कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वाब संकलन सुर्खेतमै सीमित

कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रदेश अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को निदान गर्ने पीसीआर (पोलिमर्च चेन रिएक्सन) मेसिन आए पनि स्वाब संकलनमा समस्या देखिएको छ । तालिमप्राप्त जनशक्ति नहुँदा ग्रामीण क्षेत्रमा सम्भावित संक्रमितको स्वाब नमुना लिन सकिएको छैन ।

स्वाब संकलन सुर्खेतमै सीमित

सुर्खेतबाट बिहीबार परीक्षण सुरु भएयता ४४ जनाको स्वाब संकलन भएको छ । ती सबै सुर्खेतका हुन् । अस्पतालका ल्याब प्राविधिक भरत देवकोटाका अनुसार यहाँबाट परीक्षण सुरु गर्नुअघि हुम्ला, जुम्ला, डोल्पा, सल्यान र दैलेखका बिरामीको स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो । ‘अहिले हामीले नजिक–नजिकका बिरामीको नमुना संकलन गरेर परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘टाढा जान सकिएको छैन, बाहिरी जिल्लामा जान त झनै समस्या छ ।’


कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयले संकलन गरेको तथ्यांकअनुसार ‘लकडाउन’भन्दा अघि र पछि गरेर भारतबाट करिब ८ हजार ७ सय व्यक्ति गाउँमा पुगेका छन् । गाउँ फर्किनेमा सबैभन्दा बढी जुम्लाका ५ हजार ८० जना छन् । तर त्यहाँ हालसम्म तीन जनाको मात्र स्वाब परीक्षण भएको छ ।


चैत ४ गते संक्रमित युवतीसँगै कतार एयरमा आएका एक व्यक्तिको पनि स्वाब परीक्षण हुन नसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. निमेष थापाले बताए । ‘स्थानीय स्वास्थ्यकर्मीले लक्षण देखिएको जानकारी दिएपछि गाडी जाने ठाउँको स्वाब संकलन गरिएको छ,’ उनले भने, ‘टाढा भए त जान पनि सम्भव हुँदैन ।’ दुई जनाको प्रतिष्ठानमै, एक जनाको तातोपानीमा र अर्का एक जनाको कालीकोटको सीमाक्षेत्र नाग्म पुगेर स्वाब संकलन गरी पठाइएको उनले बताए ।


जनशक्ति अभाव

अहिले सुर्खेतस्थित प्रदेश अस्पतालमा काठमाडौंबाट आएका माइक्रोबायोलोजिस्ट रामकृष्ण श्रेष्ठको नेतृत्वमा १० जनाको ल्याब प्राविधिक टोली छ भने जुम्लामा यससम्बन्धी ज्ञान भएका चिकित्सकद्वय निमेष थापा र विवेक पुनमगर छन् ।


प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याबसम्बन्धी फोकल पर्सन ओम आचार्यका अनुसार गाउँ–गाउँमा गएर नमुना संकलन गर्न एक जिल्लामा कम्तीमा ५–६ जनाको टोली आवश्यक पर्छ । अहिले हरेक जिल्लामा दुईदेखि तीन जना ल्याब प्राविधिक भए पनि तिनीहरूलाई कोरोना परीक्षणका लागि लिइने आरटी–पीसीआर (रियल टाइम– पोलिमर्च चेन रिएक्सन) स्वाब संकलन कसरी गर्ने भन्ने ज्ञान छैन । ‘उनीहरूलाई एक दिन अभिमुखीकरण दिएर सिकाउने हो भने त संकलन गर्न सकिहाल्छन्,’ उनले भने, ‘तर रुकुम पश्चिम, दैलेख र सल्यानका तीन जनालाई बाहेक अरूलाई यस्तो अभिमुखीकरण दिन सकिएको छैन ।’


प्रदेशभर स्वाब संकलन तथा परीक्षण गर्न सक्ने १२ जना प्राविधिक भए पनि ६ जना ल्याब केन्द्रमा व्यस्त रहनुपर्छ । बिहान ५ देखि राति १० बजेसम्म कोरोनाको परीक्षण हुने गरेको ल्याब प्राविधिक देवकोटाले बताए । यसले गर्दा स्वाब संकलन गर्ने जिम्मा चार जनाको काँधमा छ । जुम्लाका दुई जना त चिकित्सक भएकाले स्वाब संकलनका लागि टाढा जान सक्ने अवस्था रहँदैन ।


भौगोलिक विकटता

प्राविधिकका अनुसार संकलित स्वाब ढिलोमा ७२ घण्टाभित्र परीक्षणका लागि सिस्टममा राखिसक्नुपर्छ । यहाँका हुम्ला, मुगु र डोल्पाका केही बस्ती यति विकट छन् जहाँ पुग्न पालिकाको केन्द्रबाट दुई–तीन दिनसम्म लाग्ने गर्छ ।


आचार्यका अनुसार यसअघि औषधी तथा उपकरण पुर्‍याउन गएको हेलिकोप्टरमा हुम्ला र डोल्पा सदरमुकामनजिकका चार जनाको स्वाब संकलन गरी ल्याइएको थियो । ‘अलि बढी समस्या देखिएपछि हेलिकोप्टर लगेर भए पनि स्वाब संकलनका लागि जान सकिन्छ,’ उनले भने, ‘सामान्य लक्षण देखिएका व्यक्तिको भने संकलन गर्न गाह्रो छ ।’


भीटीएम पनि अभाव

डा. थापाले जुम्लामा संकलित स्वाब राख्ने भीटीएम (भाइरल ट्रान्सफर्म मिडिया) पनि अभाव रहेको बताए । उनका अनुसार सामाजिक विकास मन्त्रालयले पठाएका १० मध्ये चारवटामा स्वाब संकलन गरी पठाइएसकिएकाले ६ वटा मात्र बाँकी छन् । धेरै व्यक्तिको स्वाब संकलन गर्नुपर्ने अवस्था आए सुर्खेतबाट मगाउनुपर्ने अवस्था रहेको उनले बताए । प्रदेशमा भने भीटीएम पर्याप्त रहेको निर्देशनालयका फोकल पर्सन आचार्यले बताए । उनका अनुसार संघीय सरकारले पठाएका १ हजार भीटीएममध्ये अझै करिब ९ सय स्टक छन् ।


कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले कर्णालीमा हालसम्म कोरोनाको संक्रमण नदेखिए पनि गाउँगाउँमा स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याए । वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा रहेका केही व्यक्तिको नमुना संकलन गरेपछि ल्याबको टोली गाउँतिर पनि जानुपर्ने उनको भनाइ छ । ‘कुनै व्यक्तिमा पोजिटिभ रिपोर्ट आयो भने सोही ठाउँमा चिकित्सक खटाएर उपचार सुरु गर्ने प्रदेश सरकारले पनि भनिसकेको छ,’ उनले भने, ‘तर यसका लागि जतिसक्दो धेरै सम्भावित बिरामीको स्वाब संकलन गरी परीक्षण गर्नुपर्छ ।’

प्रकाशित : चैत्र २३, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?