कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्णबहादुरको पीडा : खर्च छैन, छोराले हेरेनन्

एक दशकदेखि दमको रोगले थलिएका ८४ वर्षे पूर्णबहादुर उपचारबाट वञ्चित छन् । न गाडी मगाएर अस्पतालसम्म पुग्ने खर्च छ, न हिँड्नै सक्छन् ।
विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका-१ नाम्राका ८४ वर्षीय पूर्णबहादुर केसी दमको रोगले थलिएको एक दशक भयो । उपचार अभावमा उनी दिनदिनै अस्वस्थ बन्दै गएका छन् । न गाडी वा एम्बुलेन्स मगाएर अस्पतालसम्म पुग्ने खर्च छ, न त उनी हिँड्नै सक्छन् ।  छोराहरुले समेत बेवास्ता गरेपछि उनलाई आडभरोसा दिने श्रीमती चमेलीमात्रै छिन् ।

पूर्णबहादुरको पीडा : खर्च छैन, छोराले हेरेनन्

‘घरमा खाने खर्च छैन, पैसा पनि छैन कसरी उपचार गराउनु,' ७० वर्षीया श्रीमती चमेलीले भनिन्, 'गत वर्ष एक हल गोरु बेचेर उपचार गराएँ । तर रोग ठिक भएन । झनै बढ्दै गएको छ । रातभर सुत्दैनन् । सुत्न पनि दिँदैनन् ।’ उनका अनुसार नजिकै अस्पताल छैन । सामान्य जाँचका लागि पनि ३ घन्टा हिँडेर सल्लीबजार जानुपर्छ । त्यहाँ पनि दमको उपचार हुँदैन ।

अहिलेको गुजाराको आधार नै वृद्धभत्ता भएको उनले बताइन् । उपचारका लागि बारम्बार सम्बन्धित निकायमा आग्रह गर्दै आए पनि कसैले सहयोग नगरेको उनको गुनासो छ । ‘चार भाइ छोरा भए पनि मरे या जिउँदै छन्, थाहा छैन । रक्सी खाएर सल्लीबजारतिरै मातेर हिँड्छन् भन्ने सुनेको छु । छोरा हुनु/नहुनु बराबर छ ।’ बुहारी र नातिनतिना पनि छोराहरुले जिम्मा लगाएकाले अझ समस्यामा परेको उनको भनाइ छ।

उनीहरुको घर भत्किएको छ । आर्थिक अभावका कारण मर्मत गर्न नसक्दा पानी परेका बेला चुहिन्छ ।

वडा नं १ मा स्वास्थ्य चौकी नभएकाले र उपचारका लागि सल्लीबजार पुग्नुपर्ने बाध्यताले दमका रोगी स्थानीय स्वास्थ्यसेवाबाट प्रभावित हुँदै आएका शिक्षिका चित्रकला शर्माले बताइन् । 'लकडाउनले गर्दा घरबाहिर निस्कन गाह्रो भएकाले पनि सबै गाउँवासी स्वास्थ्यसेवाबाट वञ्चित छन्,' उनले भनिन्, 'बारम्बार स्वास्थ्यचौकी माग गरे पनि सुनुवाइ भएन ।'

बन्गाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द पुनले यही वर्ष गाउँमै स्वास्थ्य इकाई सञ्चालन गर्न भवनको तयारी गरे पनि लकडाउनका कारण प्रभावित बनेको बताए ।

प्रकाशित : जेष्ठ ६, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?