कर्णालीमा विपन्‍न परिवारका लागि १ सय २९ घर बन्‍ने

हरि गौतम

रुकुम पश्चिम — चालु आर्थिक वर्षमा प्रदेश सरकारले १ सय २९ घर बनाउने भएको छ । जनता आवास कार्यक्रममार्फत विपन्न परिवारका लागि कर्णाली प्रदेश सरकारले घर बनाइदिन लागेको हो ।

जिल्लाका ६ वटै स्थानीय तहमा गरिब तथा विपन्न परिवारका लागि घर बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि पूर्वाधार विकास कार्यालय, चौरजहारीले सम्बन्धित व्यक्तिसँग सम्झौता गरेको हो । जिल्लामा सबैभन्दा बढी घर चौरजहारी र आठबीसकोट नगरपालिकामा बन्नेछन् । त्यहाँ २८/२८ घर बन्ने निर्णय भएको छ भने मुसीकोट नगरपालिकामा १८ बन्दैछन् । सानीभेरीमा १९, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा १८/१८ वटा घर लागेको कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा ‘क’ निर्वाचन क्षेत्रमा ६४ र ‘ख’निर्वाचन क्षेत्रमा ६५ आवास बनाउने गरी निर्णय भएको हो ।

आफ्नो नाममा जग्गा भइ आर्थिक अवस्था कमजोर रहेका कारण घर बनाउन नसक्नेका लागि प्रदेश सरकारले जनता आवासमार्फत घर बनाइदिने भएको हो । ३ लाख १० हजार रुपैयाँमा एउटा घर बनाउने गरी निर्णय भएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए ।

चालु आर्थिक वर्षमा जनता आवासका लागि जिल्लामा ४ करोड रुपैयाँ बजेट आएको छ । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले छनोट भएका हरेक परिवारका लागि २ कोठाको घरमा सानो बरन्डा पनि निर्माण हुने जानकारी दिए । उनका अनुसार एउटा कोठामा भान्सा बनाउने कार्यविधि निर्माण गरिएको छ । यद्यपि व्यक्तिले नै लगानी जुटाउन सके निर्धारित मापदण्डभन्दा ठूलो घर बनाउन सक्ने प्रदेशसभा सदस्य गोपाल शर्माले बताए । उनका अनुसार २ महिनामा काम सक्ने गरी काम सञ्चालनको तयारी भइरहेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १७:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

झापाको कचनकवलमा मात्रै ३३ संक्रमित

पर्वत पोर्तेल

काँकडभिट्टा — दक्षिण झापाको कचनकवलमा चार दिनमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । सोमबार एक युवकबाट संक्रमण सुरु भएको थियो । मंगलबार थप ९ जनामा देखिएकोमा बुधबार १५ थपिएका थिए ।

बिहीबार थप ८ संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय महामारी फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिए । उनका अनुसार यो संख्या अझै बढ्न सक्नेछ ।

लगालग संक्रमित बढ्न थालेपछि गाउँपालिका ५ दिनका लागि सिल गरिएको छ । सीमानाकामा थप कडाई गरिएको गाउँपालिका अध्यक्ष अन्जार आलमले जनाए । उनले गाउँपालिका ‘डेन्जर जोन’को रुपमा रहेकाले सचेत रहन स्थानीयवासीलाई अनुरोध गरेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७७ १७:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×