कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२९ जनाको स्वाब नमुना सुर्खेत पठाइयो 

हरि गौतम

रुकुम पश्चिम — जिल्लाका विभिन्न क्वारेन्टाइनबाट एकैचोटि २९ जनाको स्वाब संकलन गरी सुर्खेत पठाइएको छ । कोरोना संक्रमण परीक्षण गर्न जिल्लामा अहिलेसम्मकै बढी स्वाब संकलन गरिएको हो ।

२९ जनाको स्वाब नमुना सुर्खेत पठाइयो 

सुर्खेतबाट आएको स्वास्थ्यकर्मीको टोलीले चौरजहारी नगरपालिकाको क्वारेन्टाइनमा बसेका ७ जना, भारत तथा तेस्रो मुलुकबाट आएका ७ जना, सानीभेरी गाउँपालिकाबाट १४ र मुसीकोट नगरपालिकाबाट एक जनाको स्वाब संकलन गरेको हो । विदेशबाट आएका तथा मिल्दोजुल्दो लक्षण देखिएकाहरूको स्वाब संकलन गरिएको जिल्ला अस्पताल कोरोना रोग नियन्त्रण समितिका फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।


सरकारले देशबाहिरबाट आएका सबैको परीक्षण गर्नुपर्ने भनेकाले त्यसैअनुसार पहल भइरहेको उनले बताए । यसअघि जिल्लाका दुई व्यक्तिको स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो ।


स्वाब संकलन गरिएका मध्ये ९ जना मात्र क्वारेन्टाइनमा बसेका हुन् । पछिल्लो तथ्यांकअनुसार जिल्लाका विभिन्न क्वारेन्टाइनबाट ५० भन्दा बढी मान्छे स्वाब परीक्षण नगरी घर गएका छन् । दुई हप्ता क्वारेन्टाइनमा बस्दा पनि स्वास्थ्यस्थिति सामान्य भएपछि घर पठाइएको स्थानीय तहले जनाएका छन् ।


मुसीकोट नगरपालिकाले मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टाइन अहिले खाली छ । पहिले त्यहाँ सात जना व्यक्ति राखिएकामा २ जनाको मात्रै स्वाब परीक्षण भएको छ । ५ जना परीक्षणविनै घर गएका छन् ।


दुई साता क्वारेन्टाइनमा राख्दा स्वास्थ्य अवस्था सामान्य रहेकाहरूको स्वाब परीक्षण नगरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए । चौरजहारी नगरपालिकाले बनाएको आइसोलेसनमा एक जना छन् ।

प्रकाशित : चैत्र २७, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?