कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भारतीय सुरक्षाकर्मीले मध्यराति ट्र्याक्टरमा हालेर जंगलमा छाडिदिए’

सीमा क्षेत्रमा बन्दुक तेर्स्याउँदै भने, ‘यताबाट भाग, फर्कियौ भने गोलीले उडाइदिन्छु’
कलेन्द्र सेजुवाल

सुर्खेत — चार दिनसम्म के खानु भो त ? कान्तिपुरको प्रश्नमा उनी एकछिन मौन बसे र झोलाबाट ‘पार्ले जी’ बिस्कुटको खोल झिक्दै भने, ‘यो खायौं, थोकै (थोरै) चाउचाउ पनि थियो ।’

‘भारतीय सुरक्षाकर्मीले मध्यराति ट्र्याक्टरमा हालेर जंगलमा छाडिदिए’

जुम्लाको हिमा गाउँपालिका–५, बाँझघाटका ५१ वर्षीय सार्की रोकाया बिहीबार निकै थकित थिए किनभने उनको जिन्दगीमा पछिल्लो चार दिनको यात्रा निकै पीडादायी बन्यो । भारतको अम्बेडकर नगरबाट कतै गाडी त कतै पैदल यात्रा गर्दै बिहीबार सुर्खेत आइपुगेका उनले भने, ‘पराइ–देश (भारत) बाट यसरी बाँचेर आइएला भन्ने सोचिएकै थिइनँ ।’


गाउँका अन्य चार जनासँगै आएका उनले घटनाको बेलिविस्तार लगाए । फागुन दोस्रो साता उनीसहित गाउँकै सौंरे रोकाया, विकास रोकाया र दुर्ग रावत उत्तर प्रदेशको अम्बेडकर नगर पुगेका थिए । गर्मी सिजनका लागि पातलो कपडा डुलाउँदै बेच्न उनीहरू वर्षेनि यसैगरी अम्बेडकर नगर जाने गर्छन् । यसपटक सहरमा डेरा खोजेर बस्न थालेको करिब एक महिना भएको थियो ।


कोरोना भाइरस (कोभिड–१९) को कारण भारतभर ‘लकडाउन’ भयो । त्यसपछि व्यापार ठप्प ! चार–पाँच दिन डेराभित्रै थुनिएर बस्नुपर्‍यो । सोमबार एक्कासि भारतीय सुरक्षाकर्मी आएर भन्न थाले, ‘तिमीहरू आ–आफ्नो भूमि जाओ, नत्र ठिक हुन्न ।’ उनीहरूले डेरामा व्यापारको लागि ल्याएका सामानसमेत राम्ररी थन्काउन पाएनन् । दिउँसो करिब १२ बजेतिर सरकारी गाडीमा खाँदेर बहराइच हुँदै रुपैडियाका लागि पठाइयो । ‘गाडीमा मान्छे भरिभराउ थिए, भारतीय पनि थिए,’ ३२ वर्षीय सौंरेले भने, ‘भोलिपल्ट (मंगलबार) बिहान अँध्यारैमा रुपैडिया उतार्‍यो ।’


रुपैडिया बसपार्कमा त्यसैगरी ल्याइएका उनीजस्ता करिब डेढ सय नेपाली थिए । भारतीय भूमि नै भए पनि सीमा क्षेत्रमा आएकाले अब त घर पुगिएला भन्ने विश्वासले सबै उत्साही थिए । तर, दिनभर नेपाल सरकारले न त उनीहरूलाई बोलायो न नाका प्रवेशका लागि अनुमति नै दियो । बिहानको खाना, दिउँसोको खाजा र साँझको खाना भने भारतीय सुरक्षाकर्मीले दिए ।


मंगलबार साँझको खानासमेत खाएपछि सबै भोलि (बुधबार) बिहानको प्रतीक्षामा थिए तर मध्यराति भारतीय सुरक्षाकर्मीले ट्र्याक्टरमा चढ्न उर्दी जारी गरे । त्यहाँसम्म पनि उनीहरूलाई लागेका थियो– रुपैडिया नाकाबाट नेपाल पठाउन खोजिएको होला ।


‘तर हामीलाई ट्र्याक्टरमा हालेर जंगलैजंगलको बाटो लगियो, त्यसपछि त कतै मार्ने हुन् कि भनेर डर लाग्न थाल्यो,’ सौंरेले भने, ‘एक घण्टापछि ट्र्याक्टर रोकेर बन्दुक देखाउँदै ‘यताबाट भाग, फर्कियौ भने गोलीले उडाइदिन्छु’ भने ।


मध्यराति खेत र झाडीमा भागदौड गर्दै नेपालपट्टि आएको उनले बताए । उनका अनुसार उक्त राति ५–६ पटक गरेर नेपालीलाई सीमा क्षेत्रमा छाडिएको थियो । एकपटकमा करिब २० जनालाई खाँदेर राखिएको उनले बताए ।


भारतले अमानवीय रूपमा धपाएर नेपाल प्रवेश गरेपछि उनीहरूले झन् सास्ती पाए । रातभरि हिँडेका उनीहरू बिहान करिब १० बजे पिप्रहवा प्रहरी चौकी पुगे । ‘हामीले आत्मसमर्पण गरेजस्तै हात खडा गरेर प्रहरीलाई व्यथा सुनायौं,’ उनले भने, ‘प्रहरीले पनि तिमीहरूको घर जहाँ हो, त्यतै जाऊ भन्दै कोहलपुरतिर पठायो ।’


कोहलपुर पुग्दा बुधबार दिउँसोको करिब १२ बजेको थियो । त्यहाँको प्रहरीले सुर्खेततिर आउँदै गरेको एउटा गाडीमा चढायो । त्यो गाडीले वीरेन्द्रनगर नल्याएर छिन्चुमै छोड्यो । त्यसपछि फेरि उनीहरूको पैदल यात्रा सुरु भयो । ‘हिजो (बुधबार) दिनभर हिँडेर यता आयौं, बजार (वीरेन्द्रनगर) पुग्न सकिएन, बाटोमै बास बस्यौं,’ ४४ वर्षीय नन्दलालले भने, ‘आज बिहान मात्र आइपुगेका हौं ।’


पाँचै जनालाई नेपाली सेनाको व्यवस्थापनमा कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको खुलामञ्चस्थित क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टनको कमाण्ड सम्हालिरहेका नेपाली सेनाका क्याप्टेन दयाराम ढकालले सबै जनाको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य रहेको बताए । उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य निगरानी गरिने उनको भनाइ छ ।


नेपालमा झन् पीडा


चार दिनको यात्रापछि उनीहरूलाई भारतभन्दा आफ्नै सरकारप्रति बढी गुनासो छ । ‘भारतले त आफ्नै देश जाऊ भनेर खेद्यो, नेपाल आएपछि पनि सरकारले वास्ता गरेन,’ सौंरेले भने, ‘हाम्रो सरकार राम्रो भइदिएको भए रुपैडिया आएको थाहा पाउनेबित्तिकै गाडी पठाएर ल्याउँथ्यो तर नेपाल आएपछि पनि आफ्नै घर जाउ भन्दै दुःख दिन खोजियो ।’


सीमा कटेपछि बाँके, बर्दिया र सुर्खेतमा गरेर करिब सात–आठ ठाउँमा प्रहरीले रोकेर सोधपुछ गरे पनि क्वारेन्टाइनको सट्टा घरतिर जान भनेको उनले बताए । उनका अनुसार सँगै आएका गाउँकै सात जना कोहलपुरमा आफन्तकोमा बसिरहेका भए पनि अरु कहाँ गए अत्तोपत्तो छैन ।

प्रकाशित : चैत्र २०, २०७६ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?