पहिरो नझरोस बेसीको बालीनाली खोलाले नबगाओस्, खेतबारीको कटान नहोस्, जनधनको क्षति नहोस् बालीनाली सपिय्रोस, रोगव्याधि, महामारी, आँधीहुरी नआओस् भन्ने जनविश्वासका साथ बलपूजा गरिँदै आइएको मगर समुदायको जनविश्वास छ । पुथाउत्तरगंगा गाउँपालिका–१०, का मगर बुद्धिजीवि तेजेन्द्र खाम मगरले यस पर्वको मुख्य उद्देश्य पन्थ्यौली र भूमि देउतालाई पुज्नु भएको बताए । मगर खाम भाषामा पन्थ भनेको लेक र भूमि भनेको बेसी हो । वर्षातको समयभर पन्थ र भूमिले बाढी,पहिरो र भू–क्षय, रोकोस्, धनजन, बाली नालीमा क्षति हुनबाट बचाओस भनेर बलपूजा गर्ने मान्यता रहेको उनको भनाइ छ ।

जेठ १ गते सामान्य विधि गरेर बल पूजा अर्थात भूमे नाचको शुभारम्भ गरिन्छ । त्यसपछि चौतारामा पुगेर हरेक दिन आÏनै भेषभुषामा भूमे नाचिन्छ । केटाकेटी, युवायुवती र वृद्धवृद्धा एउटै तालमा एउटै बाजामा नाच्छन् । यसरी नाच्दा देउता खुसी हुने र अनिष्ट हुनबाट जोगिने जनविश्वास रहेको छ । जेठ मसान्तको दिन लेकको देउता अर्थात पन्थ्यौलीको पूजा आजा गर्न पन्थ अर्थात लेक (पहाड) पुगिन्छ । त्यहाँ पुगेर पन्थ्यौली देउतालाई धार,धूप, ध्वजा, अछेताले पुजिन्छ ।

लेकका अर्थात पन्थ्यौली देउतालाई धार,धूप, ध्वजा र अक्षताले पुजिसकेपछि लेकमा फुलेका फूल र मुर्ला बेसी अर्थात भूमिमा ल्याइन्छ । मगर खाम भाषाबाट मुर्ला भनेको सिंङ्गो रुख हो । जरैबाट उखेलेर लेकबाट ल्याएको उक्त मुर्ला बेसीको चौतारो अर्थात भूमे नाच्ने ठाउँमा गाडिन्छ । त्यसको भोलिपल्ट अर्थात असार १ गते भूमि देउतालाई भेडा चढाउने चलन छ । बलपूजा अर्थात भूमे नाचको अन्तिम दिन सबै जम्मा भएर खानपिनको साथै भूमे नाचिन्छ । सोही दिन भूमे नाच्ने र नाच रमाउनेहरुबाट दान संकलन गरिन्छ र उक्त रकम बल पूजा अर्थात भूमे नाँचको व्यवस्थापनमा लगाइन्छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ १४:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×