कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पलातामा आफ्नै यातायात

तुलाराम पाण्डे

(कालीकोट) — पलाता गाउँपालिकाले आफ्नै यातायात सञ्चालनमा ल्याएको छ । एक करोड रुपैयाँमा चार यात्रुबाहक जिप खरिद गरेर बिहीबारदेखि सेवा सुरु गरेको हो । 

पलातामा आफ्नै यातायात

‘साझा यातायात’ नाम दिइएका चार गाडीमध्ये दुई कर्णालीपारि कर्णाली करिडोरको घाटपारीचौरबाट जीते बजारसम्म सञ्चालन गरिनेछ । कर्णाली नदी तारेर पारि पुर्‍याइएका दुई गाडी थिर्पूदेखि धौलागोहको राडुनेटासम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष लक्षमण बमले बताए । उनका अनुसार कर्णाली राजमार्ग हुँदै ल्याइएका गाडी नेपाली सेनाले बनाएको फेरीमा तारेर चौर पुर्‍याइएको थियो । त्यहाँबाट नदी तार्ने फेरी र पुल नहुँदा स्थानीयले डिजेल र पेट्रोल राख्ने ड्रमलाई ग्याबिन तारले बाँधेर त्यसमाथि काठका फल्याक, प्लाइउड र काठका कडीले बाँधेर अस्थायी फेरी बनाएका थिए ।


अध्यक्ष बमले गाडी पारी लैजान हेलिकप्टर खोजे पनि उपलब्ध हुन नसकेपछि स्थानीय प्रविधिको प्रयोग गरेर नदी तारिएको जानकारी दिए । गाउँपालिकाले गाडी कर्णाली तारेपछि २ हजार बढी स्थानीयबासी नदी किनारमा पुगेका थिए । बर्षौपछि घर नजिकैबाट गाडी चढ्ने धोका पूरा भएपछि स्थानीयले जिपलाई फूलमालाले स्वागत गरे ।


३ घण्टा ओरालो झरेर नदी किनार पुगेका पलाता–७, पारौटीका ७५ वर्षीय बीज विष्टले जीवनमा पहिलोपल्ट गाडी देखेको बताए । ‘मर्नुअघि गाडी हेर्ने धोको थियो, पूरा भयो,’ उनले भने, ‘गाउँमा गाडीसँगै विकास भित्रियो ।’ थिर्पू झरेकी धौलागोह–२, लार्फकी बिउरी विश्वकर्माले गाडी आउँदा सपनाजस्तै लागेको बताइन् । ‘सपनाजस्तो लाग्याको छ,’ स्थानीय लवजमा उनले भनिन्,‘ हाम्मो पालामा गाडी पुल्गान् सुच्याकै छियौंन (थिएनौं) ।’


गाउँपालिकामा एक वर्षअघि झोलुंगे पुलबाट मोटरसाइकल थिर्पूसम्म ल्याइए पनि यात्रुबाहक गाडी पुगेको पहिलोपटक हो । गाडी पुगेको खुसीयालीमा स्थानीयले नदीको किनारामै बाजागाजासहित नाचगान गरे । गाडीलाई स्वागत गर्न आएका स्थानीयले सरस्वती माविमा बिहीबार दिनभर उत्सवका रुपमा रमाइलो गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताए ।


यसरी तारियो कर्णालीमा जिप

गाउँपालिकाले खरिद गरेका गाडी कर्णाली नदी तार्न हेलिकप्टर वा नदीमा फेरी नभएर असम्भवजस्तै थियो । अध्यक्ष बमले हेलिकप्टर कम्पनीसँग समन्वय गर्दा पनि उपलब्ध हुनसक्ने अवस्था देखिएन ।


स्थानीयले नयाँ जुक्ति लगाएर गाडी नदी तार्ने योजना बनाए । माघ २९ गते रातभर लगाएर पलातमा डुंगा तयार पारे । फागुन १ गते बिहान पहिलोपटक गाडी त्यसैमा चढाइयो । गाडी चढ्ने क्रममा प्लाइउड भाँचिएर गाडी झण्डै नदीमा खसेन । ३० वटा ड्रममाथि बलियो काठ बाँधेर काठको फेरी तयार गरिएको थियो । काठको फेरी तयार भएपछि ५० युवा माथि चडेर नदीमा गए । नडुबेपछि त्यसैमा गाडी तारिएको हो । डोरीले तान्दै गाडी नदीपारि पुर्‍याइएपछि स्थानीयले पञ्चेबाजाले स्वागत गरे । ‘गेजमा लामो डोरी बाँधेर नदीको दुवैतर्फ युवालाई परिचालन गरियो,’ अध्यक्ष बमले भने, ‘युवाको अथक प्रयासले गाडी नदीपारि पुर्‍याउन सफल भइयो ।’ गाउँपालिकाले बेल्कढुंगा–मोहर–पुलाहादेखि राडुनेटासम्म २२ किलोमिटर सडकको ट्रयाक खोलेपछि स्थानीयको सडक सपना पूरा भएको हो ।


पलाता गाउँपालिकाले खरिद गरेको जिप कर्णाली नदीमा ड्रमको सहायताले तारिँदै ।फाइल तस्बिर : कान्तिपुर

प्रकाशित : फाल्गुन ४, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?