कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्रीसँग ‘हाम्मा कुडा’

लामा बस्तीमा तारेचुक पेल्ने मेसिनदेखि भाषा–संस्कृति संरक्षणको नीति ल्याउन माग
छपाल लामा

हुम्ला — जनताका कुरा सुन्न गाउँ पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई स्थानीय लामा समुदायका अगुवाले सरकारको अनुभूति हुने गरी काम गर्न सुझाव दिएका छन् । उनीहरूले विकास निर्माणका साथै भाषा, संस्कृतिको संरक्षण गर्न सरकारलाई आग्रह गरे ।

मुख्यमन्त्रीसँग ‘हाम्मा कुडा’

मुख्यमन्त्री शाही ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रमका लागि सिमकोट गाउँपालिका–४, बुरौसे पुगेका थिए । कर्णाली प्रदेश सरकारले १० वटै जिल्लाका स्थानीय र मुख्यमन्त्रीबीच प्रत्यक्ष अन्तरसंवाद गर्ने गरी यो कार्यक्रम तय गरेको छ । मंगलबार आफ्नो घरआँगनमै आइपुगेका मुख्यमन्त्रीसँग स्थानीयले लामा बस्तीको आर्थिकस्तर बृद्धि गर्न सडक निर्माण, प्रत्येक गाउँमा होमस्टे स्थापना, कृषिजन्य सामग्रीको बजारीकरण र रोजगारीको व्यवस्था गर्न माग गरे । ‘संघीय व्यवस्था आयो, हाम्रा दुःख उस्ताका उस्तै छन्,’ स्थानीय अगुवा पदम लामाले भने, ‘सबै सरकार हाम्रा आधारभूत आवश्यकता पूरा गर्न कहिले गम्भीर बन्ने होलान् ?’


बुरौसेको दुध्यदहताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय बाक्ली लामाले माग गरिन् । ‘गाउँसम्म सडक निर्माण गरे ताललाई पर्यटकीय गन्तव्य बनाउन सजिलो हुन्थ्यो,’ उनले भनिन्, ‘प्रदेश सरकारले लामा संस्कृति जोगाउने गरी कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।’ उनले गाउँमै सहज उपचारको व्यवस्थाका लागि पर्याप्त औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गर्न आग्रह गरिन् ।


बुरौसेमा तारेचुकको खेती हुने भएकाले बजारीकरणमा सहयोग गर्न स्थानीय पेमा लामाको आग्रह थियो । मेसिन नहुँदा चुक पेलेर बजार पुर्‍याउन नसकिएको उनले बताइन् । गाउँलाई तारेचुकको पकेट क्षेत्र घोषणा गरी खेतीदेखि बजारीकरणसम्म प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ । उनले विकासको पहिलो आधार सडक भएकाले आसपासका गाउँसम्म सडक विस्तार गर्नुपर्ने उनको माग छ ।


स्थानीय अगुवा तारासिंह लामाले परापूर्वकालदेखि लामा समुदायमा चल्दै आएका विभिन्न संस्कृतिको भेषभुषा संरक्षणको माग गरे । लामा संस्कृति, नाच, बाजा, भेषभूषा र रहनसहन संरक्षण गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्ने उनको माग थियो । ‘हामीले हाम्रो संस्कृति सबैलाई देखाउने वातावरण बनाइयोस्,’ उनले भने, ‘उनबाट उत्पादन हुने कपडा र पोशाक बजार पुर्‍याउन सरकारले सहयोग गरोस् ।’ उनले गाउँसम्म बिजुली पुर्‍याए आफूहरूले विकासको अनुभूति गर्ने बताए । जनतासँग गरेका बाचा पूरा गर्न पनि उनले मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।


जनताको घरदैलोमा पुगी जनताको अवस्था, समस्या र माग बुझ्न हुम्ला आइपुगेको मुख्यमन्त्री शाहीले बताए । ‘बुरौसीबासीको समस्या सुन्न पाउँदा निकै खुसी छु, उहाँहरूका माग क्रमशः सम्बोधन हुनेछन्,’ उनले भने, ‘कर्णालीलाई सुखी र समृद्ध प्रदेश बनाउन प्रदेश सरकार लागिपरेको छ ।’ उनले लामाबस्तीमा पुगेर लामा भेषभुषामै सजिएर स्थानीयका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । सामाजिक विकासमन्त्री दल रावलले बिरामीलाई गुणस्तरीय उपचार प्रदान गर्ने गरी गाउँमा स्वास्थ्यचौकी स्थापना गरिने प्रतिबद्धता जनाए ।


मुख्यमन्त्री शाही अन्तरसंवादमा लामा पोशाकमै सहभागी भएका थिए । लामा गीतमा उनी स्थानीयसँग नाचमा समेत सामेल भएका थिए ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?