कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक पुग्यो, बजार बस्यो

दुई वर्षअघि जम्मा ५ वटा होटल रहेको थिर्पुमा अहिले ४१ वटा पुगिसके 
तुलाराम पाण्डे

थिर्पु, कालिकोट — दुई वर्ष अघिसम्म थिर्पुको ज्युलो भनेर चिनिन्थ्यो । अलग्गै नाम थिएन । सडक पुगेपछि भने त्यही ज्युलो बजारमा परिणत भएको छ । नाम पनि जुरेको छ, बाख्रेबजार ।

सडक पुग्यो, बजार बस्यो

पलाँता गाउँपालिका–९, बाख्रेबजारमा अहिले खिन, धौलागोह, थिर्पुलगायत गाउँका बासिन्दाको चहलपहल बढेको छ । स्थानीयले कृषि उत्पादन बाख्रेबजारबाटै बाहिर पठाउँछन् । दैनिक उपभोग्य सामग्री र खाद्यान्न खरिद गरेर लैजान्छन् । कर्णाली करिडोर हुँदै जिल्ला सदरमुकाम मान्मसम्म सडक सञ्जाल जोडिएपछि बाख्रेबजार गुल्जार बन्दै गएको छ ।


सशस्त्र द्वन्द्वको समयमा गाउँ छाडेर गएका २७ परिवारले अहिले फर्किएर व्यवसाय सुरु गरेका छन् । सडकसँगै अन्य अवसर पनि गाउँ आएपछि फर्किएको स्थानीय दुदा बमले बताइन् । ‘रोड आएपछि गाउँमै बजार बन्यो,’ उनले भनिन् ‘व्यापार व्यवसाय फस्टाउने भएपछि यतै फर्कियौं ।’ सदरमुकाम मान्म, जिते, लालीघाटलगायत बजार छाडेर थिर्पुमै फर्किनेको संख्या बढ्दै गएको उनले बताइन् ।


पहिले हाटबजार खोज्दै बर्दियाको राजापुर पुगेको सुनाउने पलाता–८, सुनाबाडाका ६२ वर्षीय कटक बमले सडकसँगै बजार नजिक आएको बताए । ‘पहिले त केही सामान किन्न राजापुर पुग्नुपर्थ्यो, पछि कैलालेको कटासे, चिसापानी, सुर्खेत, टुनिबगरलगायत ठाउँमा बजार सर्‍यो,’ उनले भने, ‘राकम खिड्कीज्युला, जिते, लालीघाट, भुराबगर हुँदै अहिले थिर्पुमै बजार बन्यो ।’उनले मासिक प्रतिमिटर १ सय ५० रुपैयाँका दरले पाँच मिटर जग्गा भाडामा लिएर टहरो निर्माण गरी खुद्रा पसल चलाएका छन् । पसलको आम्दानीबाट दुई नातिनीको पढाइ र घरखर्च टारिरहेको उनले बताए ।


दुई वर्षअघिसम्म मुस्किलले पाँचवटा होटल रहेको थिर्पुमा अहिले ४१ होटेल छन् । प्रेम होटलकी सञ्चालक जानकी बमले होटलको संख्या धेरै भएपछि खाना खुवाउने प्रतिस्पर्धा चल्न थालेको बताइन् । प्रतिस्पर्धा बढेपछि बाहिरका पाहुनालाई स्थानीय मार्सी चामलको भात र अर्गानिक तरकारी खुवाउन थालेको उनको भनाइ छ ।


थिर्पुको बाख्रेबजारदेखि तिबगाड खोलासम्म एक सयभन्दा बढी फेन्सी, खाद्य र खुद्रा पसल सञ्चालनमा रहेको थिर्पुबजार व्यवस्थापन समितिका अध्यक्ष हर्ष बमले बताए । उनले सबै पसल तथा होटल दर्ता गर्न र बजारलाई व्यवस्थित बनाउन समिति लागिपरेको जानकारी दिए । उनका अनुसार बजारमा २० जनाले जग्गा भाडामा लगाएर मासिक १० देखि ५० रुपैयाँसम्म हजारम्म कमाइ गरिरहेका छन् । सडक नहुँदा खेतबारीको कमाइले वर्ष–दिनलाई खान पुगे पनि जग्गा भाडामा दिँदा मासिक ३० हजार रुपैयाँ कमाइ भइरहेको स्थानीय कृष्ण न्यौपानेले बताए । बजार बनेपछि पलाताबासी खाद्यान्न तथा लत्ताकपडा खरिद गर्न सदरमुकाम मान्मलगायत बजार जान छोडेको उनको भनाइ छ । ‘गाउँमै बजार छ, सडकले कृषिजन्य उत्पादनको भाउ बढाएको छ, मान्मकै मूल्यमा सबै सामान यहीँ पाइन्छ,’ उनले भने, ‘घण्टौं हिड्नुपर्ने बाध्यता टर्‍यो ।’


सडक निर्माण गरेर बजारीकरणलाई महत्त्व दिइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘सबै ठाउँमा सडकसँगै विद्युत्, सञ्चार, खानेपानी, सिँचाइलगायत पूर्वाधार योजना सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘सडक पुगेपछि गाउँको मुहारै फेरिएको छ ।’ उनका अनुसार सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न गाउँपालिकाले केही व्यवसायीलाई सहयोग गरिरहेको छ ।

प्रकाशित : फाल्गुन १६, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?