कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँगाउँमा अस्पताल

तीनै तहका सरकारको सहकार्यमा गाउँमा अस्पताल खुल्न थालेपछि स्थानीय खुसी  
कर्णाली प्रदेश ब्युरो

(सुर्खेत) — फागुन पहिलो साता रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १५ शय्याको अस्पताल सुरु गर्‍यो । ७ नम्बर वडाको छोटेबगरस्थित सिम्ली स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाइएको हो । अस्पतालमा डा. कविन बस्नेत नेतृत्वमा स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेका छन् ।

गाउँगाउँमा अस्पताल

सानीभेरीभन्दा अघि आठबीसकोट नगरपालिकाले ०७५ असोज १२ गतेदेखि २५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको थियो । १७ महिनाअघि सुरु गरिएको अस्पतालका लागि प्रदेश र स्थानीय सरकारको ५०/५० प्रतिशत लगानीमा व्यवस्थित भवन निर्माणको काम भइरहेको छ ।


रुकुम पश्चिममा मात्र होइन, कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा अहिले अस्पतालहरू खुल्ने क्रम बढेको छ । सम्बन्धित स्थानीय तहको अग्रसरतामा प्रदेश र केन्द्र सरकारको सहयोगमा अस्पतालहरू खुलिरहेका छन् । जुम्लाको कनकासुन्दरी र हिमा गाउँपालिकामा पनि १५/१५ शय्याको अस्पताल बन्दैछन् । कनकासुन्दरीले हाडसिँजा र हिमाले कालिकाखेतुमा १५ शय्याको अस्पताल निर्माणको प्रक्रिया थालेको हो । हाडसिँजास्थित इलाका स्वास्थ्यचौकी र हिमाको प्राथमिक स्वास्थ्य केन्द्र, कालिकाखेतुलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्न थालिएको हो । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले संघीय सरकारको ८० र गाउँपालिकाको २० प्रतिशत लगानीमा अस्पताल बनाउन लागिएको बताए । अस्पताल भवन र अन्य संरचना निर्माण गर्न पाँच हजार वर्गमिटर जग्गा आवश्यक पर्ने उनको भनाइ छ । ‘नि:शुल्क जग्गाका लागि स्थानीयबासीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘जग्गा प्राप्त हुनवित्तिकै भवन निर्माणको काम सुरु हुनेछ ।’


गाउँपालिकामा अस्पताल निर्माण भएपछि स्थानीयबासीको उपचार सहज हुनेछ । नेपालको संविधानमा हरेक गाउँपालिकामा १५ शय्याको अस्पताल हुने व्यवस्था भएबमोजिम अस्पताल निर्माण हुन लागेको अध्यक्ष शाहीले बताए । उनका अनुसार अस्पताल सञ्चालनको लागि कार्यविधि निर्माणको काम पनि भइरहेको छ ।


हाडसिँजामा भने स्थानीयबासीले सात रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएका छन् । जग्गा उपलब्ध भएपछि भवन निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरिएको इलाका स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए । उनका अनुसार स्थानीयबासी रविलाल आचार्य, नाना आचार्यलगायत स्थानीय बासिन्दाले झण्डै ३० लाख मूल्यको जग्गा दान गरेका छन् । अस्पताल प्रयोजनका लागि तीनवटा भवन निर्माण हुने उनले बताए ।


अस्पताल निर्माणका लागि गत माघ २८ गते स्वास्थ्य मन्त्रालयमा निर्माण प्रक्रियाको फाइल दर्ता भएको थियो । अस्पतालमा आवश्यक उपकरण आइसकेको उनले बताए । जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट करिब चार लाख रुपैयाँको सामान स्वास्थ्यचौकीमा पुगेको छ । दैलेखमा चार स्थानीय तहले अस्पताल निर्माणको काम सुरु गरेका छन् । चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी भगवतीमाई गाउँपालिकाले भवन निर्माणलाई तीव्रता दिएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिका तथा महावु र भैरवी गाउँपालिकाले पनि संघीय सरकारबाट अस्पताल निर्माणका लागि आवश्यक स्वीकृति लिइसकेका छन् ।


अस्पताल भवन निर्माणका लागि यस वर्ष भगवतीमाई गाउँपालिकाबाट ६७ लाख र प्रदेश सरकारमार्फत एक करोड रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर थापाले सामान्य चेकजाँचका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन गाउँमै अस्पताल खोल्न लागिएको बताए । ‘अस्पताल सञ्चालनमा आए उपचारका लागि सदरमुकाम र सुर्खेत पुग्नुपर्ने बिरामीको बाध्यता हट्नेछ,’ उनले भने, ‘अहिले भवन निर्माणको कामलाई तीव्रता दिएका छौं, उपकरण खरिद र कार्यविधि निर्माणको प्रक्रिया पनि अघि बढेको छ ।’ महावु गाउँपालिकामा अस्पताल निर्माणका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष जंगबहादुर शाहीले बताए । उनका अनुसार गत वर्षमै अस्पताल निर्माणको प्रक्रिया सुरु गरिएको थियो ।


महावुमा तीनै तहका सरकारको करिब नौ करोड रुपैयाँ लगानीमा अस्पताल निर्माण हुँदै छ । ‘अधिकांश बासिन्दा आधारभूत स्वास्थ्य सुविधाबाट टाढा छन्,’ उनले भने, ‘गाउँमै स्तरीय उपचार पाउने बिरामीको सपना छिट्टै पूरा हुनेछ ।’ गाउँपालिकाले अस्पताल निर्माणका लागि गत वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको थियो । भैरवीले अस्पताल भवन निर्माणको काम सुरु गरेको छ । पूर्वाधारको रुपमा एम्बुलेन्सलगायत साधन खरिद गरिसकेको जनाएको छ । सहरी विकास कार्यालयको तीन करोड रुपैयाँ लगानीमा अस्पताल भवन निर्माण सुरु भएको अध्यक्ष प्रेम बुढाले बताए । दैलेखमा अहिले जिल्ला अस्पताल र दुल्लु अस्पताल सञ्चालनमा छन् ।


सय शय्याको ट्रमा सेन्टर

दैलेखको राकम कर्णालीमा सय शय्याको ट्रमा सेन्टर (अस्पताल) निर्माण हुने भएको छ । अस्पताल निर्माणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र आठबीस नगरपालिकाबीच गत शनिवार सम्झौता गरिएको थियो ।

नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । निर्देशक गोसाईंका अनुसार तत्काल सेवा सञ्चालन गर्न एक्स–रे मेसिन, ल्याबलगायत सामग्री र चिकित्सकको तलबभत्ताको व्यवस्था नगरपालिकाले गर्नेछ । प्रतिष्ठानले चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने उनले जानकारी दिए ।

नगरपालिकाले अस्पतालका लागि एक सय पाँच रोपनी जग्गा उपलव्ध गराउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तयारी सुरु गरेको जनाएको छ । अस्पताल निर्माण भए अछाम, दैलेख, कालीकोटलगायत जिल्लाका बिरामीले सहज उपचार पाउनेछन् ।

हरि गौतम (रुकुम पश्चिम), एलपी देवकोटा (जुम्ला) र ज्योति कटुवाल (दैलेख)

प्रकाशित : फाल्गुन २९, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?