विदेशबाट फर्किनेको परीक्षण गर्न कर्णालीमा आरडीटी किट- कर्णाली - कान्तिपुर समाचार

विदेशबाट फर्किनेको परीक्षण गर्न कर्णालीमा आरडीटी किट

स्वाब संकलन र परीक्षणका लागि स्वास्थ्यकर्मी प्रदेशका १० वटै जिल्लाका गाउँगाउँ खटिइसकेका छन्
कर्णाली प्रदेश ब्युरो

सुर्खेत — विदेशबाट फर्किएकामा कोरोना संक्रमणबारे परीक्षण गर्न कर्णालीका १० वटै जिल्लामा र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) किट पठाउन थालिएको छ। किट जिल्लामा पुगेसँगै परीक्षणका लागि स्वास्थ्यकर्मी गाउँगाउँमा खटिन थालेका छन्।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सबै जिल्लामा ५ हजार किट नमुना संकलनका लागि पठाइनेछ। बाहिरबाट फर्किएकाको तथ्यांकअनुसार जिल्लामा किट पठाइएको निर्देशक रीता भण्डारीले बताइन्। उनका अनुसार दैलेख र डोल्पाबाहेक सबै जिल्लामा आवश्यक किट पठाइसकिएको छ।


हुम्ला, रुकुम र जाजरकोटमा ४ सयका दरले किट पठाउने तयारी गरे पनि तत्कालका लागि २ सय थान पठाइएको उनले जानकारी दिइन्। जुम्लामा २ सय र कालिकोटमा ३ सय थान किट पठाइएको निर्देशनालयले जनाएको छ। ‘दुर्गममा भीटीएम संकलन गर्न समस्या भएकाले किटको आवश्यकता महत्वपूर्ण छ,’ उनले भनिन्, ‘केही जिल्लामा स्वाब संकलन र परीक्षण गर्न स्वास्थ्यकर्मी खटिइसकेका छन्।’


यसअघि उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावमा स्वाब संकलनमा समस्या भएको थियो। पीपीई, सर्जिकल मास्क, आइसीयू र भेन्टिलेटरलगायतको अभावका कारण कर्णालीमा कोरोना संक्रमणको जोखिम बढिरहेको निर्देशनालयले जनाएको छ। कर्णालीमा ८ सय ७९ स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा ३ सय जनामात्र कार्यरत छन्।


‘उपकरण, चिकित्सक र स्वास्थ्यकर्मी अभावमा स्वाब संकलन र परीक्षणलाई सोचेजस्तो प्रभावकारी बनाउन सकिएको छैन,’ निर्देशक भण्डारीले भनिन्, ‘दोस्रो चरणमा आवश्यकताअनुसार किट पठाइनेछ।’ दैलेख अस्पतालले स्वाब संकलन गरेर सुर्खेत पठाउने गरेको छ। दैलेखबाट पठाइएका ५९ स्वाबमध्ये २५ नमुना ‘नेगेटिभ’ देखिएको अस्पताल प्रमुख डा. निरन्जन पन्तले बताए।


जुम्लामै परीक्षणको तयारी


भारतबाट जिल्लामा भित्रिएकाको आरडीटी किटमार्फत द्रुत परीक्षण थालिने भएको छ। भारतबाट आएकामा कोरोना भाइरस संक्रमण भए/नभएकोबारे द्रुत परीक्षण गर्न प्रदेश सरकारले २ सय किट पठाएको हो।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर परीक्षण थालिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। पर्याप्त विशेषज्ञ, स्वास्थ्यकर्मी र पीपीई भएकाले तत्कालै परीक्षण सुरु गर्न थालिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए। ‘शिक्षण अस्पतालमा कोरोना भाइरसको परीक्षण गर्न अत्याधुनिक ल्याब तयारी अवस्थामा छ,’ उनले भने, ‘एक साताभित्रै पीसीआर मेसिन ल्याएर परीक्षणलाई तीव्रता दिइनेछ।’ प्रतिष्ठानले यसअघि सञ्चालनमा रहेका ३ आइसियू बेड विस्तार गरी १० शय्याको बनाउने तयारी थालेको उनले जानकारी दिए।


गाउँगाउँमा स्वास्थ्यकर्मी


जाजरकोट अस्पतालले भारतलगायत मुलुकबाट फर्किएका व्यक्तिका घरघरमा पुगेर कोरोना भए/नभएको द्रुत परीक्षण थालेको छ। कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले आइतबार ३ सय आरडीटी किट पठाएपछि गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गर्न थालिएको हो।


निर्देशनालयबाट आएको टोलीले अस्पतालका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिरहेको छ। तालिम सकिएसँगै दुई दिनभित्र सबै पालिकामा स्वास्थ्यकर्मी खटाइने अस्पतालका स्वास्थ्यकर्मी कृष्ण केसीले बताए। ‘केन्द्रबाट किट ढिलोगरी आएकाले यसअघि परीक्षणको काम प्रभावित भएको थियो,’ उनले भने, ‘अभिमुखीकरण सकिएपछि किट लिएर मेडिकल अधिकृतसहितको टोली पालिकास्तरमा परिचालन हुनेछ।’


यसअघि अस्पतालले १४ जनाको स्वाब संकलन गरेर प्रदेश प्रयोगशाला, सुर्खेत पठाएको थियो। परीक्षणपछि सबैको नमुना रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ। निर्देशनालयका फोकल पर्सन श्याम आचार्यका अनुसार सुर्खेतबाट ३ दिनअघि सुरु भएको परीक्षण शनिबारदेखि कालीकोट र जुम्लामा जारी छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जाजरकोटमा लकडाउनपछि भारतबाट ३ सय र खाडी मुलुकबाट १८ जना भित्रिएका छन्।

(ज्योति कटुवाल (वीरेन्द्रनगर, सुर्खेत), भीमबहादुर सिंह (जाजरकोट) र एलपी देवकोटा (जुम्ला) को रिपोर्ट।)

प्रकाशित : चैत्र ३०, २०७६ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउनमा अस्पताल पुर्‍याउन नसक्दा सुत्केरीको ज्यान गयो

चाँदनी कठायत

वीरेन्द्रनगर — डोल्पाको ठूलीभेरी नगरपालिका–६, दुरगाउँकी लालुकुमारी रोकायले शुक्रबार दिउँसो करिब १ बजेतिर छोरी जन्माइन् । व्यथा लाग्ने बेलाको अवस्था सामान्य भए पनि बच्चा जन्मिएपछि उनको स्वास्थ्यमा समस्या देखियो ।

बच्चा जन्मिसकेपछि रोकायाको अत्यधिक रक्तश्राव भयो । बढी रक्तश्राव हुन थालेपछि उनी बेहोस हुन पुगिन् । बच्चा जन्माइसकेपछि अवस्था झन् गम्भीर बन्दै गयो । तर, ‘लकडाउन’ को डरले घरका मान्छेले तुरुन्त अस्पताल लिन सकेनन् ।
‘जताततै लकडाउन छ,’ भतिज भुजबहादुर रोकायले भने, ‘घरबाटै निस्कन नपाएको बेला त्यति टाढा रहेको अस्पताल कसरी पुग्ने भन्ने डर पनि भयो, हेर्दाहेर्दै काकी बितिन् ।’ लकडाउनका कारण कोही पनि अस्पताल लैजान तयार नभएनका उनले बताए ।
ठूलीभेरी नगरपालिकामै रहेको माझपल स्वास्थ्य चौकी पुग्‍न साढे दुई घण्टा लाग्छ । लकडाउनको डरले टाढा रहेको स्वास्थ्य चौकी जान नसकेको उनका भजुबहादुरले बताए ।
बारम्बार बेहोस् भइरहेकी रोकायलाई घर नजिकै रहेका स्वास्थ्यकर्मी हरिबहादुर रोकायले प्राथमिक उपचार गरी उनलाई होसमा ल्याउने प्रयास गरेका थिए । एकपटक त उनी होसमा पनि आइन् । अन्ततः प्रयास असफल भयो । बच्चा जन्माएको करिब ३ घण्टापछि लालुकमारीको मृत्यु भयो ।
‘लकडाउन नभएको भए नगरपालिकामा पनि खबर गर्ने थियौँ,’ भुजबहादुरले भने, ‘यस्तो अवस्थामा को सहयोग गर्न आउला र भन्ने भयो त्यसैले कतै खबर गरेनौँ ।’ भएका स्वास्थ्यकर्मीहरु पनि अहिले सबै कोरोना भाइरस संक्रमित खोज्नमै व्यस्त भएकाले लालुकुमारीको ज्यान बच्न नसकेको उनले बताए ।
मृतकका छिमेकी एवम् समाजसेवी लक्ष्मी कार्कीले आफू नजिकै हुँदा पनि खबर नभएको बताए । ‘मलाई खबर आएको भए उद्दारका लागि पहल गर्थेँ,’उनले भने, ‘लकडाउनले गर्दा कसैलाई खबर गर्ने जमर्को गरेनछन्, अब आमाको मृत्यु भइसक्यो, सरकारले बच्चाको लालनपालनको व्यवस्था गर्दिनुपर्छ ।’ नगरपालिकासँग बच्चालाई दूध खुवाइने आमा खोजिदिन आग्रह गरिएको उनले बताए ।
२२ वर्षीया लालुकुमारीले शुक्रबार जन्माएको बच्चा उनको तेस्रो सन्तान हो । ठूलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्र शाहीले लकडाउनका कारण पनि सुत्केरीको मृत्यु भएको बताए ।
‘मान्छेको आवतजावत कम छ अहिले,’ उनले भने, ‘विपन्न वर्गका परिवारमा उद्दारको लागि कहाँ सम्पर्क गर्ने भन्ने पनि विकटमा थाहा हुँदैन ।’ लकडाउनमा मानिसको गाउँघरमा पनि चहलपहल नहुँदा सुत्केरीको समस्याबारे खबर गर्न नसकेको हुन सक्ने उपप्रमुख शाहीको भनाइ छ । डोल्पाका धेरै महिलाहरु अस्पतालमा नगई घरमै असुरक्षित सुत्केरी हुनाले यस्तो समस्या आएको उनले बताए ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले मन्त्रालयमा पनि कुनै किसीमको खबर नआएको बताए । लकडाउन भए पनि खबर आएको भए जटिल अवस्थाका बिरामीको उद्दार गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित : चैत्र ३०, २०७६ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×