कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा चैतेलो रौनक

छपाल लामा

हुम्ला — जिल्लाका विभिन्न गाउँमा चैतेलो पर्वको रौनक सुरु भएको छ । सिमकोट गाउँपालिकाको १, २, ५ र ६ नम्बर वडाका क्षेत्री समुदायले ‘चैतेलो’ लाई मुख्य पर्वको रुपमा मनाउँदै आएका छन् ।

गाउँमा चैतेलो रौनक

सोमबार सुरु भएको चैतेलो जिल्लाका विभिन्न बस्तीमा एक सातासम्म चल्नेछ । देवीदेउताको पूजापाठसँगै नाचगान र मिष्टान्न भोजन गरी चैतेलो मनाउने गरिएको छ । वर्षौंपछि आफन्तसँग भेटघाट गर्ने पर्वको रूपमा पनि चैतेलोलाई लिइन्छ । चैतेलोका अवसरमा देउताको मन्दिरमा पूजापाठ गरे मनकांक्षा पूरा हुने, बालीनाली सप्रने र दीर्घायु भइने जनविश्वास रहेको स्थानीय अगुवा पदम रोकायाले बताए । उनका अनुसार सदरमुकाम आसपासका क्षेत्रमा तीन दिनसम्म मात्र मनाइने यो पर्व गाउँमा एक सातासम्म मनाइन्छ ।


क्षेत्री समुदाय सार्वजनिक स्थान र देवीदेउताका मन्दिरमा जम्मा भई सामूहिक पूजाआजा गर्छन् । पर्वको अवसरमा मंगल, फाक, डमरीलगायत परम्परागत गीत गाउने र नाचगान गर्ने परम्परा छ । युवा–युवतीले मध्यरातसम्म दौंतरी मिलाई देउडा खेलेर रमाइलो गर्ने गरेको रोकायाले बताए । उनका अनुसार ‘चैतेलो’ पर्वकै अवसरमा गाउँमा युवा–युवतीबीच मागीविवाह गराउने प्रचलन छ । ‘हाम्रा लागि दसैं–तिहारभन्दा चैतेलो ठूलो चाड हो,’ उनले भने, ‘नयाँ लुगा लगाउने, मीठो खाने र आफन्तसँग खुसी साट्ने पर्वको रुपमा पुस्तौंदेखि चैतेलो मनाइरहेका छौं ।’ उनले पर्वको अवसरमा विभिन्न मन्दिरमा दैनिक पूजाआजा चलाइने गरिएको सुनाए ।


चैतेलो पर्वकै अवसरमा गाउँमा मेला लगाई विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । गाउँगाउँमा छेलो फाल्ने, चौडाल, भाक्पा, देउडालगायत प्रतियोगिता आयोजना गरिएका छन् । स्थानीय संस्कृतिका जानकार धर्मजीत रोकायाले दौरा–सुरुवाल, ढाकाको टोपी, ऊनको बक्खुलगायत कपडा लगाएर पर्व मनाउने गरिएको बताए । पुराना संस्कृतिप्रति युवापुस्ताको ध्यान नजाँदा पर्वको महत्त्व घट्दै गएको उनले गुनासो गरे ।


सिमकोटकी ७१ वर्षीया उक्कली रोकायाले मोबाइल, आधुनिक बाजा र गीतसंगीतका कारण चैतेलोमा गाउने चुट्किला, फाक, डमरी, मंगललगायत गीत हराउँदै गएको गुनासो गरिन् । उनका अनुसार महिलाले विभिन्न पर्वमा लगाउने चाादीका कम्पनी माला, चक्ररी, कल्लीलगायत गहना र कपालमा बाटिने कौराको चलन हराएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?