कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुम पश्चिममा लकडाउन उलंघन गर्ने १२० जना प्रहरीको नियन्त्रणमा

हरि गौतम

रुकुम पश्चिम — कोरोना भाइरस (कोभिड -१९) को सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले ११ गतेदेखि लागु हुनेगरी घोषणा गरेको लकडाउन उलंघन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुकुम पश्चिममा लकडाउन उलंघन गर्ने १२० जना प्रहरीको नियन्त्रणमा

लकडाउनलाई वेवास्ता गरी सवारी चलाउने १२० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गत मंगलबारदेखि शनिबार बेलुकासम्म जिल्लाका विभिन्‍न ठाउँबाट नियन्त्रणमा लिइएका उनीहरूलाई कोरोना भाइरस सम्बन्धि जानकारी र ट्राफिक नियमबारे सिकाएर पठाइएको छ ।

यस क्रममा प्रहरीले ४० मोटरसाइकल, ३ ट्र्याक्टर र २ अटो नियन्त्रणमा लिएको थियो । विशेष गरी लकडाउन उलंघन गरेर चलाइएका सवारी र हिँडिरहेका मान्छेलाई नियन्त्रणमा लिएर छाडिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । सुरुका दिनमा लकडाउन उलंघन गर्नेहरू बढी रहे पनि पछिल्लो समय घट्दै गएको केसीले जानकारी दिए ।

लकडाउन कार्यान्वयनका लागि झन्डै साढे ३ सय भन्दा बढी नेपाल प्रहरी परिचालन गरिएको छ । लकडाउन अनुगमन, माइकिङ जस्ता काम प्रहरीले गरिरहेको छ । यसको साथै जिल्लाका विभिन्न ठाउँमा नेपाल प्रहरीसँगै सशस्त्र सशस्त्र प्रहरी पनि परिचालन भएको छ ।

प्रहरीले देशबाहिरबाट आएकाहरूको तथ्यांक संकलन पनि गरिरहेको छ । हालसम्म भारत र अन्य देशबाट २५२ जना जिल्ला भित्रिएको डिएसपी केसीले जानकारी दिए । उनीहरूमध्ये २३ जना क्वारेन्टाइनमा राखिएको पनि उनले बताए ।

मुसीकोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा ७ र चौरजहारी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा १६ जना छन् ।

प्रकाशित : चैत्र १६, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?