कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भर्ना अभियानमा ढिलाइ

फागुन ४ बाट नयाँ शैक्षिक सत्र सुरू भए पनि बाहिरी जिल्लाका शिक्षक नआउनु, हिउँ नपग्लिनु र जाडो छल्न बेंसी गएका स्थानीय नफर्किएका कारण हुम्लाका अधिकांश विद्यालयमा भर्ना अभियान सुरू भएको छैन ।
छपाल लामा

हुम्ला — नयाँ शैक्षिक सत्र सुरु भएको एक साता बितिसक्दा पनि हुम्लाका अधिकांश विद्यालयमा भर्ना अभियान सुरु भएको छैन । यसले विद्यार्थी अन्योलमा परेका छन् । 

प्रायः शिक्षक विद्यालयमा उपस्थित हुन नसकेका कारण नयाँ कक्षा सुरु हुन नसकेको विद्यार्थीहरू बताउँछन् । मंसिर पहिलो साता वार्षिक परीक्षा सकेर घर गएका शिक्षक नफर्किएका कारण पठनपाठनमा ढिलाइ भएको इकाइ प्रमुख विष्णुबहादुर शाहीले स्वीकारे । उनका अनुसार जिल्लाभर पाँच सय १३ शिक्षक कार्यरत छन् । स्थानीय शिक्षकको संख्या न्यून रहेकाले बर्सेनि समयमै शैक्षिक सत्र सञ्चालन गर्न समस्या रहेको उनले दुखेसो गरे । ‘भर्ना अभियान सकिएर पनि पठनपाठन सुरु हुनुपर्ने बेला हो,’ उनले भने, ‘करिब ६० प्रतिशत स्थायी शिक्षक जिल्लाबाहिरका हुँदा समस्या भयो ।’


हिमाली जिल्लामा हिमपात र अत्यधिक जाडोका कारण फागुनबाट नयाँ शैक्षिक सत्र सुरु भई कात्तिकमा सकिन्छ । शिक्षा विकास तथा समन्वय इकाइले सबै सामुदायिक विद्यालयलाई फागुन ४ बाट विद्यालय खोल्न निर्देशन दिएको थियो । तर अधिकांशले उक्त निर्देशनको पालना गरेका छैनन् । अहिले सदरमुकाम सिमकोटका केही सामुदायिक विद्यालयले मात्र भर्ना खुलाएका छन् ।


सदरमुकामस्थित मानसरोवर, बालमन्दिर, सीता, रलिङ र कैलाश माध्यमिक विद्यालयमा भने भर्ना अभियान चलिरहेको छ । ती विद्यालयले इकाइको निर्देशनबमोजिम नै भर्ना अभियान थालेका हुन् । बालमन्दिर माविकी शिक्षक मधु शाही बस्नेतले भर्ना अभियान फागुन १६ सम्म जारी रहने बताइन् । उनका अनुसार फागुन १८ बाट पठनपाठन सुरु गर्ने विद्यालयको तयारी छ ।


आइपुगेन नयाँ पाठ्यपुस्तक

संघ सरकारले पनि वैशाखको नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै भर्ना अभियान सञ्चालन गर्ने गरेकाले दुर्गमका विद्यालय खुल्न समस्या भएको इकाइको ठहर छ । सामुदायिक विद्यालयका लागि नयाँ पाठ्यपुस्तकसमेत जिल्ला नआइपुगेको इकाइ प्रमुख शाहीले बताए । ‘नयाँ भर्ना अभियान सुरु भइसक्दा समेत जिल्लामा नयाँ पाठ्यपुस्तक आएको छैन,’ उनले भने, ‘यसले समग्र शैक्षिक सत्रको पठनपाठनमै समस्या हुन्छ ।’ गत वर्ष हुम्लामा करिब १७ हजार विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत थिए । निजी विद्यालयमा भने माघ १७ बाटै नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भइसकेको छ ।


हिमपात र मानवविहीन बस्तीले समस्या

जिल्लामा २६ वटा मावि, ११८ वटा आधारभूत विद्यालय सञ्चालनमा छन् । उच्च हिमाली बस्तीमा अत्यधिक हिमपात भएको भन्दै शिक्षक विद्यालयमा उपस्थित भएका छैनन् । हिमपातका कारण अधिकांश उच्च हिमाली बस्ती मानवविहीन बनेका कारण पनि पठनपाठन सुरु गर्न समस्या भएको हो । नाम्खा गाउँपालिकास्थित लिमीका तीन सामुदायिक विद्यालय अझै पनि हिउँले पुरिएका छन् । बाक्लो हिउँ जमेका कारण भर्ना अभियानसमेत सञ्चालन गर्न नसकिएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए ।


उनका अनुसार जाडो छल्न स्थानीय तराई झरेपछि तीनवटै बस्ती सुनसान छन् । ‘हिउँ नपग्लिँदासम्म विद्यालय खुल्ने सम्भव देखिएन,’ उनले भने, ‘यस वर्ष झन् बढी हिउँ परेको छ, चैत पहिलो सातासम्म विद्यालय खुलाउने प्रयासमा छौं ।’ उनका अनुसार लिमीमा रहेका तीन विद्यालयमध्ये जाङस्थित भृकुटी आधारभूत विद्यालयमा गत वर्ष विद्यार्थी संख्या शून्य थियो । हल्जीको सुनखानी र तीलस्थित हिमशिखर आधारभूत विद्यालयमा पनि बर्सेनि विद्यार्थी संख्या घटिरहेको गाउँपालिकाले जनाएको छ । ‘बौद्ध शिक्षाप्रति अभिभावकको आकर्षण बढी हुँदा सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या न्यून भइरहेको हो,’ अध्यक्ष लामाले भने, ‘विद्यार्थीको आकर्षण बढाउन पठनपाठन गुणस्तरीय बनाउँदै विद्यालयलाई प्रविधिमैत्री बनाइरहेका छौं ।’

प्रकाशित : फाल्गुन १२, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?