कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छाउपडी हटाउन महायज्ञ

कान्तिपुर संवाददाता

(जुम्ला) — छाउपडीलगायत कुप्रथा हटाउन महायज्ञ आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा शुक्रबार महायज्ञ लगाएको हो ।महायज्ञमा ग्रामीण क्षेत्रका स्थानीयसमेत सहभागी हुन आएका थिए ।

छाउपडी हटाउन महायज्ञ

प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले महायज्ञले छाउपडीप्रथाविरुद्ध सन्देश प्रवाह गरेको बताइन् । उनका अनुसार महायज्ञमा जिल्लाका सातवटै स्थानीय तहमा नियुक्त भएका सद्भावनादूत, धामीझाँक्री, पुरोहित, स्थानीय तहका प्रमुख–उपप्रमुख, र स्थानीय महिला सहभागी थिए ।


महायज्ञको प्रवचकमा भाषाविद् तथा सामाजिक अभियन्ता रमानन्द आचार्य रहेका थिए । उनले छाउपडीलगायत कुप्रथाबारे करिब ३ घण्टासम्म प्रवचन दिए । छाउप्रथा धार्मिक रुपमा गलत भएको र महिनावारीमा छाउ बार्दा देवीदेउता नरिसाउनेबारे उनले बोलेका थिए । बरु महिनावारी भएको बेला न्यानो बासस्थान आवश्कय पर्ने उनको भनाइ थियो ।


महायज्ञमा प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायतले छाउपडीप्रथा अन्त्य गर्न आ–आफ्नो तर्फबाट लाग्ने संकल्प गरे । ‘कुरीति, कुसंस्कारलाई महायज्ञमार्फत ‘स्वाहा’ गरिएको छ,’ प्रवचक आचार्यले भने, ‘लाखौं दान दिएर पुण्य कमाउनुभन्दा आमनागरिकको जीवनमा सुधार ल्याउनका लागि साझा संकल्प गर्नु ठूलो पुण्य कमाउनु हो ।’ महायज्ञले समाजको मानसिकता परिवर्तन गर्न र सचेतना फैलाउन सघाउ गरेको उनले बताए ।


महायज्ञ आयोजना गर्न सक्रिय चन्दननाथ नगरपालिकाले नगरपालिकालाई छुईमुक्त गर्ने संकल्प गरेको छ । नगर प्रमुख कान्तिका सेजुवालले महायज्ञबाट कुरीति तथा कुसंस्कार अन्त्य गर्न थप उर्जा मिलेको बताइन् । त्यस्तै, महायज्ञमा सहभागी कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले छाउपडीप्रथा धर्म–संस्कारसँग नजोडिएको र यसलाई अन्त्य गर्नु सबैको दायित्व भएको बताए ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?