कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला सांसद बढी सक्रिय

प्रदेशसभाको तेस्रो अधिवेशनलाई आधार मानेर गरिएको अध्ययनले शून्य समयमा बोल्नेमा समेत महिलाको संख्या बढी देखिएको छ
चाँदनी कठायत

(वीरेन्द्रनगर) — कर्णाली प्रदेशसभामा पुरुषको तुलनामा महिला सांसदको सहभागिता सक्रिय रहेको पाइएको छ । संख्यात्मक रुपमा थोरै भए पनि संसदीय गतिविधिमा उनीहरूको सक्रियता बढी देखिएको एक अध्ययनले देखाएको छ ।

महिला सांसद बढी सक्रिय

डेमोक्रेसी रिसोर्स सेन्टरले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा तेस्रो अधिवेशनको १३ वटा बैठकमा १० जना महिलाले २३ पटक बोलेको उल्लेख छ । पुरुषतर्फ भने १३ सदस्यले १९ पटक बोलेका छन् । प्रदेशसभाको तेस्रो अधिवेशनलाई आधार मानेर गरिएको अध्ययनले शून्य समयमा समेत बोल्नेमा पनि महिलाको संख्या बढी देखिएको छ ।


तेस्रो अधिवेशनमा भएको १३ वटा बैठकभर शून्य समयमा ४२, विशेष समयमा ५ र विधेयक छलफलमा ६८ पटक सांसद बोलेका छन् । त्यस्तै, विशेष समयको सदुपयोग गर्दै दुई पुरुष सदस्यले चारपटक बोले भने एकजना महिला सदस्यले एकपटक मात्रै बोलेको पाइएको छ । विधेयकको छलफलमा १६ जना पुरुष सांसद ४५ पटक बोल्दा ९ महिला सांसदले २३ पटक आफ्नो धारणा राखे । ४० सदस्यीय कर्णाली प्रदेशसभामा महिला सांसदको संख्या १३ (३२ दशमलव ५ प्रतिशत) छ । यस्तो अवस्थामा महिलाको बैठक र संसदीय गतिविधिमा सहभागिता उत्साहजनक रहेको सभामुख राजबहादुर शाही बताउँछन् ।


अधिकांश महिला सांसदको संसदीय क्रियाकलापमा आफै उत्सकुता बढी हुनु र केही सांसदलाई संसदले सक्रिय हुन प्रोत्साहन गरेको कारण संसदमा महिला सांसदको सहभागिता उत्साहपूर्ण देखिएको उनको भनाइ छ । सुरुमा बोल्नुपर्दा लाज र डर मान्ने एकजना महिला सांसदलाई आफूले कार्यकक्षमै बोलाएर उत्प्रेरणा दिएको सभामुख शाहीले बताए । ‘उहाँले बाहिर त बोल्न मन लाग्छ, हलभित्र पस्ने बित्तिकै डर लाग्छ भनेर भन्नुहुन्थ्यो, हामीले निकै सम्झाइबुझाइ गर्‍यौं,’ उनले भने, ‘अहिले संसदमा उहाँको सक्रियता निकै धेरै छ, संसदमा मात्र होइन, बाहिर पनि उहाँको बोली अधिक रुचाइन्छ ।’ सांसदहरूलाई आफ्नै भाषा र लवजमा बोल्नको लागि उत्प्रेरित गरिरहेको उनले बताए ।


प्रदेशसभाको तेस्रो अधिवेशनमा भएका विभिन्न छलफलमा कर्णालीका ३० सांसद बोलेका छन् । दुई सांसदले अधिवेशनभर बोलेनन् । अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशसभाले तेस्रो अधिवेशनभर विशेष समयको अभ्यास सबैभन्दा कम गरेको छ । तेस्रो अधिवेशनमा तीन बैठकमा मात्रै विशेष समयको अभ्यास भएको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी प्रदेश ५ को प्रदेशसभाले २६ वटा बैठकमा विशेष समयको प्रयोग गरेको छ । शून्य समयको अभ्यास भने कर्णाली प्रदेशसभाले ९ वटा बैठकमा गरेको छ । ११ बैठकमा विधेयकमाथि छलफल भएको अध्ययन प्रतिवेदनले जनाएको छ । करिब डेढ महिना अवधिको रहेको तेस्रो अधिवेशनमा ११ जना प्रत्यक्षतर्फका सांसदले १६ पटक बोलेका थिए । समानुपातिकतर्फ भने १२ जना सांसदले २६ पटक बोलेका थिए । बैठकको शून्य समयमा १७ नेकपाका सांसदले ३१ पटक बोल्दा ५ जना कांग्रेस सांसदले १० पटक मन्तव्य व्यक्त गरेका छन् ।


विशेष समयमा समानुपातिकभन्दा प्रत्यक्षतर्फका सांसदले बोलेको तथ्य फेला परेको छ । समानुपातिकतर्फ एकजनाले बोल्दा प्रत्यक्षतर्फका दुई सांसदले चारपटक बोलेको पाइयो । विशेष समयमा नेकपाका एकजनाले एकपटक बोल्दा कांग्रेस सांसद एकजनाले तीनपटक बोलेको प्रतिवेदनमा उल्लेख छ । तेस्रो अधिवेशनभर विधेयकको छलफलमा प्रत्यक्षतर्फका १३ सांसदले ३८ पटक बोल्दा समानुपातिकतर्फका १२ जना ३० पटक बोलेका छन् ।


सेन्टरका अनुसार अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशसभाको सभाहल उत्कृष्ट छ । अन्य प्रदेशका सभाहलमा कतै कर्मचारी नै नअट्ने, कतै सांसदको अगाडि टेबुल र माइक नभएको पाइएको थियो । कर्णालीमा भने दर्शकदीर्घा र सञ्चारकर्मी बस्ने ठाउँ पनि व्यवस्थित भएको र सांसद आफू बसेकै ठाउँबाट बोल्न माइकको व्यवस्था भएको जनाइएको छ । कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी ४० सांसद छन् ।

बैठक स्थगित

कर्णाली प्रदेशसभाको बिहीबार बस्ने भनिएको पाँचौ अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ । कर्णाली प्रदेशसभाले सूचना टाँस गरी बैठक शनिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बिहीबार ‘जनयुद्ध’ दिवसको अवसरमा अधिकांश सांसद तथा मन्त्री सुर्खेतबाहिर रहेका कारण वैठक स्थगित भएको हो ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?