कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिर्ता हुँदै मन्दिरको जग्गा

तत्कालीन माओवादीले डिग्रे मन्दिरको ३ हजार ८ सय ५ वर्गमिटर जग्गा कब्जा गरी बेचेको थियो
हरि गौतम

रुकुम पश्‍चिम — कर्णालीको प्रसिद्ध धार्मिकस्थल डिग्रे शाईकुमारी मन्दिरको जग्गा फिर्ता आउने भएको छ । मुसीकोट नगरपालिका–५, थर्पुमा रहेको मन्दिरको नाममा रहेको गुठीको जग्गा द्वन्द्वको क्रममा तत्कालीन माओवादीले कव्जामा लिएको थियो । 

फिर्ता हुँदै मन्दिरको जग्गा

रुकुम पूर्वको सिस्ने गाउँपालिका–८, धपेमा मन्दिरको नाममा साढे ४२ रोपनी गुठीको जग्गा छ । शान्ति स्थापनापछि स्थानीयलाई बिक्री गरिएको जग्गामा फिर्ता आउने भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले बताए । उनका अनुसार कित्ता नम्बर ३३१ को ३ हजार ८ सय ५ बर्गमिटर क्षेत्रफलको जग्गा तत्कालीन माओवादीले स्थानीयलाई बिक्री गरेको थियो । त्यसबाहेकको जग्गा भने शान्ति स्थापनापछि मन्दिरकै स्वामित्वमा आइसकेको थियो । समितिका अनुसार माओवादीको सयुंक्त जिल्ला जनसमितिले ६० हजार रुपैयाँमा उक्त जग्गा स्थानीयलाई राजिनामा दिएको थियो । २०६२ चैत्र २९ गते माओवादीद्वारा सञ्चालित ‘जनसत्ता’ मार्फत कित्ता नम्बर ३३१ को जग्गा स्थानीय सर्वजीत भनिने जीतबहादुर पुनले खरिद गरेका थिए । पुनले जग्गा छाड्न लागेपछि मन्दिरको नाममा आउने पक्का भएको हो । ‘मैले तिरेको ६० हजार रुपैयाँ फिर्ता आउने आशामा छु,’ उनले भने,‘ लामो समयसम्म दुःख र मेहनत गरेको जग्गा छोड्दा दुःख लागेको छ ।’ उनले अन्यत्र जग्गा नभएकाले जीविकोपार्जनमा समस्या हुन थालेको गुनासो गरे ।


मन्दिर व्यवस्थापन समितिले मुद्दा जितेरै उक्त जग्गा आफ्नो स्वामित्वमा ल्याउन लागेको मन्दिर व्यवस्थापन समितिका सचिव चुडामणि गौतमले बताए । उनका अनुसार आफ्नै नामको जग्गामा अर्कैको हकभोग रहेको भन्दै रुकुमकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले २०७५ पुष ८ गते उक्त जग्गा मन्दिरकै भएकाले हकभोक पनि उसैको हुने भनेर फैसला गरिदएको थियो । उनका अनुसार अनुसार जनसुधार आधारभूत विद्यालयले पनि कित्ता नम्वर ३३९ को २ हजार १ सय ६५ बर्गमिटर जग्गा कब्जा गरेको थियो ।


फैसला हुँदा पनि जग्गा स्वामित्वमा नआएपछि समितिले पटकपटक पुनसँग छलफल गरेको थियो । ‘लगभग जग्गा हाम्रो स्वामित्वमा आइसक्यो भन्दा पनि हुन्छ,’ मन्दिरका मुख्य पुजारी रामप्रसाद गौतमले भने, ‘आगामी जेठ १५ गतेभित्र सर्वजीतले ठाउँ छाड्ने र बनाएको संरचना उठाउने सहमति गरेका छन् ।’ उनका अनुसार समितिका पदाधिकारी, पुन र वडा नम्बर ८ का जनप्रतिनिधिबीच ६ महिनाभित्र मन्दिरको जग्गा खाली गराइसक्ने गरी सहमति भएको हो । सबै जग्गा मन्दिरको स्वामित्वमा आएपछि कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल हुने उनको भनाइ छ । सिँचाइ सुविधासहितको खेत उक्त क्षेत्रमा छ ।


२०५२ अघि उक्त खेतबाट मन्दिरका पुजारीले धान ल्याउँथे । ५२ सालअघि खेत स्थानीयलाई अधियामा प्रयोग गर्न दिइएको थियो । स्थानीयले उत्पादनको आधा धान मन्दिरलाई उपलव्ध गराउँथे । सशस्त्र द्वन्द्व सुरु भएपछि माओवादीले जग्गा कब्जा गरेर केही समय ‘कम्युन’ चलाएको थियो । शान्ति स्थापना भएपछि माओवादीले कब्जा गरेको अरु जग्गा फिर्ता गरे पनि ‘जनसत्ता’ मार्फत बिक्री गरेको जग्गा फिर्ता भएको थिएन ।


सर्वजीत र स्थानीय जनसुधार प्राथमिक विद्यालयले २ कित्ता जग्गा खिचोला गरी चलाइरहेको भन्दै व्यवस्थापन समितिले २०७५ बैशाख २१ गते रुकुमकोट जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ‘लामो समयपछि जग्गा फिर्ता आउने भयो, अब मन्दिरकै हितमा जग्गाको आम्दानी प्रयोग गरिनेछ,’ अध्यक्ष केसीले भने, ‘जग्गा आफ्नो नाममा आएपछि मन्दिरको आम्दानी बढ्ने अपेक्षा छ ।’ उनले पर्याप्त आम्दानी नहुँदा मन्दिरमा दैनिक पूजा सञ्चालन र पूर्वाधार निर्माणमा समस्या भइरहेको गुनासो गरे । मन्दिरमा दैनिक पूजाआजा हुन्छ ।

प्रकाशित : फाल्गुन ८, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?