विवाद मिलाउने क्रममा वडाध्यक्षमाथि कुटपिट

तुलाराम पाण्डे

कालीकोट — पचालझरना गाउँपालिका–१ का वडाध्यक्ष रत्नलाल न्यौपाने स्थानीयको कुटपिटबाट सख्त घाइते भएका छन् । उपभोक्ता समितिको विवाद मिलाउन खोज्दा ५२ वर्षीय न्यौपानेलाई बुधबार दिउँसो स्थानीय ५ युवाले आक्रमण गरेका हुन् । न्यौपानेको टाउकोमा चोट लागेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार वडावासी २१ वर्षीय उमेश, २० वर्षीय पारस, २२ वर्षीय तिलक, २० वर्षीय जनक र १९ वर्षीय कमल न्यौपानेले वडाध्यक्ष न्यौपानेमाथि कुटपिट गरेका थिए । स्थानीय मन्दिर (थान) निर्माण उपभोक्ता समितिमा आफ्ना मान्छे नपरेको भन्दै युवाले बुधबार नै वडा सहयोगी प्रकाश न्यौपानेलाई कुटपिट गरेका थिए । उनीहरुलाई सम्झाउने क्रममा वडाध्यक्षमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । गाउँपालिकाले मन्दिर निर्माणका लागि एक लाख रुपैयाँ विनियोजन गरेको छ ।

कुटपिटमा संलग्न सबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । उनले पक्राउ परेकालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको बताए ।

वडाध्यक्ष न्यौपानेलाई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ । मेडिकल कलेजले काठमाडौं रिफर गरे पनि हेलिकप्टर नपाउँदा लैजान नसकिएको पत्नी दुर्गा न्यौपानेले बताइन् ।

यसैबीच गाउँपालिका अध्यक्ष खड्कराज सेजुवाल र नेकपा कालीकोटका सचिव नगिन्द्र शाहीले विज्ञप्तिमार्फत कुटपिटको विरोध गर्दै संलग्नमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रकाशित : वैशाख १९, २०७७ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?