कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनले बादी बस्तीमा खाद्यान्‍न समस्या

ज्योति कटुवाल

दैलेख — दैलेखको नारायण नगरपालिका १ मा रहेको नमुना बादी बस्तीमा खाद्यान्‍न समस्या देखिएको छ । लकडाउन एक साता लम्बिएपछि बस्तीमा खाद्यान्‍न अभाव भएको हो ।

लकडाउनले बादी बस्तीमा खाद्यान्‍न समस्या

अहिले बादी समुदाय पैँचो मागेर छाक टार्न बाध्य भएको स्थानीय मनिषा बादीले बताइन् । सामान बोकेर जीविका चलाउँदै आएकी मनिषाले लकडाउनका कारण काम नपाउँदा खाद्यान्न अभावको समस्या झेल्नुपरेको बताइन् ।

‘मजदुरी गरेको पैसाले किनेको खाद्यान्न सबै सकियो,’ उनले भनिन्,‘उधारो दिनेले पनि पत्याउन छोडे, मागेर र सापटी गरेर गुजारा चलाइरहेका छौं ।’ उनले ३ दिनदेखि परिवारका सबै सदस्यले पूरा पेट खान नपाएको दुःखेसो पोखिन् । उनले ट्याक्टर र ट्रकबाट सामान लोड–अनलोड गरेर घरखर्च टार्दै आइरहेकी थिइन् ।


बादी समुदायमा दिनभरि मजदुरी गरेर साँझ–बिहानको छाक टार्नुपर्ने बाध्यता छ । बादी समुदायकी अगुवा पवा बादीले अधिकांश बादी परिवार भोकभोकै बस्न थालेको बताइन् । ‘दिनभरि काम नगरे धेरैको घरमा चुल्हो बल्दैन,’ उनले भनिन्, ‘फेरि एक हप्ता लकडाउन बढ्यो, अब कसरी छाक टार्ने ?’ उनले पहिलेकै लकडाउनले बादी समुदाय आजित बनेको बताइन । ‘अैचोंपैँचौ दिनेहरु पनि सजक बन्न थालेका छन,’ पवाले भनिन्, ‘खाद्यान्न समस्याकै कारण सबैको चैते दशैं खल्लो भयो ।’

उनका अनुसार लकडाउनका कारण दैनिक काम गरेर परिवार पाल्ने बादी युवा घरमै बस्न बाध्य छन् । उनीहरुलाई परिवारको चुल्हो कसरी बाल्ने भन्ने चिन्ताले सताएको उनको भनाइ छ । सहज वातावरण नहुन्जेलसम्म खाद्यान्नको व्यवस्था गर्न उनले सरकारसँग माग गरिन् ।

बादी बस्तीमा ६५ घर परिवारका ४ सय जना बसोबास गर्छन । तल्लो डुंगेश्वरका बादी समुदायमा पनि खाद्यान्न समस्या देखिएको छ । माछा मारेर र दिनभरी मजदुरी गरेर पेट पाल्ने परिवारमा भोकभोकै बस्नुपर्ने अवस्था आएको डुंगेश्वरका रुपे बादीले बताए । ‘पैसा नदेखेसम्म पसलेले समान दिदैनन्, कति दिन मागेर गुजारा चलाउने ?,’ उनले भने, ‘अधिकांश परिवारले ४/५ दिनदेखि पूरा पेट खाना खाएका छैनौँ ।’

बादी समुदाय मात्र होइन, गिट्टी र बालुवा बोक्ने तथा बजारमा मजदुरी गर्नेहरु लकडाउनका कारण समस्यामा परेका छन् । नारायण नगरपालिका–६, भुर्तिकी सावित्रा सार्कीले काम नपाउँदा अधिकांशको चेतै दशैं खल्लो बनेको बताइन् । उनका अनुसार नमुना बस्तीसहित डकाने, भुर्तिलगायत गाउँका अधिकांश दलित समुदाय ज्याला–मजदुरी गरेरै छाक टार्न बाध्य छन् ।


प्रकाशित : चैत्र १९, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?