कोभिड-१९ प्रभाव : संक्रमण भित्रिन नदिन हातेमालो- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड-१९ प्रभाव : संक्रमण भित्रिन नदिन हातेमालो

सरकारी निकाय र नागरिकस्तरबाटै सहरदेखि गाउँसम्म सचेतना अभियान सञ्चालन
कर्णाली प्रदेश ब्युरो

वीरेन्द्रनगर — कोरोना भाइरसको सम्भावित जोखिमलाई लिएर यहाँका प्रदेश र स्थानीय सरकारले उच्च सतर्कता अपनाएका छन् । दुवै तहका सरकारले अभियानमा हातेमालो गर्दै सचेतना र स्वास्थ्य परीक्षण तीव्र बनाएका छन् । संक्रमित देशबाट आउने कर्णालीवासीलाई राख्न क्वारेन्टाइन निर्माण पनि धमाधम भइरहको छ ।

प्रदेश सरकारको निर्देशनमा नेपाली सेनाले वीरेन्द्रनगरको खुलामञ्चमा आइतबारदेखि क्वारेन्टाइन निर्माण सुरु गरेको छ । सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को नयाँ भवनमा ६ सय र खुलामञ्चमा ४ सय बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । उत्तरपश्चिम पृतनाका सेनानी झपेन्द्रराज विसीले क्वारेन्टाइन क्षेत्रमा शौचालय र पिउने पानीको पनि व्यवस्था गरिने बताए । सरकारको निर्देशनअनुसार इन्जिनियरसँग सल्लाह गरेर काम भइरहेको उनको भनाइ छ ।


सरकारले शुक्रबार रेडियो नेपाल हातामा ४ सय र एमयूमा ६ सय बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । तर, सेनाले रेडियो नेपालमा उपयुक्त नहुने बताएपछि शनिबार बुलबुले उद्यानमा क्वारेन्टाइन बनाउने निस्कर्षमा सरकारी अधिकारी पुगेका थिए । सामाजिक विकासमन्त्री दल रावल र प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेले बुलबुलेमा क्वारेन्टाइन बनाउन वीरेन्द्रनगर नगरपालिकासँग अनुमतिसमेत लिई तयारी भएको जानकारी गराएका थिए । तर, सरकारले आइतबार पहिलो चरणमा बुलबुलेको साटो खुलामञ्चमा र एमयूमा क्वारेन्टाइन बनाउने निधो गरेको हो । प्रदेश सरकारद्वारा गठित उच्चस्तरीय अनुगमन समितिका संयोजकसमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले आवश्यक परेको खण्डमा बुलुबुलेमा पनि क्वारेन्टाइन बनाउन सकिने बताए ।

अस्पतालमा क्वारेन्टाइन

सल्यान जिल्ला अस्पतालमा २० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । कोरोना संक्रमणको शंका लागेका बिरामीको उपचार गर्न क्वारेन्टाइन स्थापना गरिएको हो ।


वार्डमा करिब ६ फिटको दूरीमा शय्या निर्माण गरिएको अस्पताल प्रमुख डा. अर्जुन वुढामगरले बताए । शारदा नगरपालिकाले २ करोड रुपैयाँ लगानीमा नयाँ भवन निर्माण गरेपछि क्वारेन्टाइन वार्ड बनाउन सजिलो भएको उनको भनाइ छ । वार्डका लागि प्रदेश सरकारले आवश्यक सामग्री पठाउँदैछ । ‘संक्रमण भएको लक्षण मिल्ने बिरामीलाई छुट्टै उपचारको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘मिल्दोजुल्दो लक्षण देखिएमा क्वारेन्टाइन वार्डमा १४ दिन राखेर उपचार गरिनेछ ।’ क्वारेन्टाइनका लागि दुई स्टाफ नर्स र एक अनमी प्रदेश सरकारले पठाउन लागेको उनले बताए ।


जिल्ला अस्पतालमा दैनिक एक सय ५० बिरामी उपचारका लागि आउने गरेका छन् । वार्ड तयार पारिए पनि व्यक्तिगत सुरक्षा उपकरण नहुँदा समस्या भएको अस्पतालका डा. प्रदीप शर्माले बताए । ‘शंका गरिएका बिरामीको रगतको नमूना टेकु अस्पताल पठाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीसँग उपलब्ध उपकरण जाँचमा प्रयोग भइरहेको छ ।’ कोरोनाको सक्रमणबाट बच्न अस्पतालमा उपचार गर्न आएका बिरामीलाई साबुनपानीले हात धुन लगाउने गरिएको उनले बताए ।

निःशुल्क मास्क वितरण

रुकुममा कोरोनाको संक्रमणबाट सतर्क रहन स्थानीय युवाले बादी समुदायलाई निःशुल्क मास्क वितरण गरेका छन् । आठबीसकोट नगरपालिका–११ का सुनिलकुमार विक, दिनेश भण्डारी र विशाल थापाले आफैं मास्क उत्पादन गरेर वितरण गरेका हुन् । बजारमा मास्कको अभाव भएकाले १७ बादी परिवारलाई मास्क वितरण गरिएको विकले बताए । उनका अनुसार एक सय वटा मास्क र ३० वटा नुहाउने साबुन बादीबस्तीमा गएर वितरण गरिएको हो । ‘पहिलो चरणमा डेढ सय मास्क उत्पादन गरेका थियौं, थप मास्क उत्पादन गरेर विपन्न समुदायमा वितरण गर्ने योजना छ,’ उनले भने, ‘बजारबाट कपडा किनेर मास्क उत्पादन गरिरहेका छौं ।’ त्यस्तै, सल्यानको त्रिवेणी गाउँपालिकाले मास्क उत्पादन गरी निःशुल्क वितरण थालेको छ । २० जना महिलालाई सिलाइकटाइ तालिम दिई मास्क उत्पादन गर्न थालिएको हो ।


गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका अनुसार प्रशिक्षार्थी महिलाले दैनिक तीन सय मास्क उत्पादन गरिरहेका छन् । पहिलो चरणमा उत्पादन भएको मास्क गाउँपालिकाका कर्मचारीलाई वितरण गरिएको छ । ‘मास्क उत्पादनलाई तीव्रता दिई सबै नागरिकलाई निःशुल्क वितरण गर्ने योजना छ,’ उनले भने, ‘मास्कले कोरोना भाइरसका किटाणु शरीरमा प्रवेश गर्न रोक्नेछ, धुँवाधुलोबाट समेत बचाउनेछ ।’


समूहमा हिँड्न बन्देज

प्रदेश सरकारले समूह वा भीड बनाएर हिँड्ने वा बस्नेलाई तत्काल पक्राउ गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको छ । उच्चस्तरीय अनुगमन समितिको बैठकमा मन्त्री भण्डारीले यस्तो निर्देशन दिएका हुन् । ‘ड्रोन र स्थलगत रुपमा सुरक्षा निकायले अनुगमन गर्नुस्,’ उनले भने, ‘अटेर गर्नेलाई तत्काल पक्राउ गर्नुस् ।’ मन्त्री भण्डारीले बालबालिकालाई पनि घर बाहिर गएर खेल्न र भीडमा जान नदिन अभिभावकलाई आग्रह गरे । प्रदेश सरकारले आइतबारदेखि लागू हुनेगरी राति १० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक गाडी चल्न नदिने निर्णय गरिसकेको छ ।

दहीखोलामा हेल्थ डेस्क

कालीकोट र दैलेखको सिमाना दहीखोलामा जिल्ला बाहिरबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्क स्थापना हुने भएको छ । कालीकोटको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न देश र जिल्ला बाहिरबाट आउने यात्रुको जाँचका लागि डेस्क स्थापनाको निर्णय गरेको हो ।


जिल्लाका ९ वटै स्थानीय तहबाट मजदुरी गर्न र हिउँदे व्यापार गर्न भारतलगायत देश गएका स्थानीयबासी फर्कने बेला भएकाले कोरोनाको संक्रमणबाट बच्न र बचाउन सबै स्थानीय तहका एक/एक स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी हेल्थ डेस्कमा खटाइनेछ । शंका लागेका व्यक्तिलाई १४ दिनसम्म निगरानीमा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला अस्पतालका प्रमुख डा. विज्ञान प्रजापतिको नेतृत्वमा आरआरटी (र्‍यापिड सेस्पोन्स टीम) गठन गरेको छ ।


बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रुबाहक गाडी कर्णाली राजमार्गमा सञ्चालन गर्न नदिने, कालोबजारी गर्नेलाई कारबाही गर्ने र चैत २१ गतेसम्म कुनै पनि सार्वजजिक कार्यक्रम नगर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्ममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले आइतबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । रास्कोट नगरपालिकाले सान्नीगाड, पचाल झरनाको भात्तडीमा र तिलागुफाको गाल्जेमा स्वास्थ्य परीक्षण तथा सोधपुछ डेस्क स्थापना गरेको छ ।

कारागारमा कडाइ

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सुर्खेत कारागारमा कैदीबन्दीलाई आफन्तसँग भेट्न रोक लगाइएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार प्रशासनले उच्च सतर्कता अपनाइएको जनाएको छ ।


३५ जनाको क्षमता रहेको कारागारमा अहिले २ सय ६५ कैदीबन्दी बस्दै आएका छन् । सानो ठाउँ भएकाले कैदीबन्दीलाई एकै ठाउँमा राख्नुपरेको प्रमुख जेलर लक्ष्मी खरेलले बताइन् । उनका अनुसार संक्रमणको जोखिम बढेपछि प्रत्येक साता जाँचको व्यवस्था मिलाइएको छ । ‘मास्क र सेनिटाइजरको व्यवस्था पनि गरिएको छ,’ उनले भनिन्, ‘केही समयका लागि आफन्तसँग भेट्न रोक लगाएका छौं ।’ जाजरकोट कारागारमा पनि ६० जना कैदीबन्दी छन् । १५ जनाको क्षमता भएको कारागारमा चार गुणा कैदीबन्दी हुँदा संक्रमण रोक्न चुनौती हुने गरेको जेलर तेजविक्रम शाहले बताए । ‘गत वर्षसम्म भाइरलको त्रास थियो, यो वर्ष कोरोनाको डर छ,’ उनले भने, ‘संक्रमण भित्रन नदिन सबैखाले सतर्कता अपनाएका छौं ।’


दैलेख कारागारमा भने कैदीबन्दीले मास्क उत्पादन गरिरहेका छन् । पहिलो चरणमा उत्पादन गरिएको एक सय थान मास्क जिल्ला प्रशासन कार्यालयमा बुझाइएको हो । जेलर जीतबहादुर खत्रीले बजारमा अभाव भएपछि कारागारमा मास्क उत्पादनलाई तीव्रता दिएको बताए । संक्रमणको जोखिम बढेपछि कारागारको चौरमा पाँचजना भन्दा बढीलाई सँगै बस्न नदिएको उनको भनाइ छ । उनका अनुसार कारागारमा एक सय ५० कैदीबन्दीले सजाय भुक्तान गरिरहेका छन् ।


जुम्ला ‘लकडाउन’

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सोमबारदेखि आइतबारसम्म जुम्लालाई ‘लकडाउन’ गरेको छ । रोजगारी र हिउँदे व्यापारमा भारत गएकाहरू धमाधम घर फर्किन थालेपछि यस्तो निर्णय लिनु परेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । ‘अत्यावश्यक सामग्री व्यवस्थापन गर्न, क्वारेन्टाइन र आइसोलेसन सेन्टर सञ्चालन गर्न समिति गठन गरेका छौं,’ उनले भनिन्, ‘जुम्ला विमानस्थल र जिल्ला प्रवेशको नाका नाग्ममा हेल्थ डेस्क स्थापना गरिएको छ ।’ जुम्ला बहुमुखी क्याम्पसलाई क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर बनाउने समितिले निर्णय गरेको बञ्जाडेले बताइन् ।


व्यवसाय बन्द

सुर्खेत उद्योग वाणिज्य संघले सोमबारदेखि अनिश्चितकालको लागि अत्यावश्यकबाहेकका व्यापारिक फर्महरू बन्द गर्ने निर्णय गरेको छ । संघको कार्यसमिति र वस्तुगत समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको महासचिव लक्ष्मण कँडेलद्वारा जारी अपिलमा उल्लेख छ ।


खाद्य तथा किराना पसल, मेडिकल, तरकारी पसल, खाजानास्ता पसल र पेट्रोल पम्पलाई भने सावधानीपूर्वक सेवा प्रवाह गर्न आग्रह गरिएको छ । यस्तो विपद्को बेला कुनै पनि वस्तुमा कालोबजारी नगर्न पनि अपिल गरिएको छ ।


-तुलाराम पाण्डे (कालीकोट),ज्योति कटुवाल (सुर्खेत), चाँदनी कठायत (वीरेन्द्रनगर), विप्लव महर्जन (सल्यान), हरि गौतम (रुकुम पश्चिम) र एलपी देवकोटा (जुम्ला)

प्रकाशित : चैत्र १०, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

गाउँगाउँमा अस्पताल

तीनै तहका सरकारको सहकार्यमा गाउँमा अस्पताल खुल्न थालेपछि स्थानीय खुसी  
कर्णाली प्रदेश ब्युरो

(सुर्खेत) — फागुन पहिलो साता रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १५ शय्याको अस्पताल सुरु गर्‍यो । ७ नम्बर वडाको छोटेबगरस्थित सिम्ली स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाइएको हो । अस्पतालमा डा. कविन बस्नेत नेतृत्वमा स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेका छन् ।

सानीभेरीभन्दा अघि आठबीसकोट नगरपालिकाले ०७५ असोज १२ गतेदेखि २५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको थियो । १७ महिनाअघि सुरु गरिएको अस्पतालका लागि प्रदेश र स्थानीय सरकारको ५०/५० प्रतिशत लगानीमा व्यवस्थित भवन निर्माणको काम भइरहेको छ ।

रुकुम पश्चिममा मात्र होइन, कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा अहिले अस्पतालहरू खुल्ने क्रम बढेको छ । सम्बन्धित स्थानीय तहको अग्रसरतामा प्रदेश र केन्द्र सरकारको सहयोगमा अस्पतालहरू खुलिरहेका छन् । जुम्लाको कनकासुन्दरी र हिमा गाउँपालिकामा पनि १५/१५ शय्याको अस्पताल बन्दैछन् । कनकासुन्दरीले हाडसिँजा र हिमाले कालिकाखेतुमा १५ शय्याको अस्पताल निर्माणको प्रक्रिया थालेको हो । हाडसिँजास्थित इलाका स्वास्थ्यचौकी र हिमाको प्राथमिक स्वास्थ्य केन्द्र, कालिकाखेतुलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्न थालिएको हो । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले संघीय सरकारको ८० र गाउँपालिकाको २० प्रतिशत लगानीमा अस्पताल बनाउन लागिएको बताए । अस्पताल भवन र अन्य संरचना निर्माण गर्न पाँच हजार वर्गमिटर जग्गा आवश्यक पर्ने उनको भनाइ छ । ‘नि:शुल्क जग्गाका लागि स्थानीयबासीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘जग्गा प्राप्त हुनवित्तिकै भवन निर्माणको काम सुरु हुनेछ ।’

गाउँपालिकामा अस्पताल निर्माण भएपछि स्थानीयबासीको उपचार सहज हुनेछ । नेपालको संविधानमा हरेक गाउँपालिकामा १५ शय्याको अस्पताल हुने व्यवस्था भएबमोजिम अस्पताल निर्माण हुन लागेको अध्यक्ष शाहीले बताए । उनका अनुसार अस्पताल सञ्चालनको लागि कार्यविधि निर्माणको काम पनि भइरहेको छ ।

हाडसिँजामा भने स्थानीयबासीले सात रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएका छन् । जग्गा उपलब्ध भएपछि भवन निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरिएको इलाका स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए । उनका अनुसार स्थानीयबासी रविलाल आचार्य, नाना आचार्यलगायत स्थानीय बासिन्दाले झण्डै ३० लाख मूल्यको जग्गा दान गरेका छन् । अस्पताल प्रयोजनका लागि तीनवटा भवन निर्माण हुने उनले बताए ।

अस्पताल निर्माणका लागि गत माघ २८ गते स्वास्थ्य मन्त्रालयमा निर्माण प्रक्रियाको फाइल दर्ता भएको थियो । अस्पतालमा आवश्यक उपकरण आइसकेको उनले बताए । जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट करिब चार लाख रुपैयाँको सामान स्वास्थ्यचौकीमा पुगेको छ । दैलेखमा चार स्थानीय तहले अस्पताल निर्माणको काम सुरु गरेका छन् । चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी भगवतीमाई गाउँपालिकाले भवन निर्माणलाई तीव्रता दिएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिका तथा महावु र भैरवी गाउँपालिकाले पनि संघीय सरकारबाट अस्पताल निर्माणका लागि आवश्यक स्वीकृति लिइसकेका छन् ।

अस्पताल भवन निर्माणका लागि यस वर्ष भगवतीमाई गाउँपालिकाबाट ६७ लाख र प्रदेश सरकारमार्फत एक करोड रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर थापाले सामान्य चेकजाँचका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन गाउँमै अस्पताल खोल्न लागिएको बताए । ‘अस्पताल सञ्चालनमा आए उपचारका लागि सदरमुकाम र सुर्खेत पुग्नुपर्ने बिरामीको बाध्यता हट्नेछ,’ उनले भने, ‘अहिले भवन निर्माणको कामलाई तीव्रता दिएका छौं, उपकरण खरिद र कार्यविधि निर्माणको प्रक्रिया पनि अघि बढेको छ ।’ महावु गाउँपालिकामा अस्पताल निर्माणका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष जंगबहादुर शाहीले बताए । उनका अनुसार गत वर्षमै अस्पताल निर्माणको प्रक्रिया सुरु गरिएको थियो ।

महावुमा तीनै तहका सरकारको करिब नौ करोड रुपैयाँ लगानीमा अस्पताल निर्माण हुँदै छ । ‘अधिकांश बासिन्दा आधारभूत स्वास्थ्य सुविधाबाट टाढा छन्,’ उनले भने, ‘गाउँमै स्तरीय उपचार पाउने बिरामीको सपना छिट्टै पूरा हुनेछ ।’ गाउँपालिकाले अस्पताल निर्माणका लागि गत वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको थियो । भैरवीले अस्पताल भवन निर्माणको काम सुरु गरेको छ । पूर्वाधारको रुपमा एम्बुलेन्सलगायत साधन खरिद गरिसकेको जनाएको छ । सहरी विकास कार्यालयको तीन करोड रुपैयाँ लगानीमा अस्पताल भवन निर्माण सुरु भएको अध्यक्ष प्रेम बुढाले बताए । दैलेखमा अहिले जिल्ला अस्पताल र दुल्लु अस्पताल सञ्चालनमा छन् ।

सय शय्याको ट्रमा सेन्टर
दैलेखको राकम कर्णालीमा सय शय्याको ट्रमा सेन्टर (अस्पताल) निर्माण हुने भएको छ । अस्पताल निर्माणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र आठबीस नगरपालिकाबीच गत शनिवार सम्झौता गरिएको थियो ।
नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । निर्देशक गोसाईंका अनुसार तत्काल सेवा सञ्चालन गर्न एक्स–रे मेसिन, ल्याबलगायत सामग्री र चिकित्सकको तलबभत्ताको व्यवस्था नगरपालिकाले गर्नेछ । प्रतिष्ठानले चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने उनले जानकारी दिए ।
नगरपालिकाले अस्पतालका लागि एक सय पाँच रोपनी जग्गा उपलव्ध गराउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तयारी सुरु गरेको जनाएको छ । अस्पताल निर्माण भए अछाम, दैलेख, कालीकोटलगायत जिल्लाका बिरामीले सहज उपचार पाउनेछन् ।
हरि गौतम (रुकुम पश्चिम), एलपी देवकोटा (जुम्ला) र ज्योति कटुवाल (दैलेख)

प्रकाशित : फाल्गुन २९, २०७६ ०९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×