कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा अब ३ वटा पीसीआर मेसिन

कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — कम क्षमताको रियल टाइम–पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर) मेसिन अभावमा स्वाबको नमुना बाहिर पठाउनुपर्ने कर्णालीको बाध्यता हट्ने भएको छ । बुधबार दुईवटा ठूलो क्षमताका मेसिन आउने भएका छन् ।

कर्णालीमा अब ३ वटा पीसीआर मेसिन

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश सरकारले मेसिन खरिद गरेका हुन् । प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयसँग रहेको नयाँ मेसिन र प्रतिष्ठानले चीनबाट मेसिन खरिद गरेको हो । प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले दुइटै मेसिन नेपाली सेनाको जहाजमा सुर्खेत ल्याउन लागिएको बताए । संघीय सरकारसँग थप अर्काे एक मेसिनसमेत माग गरिएको उनको भनाइ छ ।

प्रदेश सरकारले खरिद गरेको मेसिन सुर्खेतस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा र प्रतिष्ठानले खरिद गरेको मेसिन जुम्लास्थित शिक्षण अस्पतालको प्रयोगशालामा राखिनेछ । दुइटै मेसिनले एकपटकमा ९६ वटा नमुना प्रोसेसिङ गर्न सक्छन् । संघीय सरकारले चैत तेस्रो साता पठाएको हालको मेसिनले भने एकपटकमा एउटामात्र प्रोसेसिङ गर्न सक्छ । त्यही कारण कर्णालीमा संकलित स्वाबका नमुना काठमाडौं र धनगढी पठाउने गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब संयोजक ओम आचार्यले जनशक्ति र अन्य सामानको उपलव्धताको आधारमा नयाँ मेसिनबाट करिब ४५ वटासम्म प्रोसेसिङ गर्न सकिने बताए । ‘मेसिन आएपछि स्वाब संकलन र परीक्षणलाई तीव्रता दिइनेछ, पूर्ण क्षमतामा चलाउन भने हाम्रो जनशक्ति र अन्य साधनले नभ्याउन सक्छ,’ उनले भने, ‘अब संकलित स्वाबका नमुना बाहिर पठाउनुपर्ने अवस्था भोग्नुपर्ने छैन ।’

जुम्लामा पर्याप्त जनशक्ति भए पनि मेसिन अभावमा परीक्षण हुन सकेको थिएन । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले मेसिन आएसँगै स्वाब संकलन तथा परीक्षणको लागि आवश्यक पर्ने ५ सयवटा किट पनि माग गरिएको बताए । उनका अनुसार मेसिन र प्रयोगशालामा जुम्लाका साथै कालीकोट, मुगु, हुम्ला र डोल्पाबाट संकलित स्वाब परीक्षण गरिनेछन् ।

आरटी–पीसीआर र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीपी) को लागि आवश्यक उपकरण आएपछि कर्णाली प्रदेश सरकारले ‘मेडिकल मार्च’ सुरु गर्ने भएको छ । सामाजिक विकासमन्त्री रावलले चिकित्सक र स्वास्थ्यकर्मीको संयुक्त टोली प्रत्येक स्थानीय तहमा पठाइने बताए । उक्त टोलीले कोरोनाविरुद्ध सचेतीकरण गर्नुका साथै आरडीटी र पीसीआरको लागि संभावित व्यक्तिको स्वाब संकलन गर्नेछ ।

प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले ‘मेडिकल मार्च’ को लागि ३५ जना चिकित्सकको टोली तयारी अवस्थामा रहेको बताए । मन्त्रालयले साविक कर्णाली अञ्चलका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा प्रतिष्ठानको टोली मार्चमा हिँड्ने बताए । ‘प्रदेश सरकारले सुरु गर्न लागेको मेडिकल मार्चले कर्णालीमा कोरोनाको जोखिम र अवस्था थाहा हुनेछ,’ उनले भने, ‘आरटी–पीसीआर मेसिन आएपछि त झन् सहज हुनेछ ।’

प्रकाशित : वैशाख १०, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?