पोल मक्किसके, बिजुली अझै पुगेन

विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिकाका विभिन्न वडामा विद्युत् सेवा विस्तार गर्न ७ वर्षअघि पोल गाडिए पनि बत्ती अझै बलेको छैन । घरमा तारसमेत जोडिसकेका स्थानीय अँध्यारोमै बस्न बाध्य छन् ।

कालीमाटीका बासिन्दा सल्लाको दियालो, टुकी र लाल्टिन बालेर रात काट्छन् । सरकारी निकायको लापरबाहीले गाउँपालिकाका ७ हजार बासिन्दाको वर्षौंदेखिको विद्युत् सपना पूरा नभएको हो । साविक कालीमाटी र रामपुर गाविसले ९ लाख रुपैयाँ बजेट विनियोजन गरी गाउँगाउँमा पोल गाडेका थिए । केन्द्रीय प्रशारणलाइन जोड्न गाडिएका अधिकांश पोल ढलेका छन् । प्रयोगविहीन पोल जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ ।


कालीमाटी गाउँपालिका–१ स्थित लक्ष्मीपुरमा मात्र विद्युत् सुविधा उपलव्ध छ । लाइन विस्तार नहुँदा बिजुली बाल्ने धोको पूरा नभएको स्थानीय पूर्णबहादुर खड्काले बताए । ‘हुने–खानेले सोलार जडान गरेका छन्,’ उनले भने, ‘विपन्न घरधुरी अझै पनि सल्लाको दियालो, टुकी र लालटिनकै भरमा रात गुजार्न बाध्य छौं ।’


विद्युत् सेवा बिस्तार हुने भन्दै केही घरधुरीले घरमा वायरिङसमेत गरेका थिए । ‘घरमा गरिएको वायरिङ धूलोधूवाले कालै भइसक्यो,’ स्थानीय अर्जुन विकले भने,‘ घरअगाडि गाडेका पोल पनि ढल्ने अवस्थामा पुगेका छन् ।’ स्थानीय तह निर्वाचनको बेला गाउँमा बिजुली पुर्‍याउँछौ भन्ने उम्मेदवारले फर्केर नहेरेको उनले गुनासो गरे । विद्य्त् ुनहुँदा गाउँमा घरेलु उद्योग स्थापना गरी स्वरोजगार बन्ने धोका अधुरै रहेको उनको दुःखेसो छ ।


स्थानीय सरकार र विद्युत् प्राधिकरणको लापरबाहीले घर अगाडिका पोल हेरेर चित्त बुझाउनुपर्ने बाध्यता भएको स्थानीयको गुनासो छ । ‘हाम्रा बाबुबाजेले टुकी र सल्ले झर्रोको भरमा रात कटाएका थिए, हामीले पनि परम्परागत ऊर्जा प्रयोग गरिरहेका छौं,’ विकले भने, ‘यस्तै अवस्था हो भने छोरानातिका पालासम्म पनि गाउँमा बिजुली बल्दैन होला ।’ उनले विद्युत् सुविधा नहुँदा मोवाइल चार्ज गर्न छिमेकी गाउँमा जानुपर्ने बाध्यता रहेको सुनाए ।


बिजुलीका पोल गाड्न स्थानीयले एक महिनासम्म श्रमदान गरेका थिए । योजना पूरा नहुँदा सरकारी लगानी खेर गएको स्थानीय रेशमबहादुर थापाले बताए । ‘वारिपारिका गाउँहरू रातभर झिलिमिली हुन्छन्,’ उनले भने, ‘बिजुली नहुँदा हाम्रो गाउँ सम्साँझै सुनसान हुन्छ ।’ उनले बिद्युत् नहुँदा बालबालिकाको पढाइ गुणस्तरीय हुन नसकेको गुनासो गरे । गाडिएका पोलको सदुपयोग गर्न स्थानीय स्तरमै भए पनि लघुजलविद्युत् योजना निर्माण गर्न स्थानीयले माग गरेका छन् ।


कालीमाटी –३ स्थित शारदा खोलामा ड्याम बाँधेर बिजुली उत्पादन गर्न बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ५ वर्षअघि सर्भे गरेको थियो । केन्द्रले विद्युत् योजना निर्माणका लागि सबै वडामा घरधुरी सर्भेक्षणसमेत गरे पनि बजेट नआउँदा आफूहरू निरास बन्नुपरेको थापाको गुनासो छ । ‘जनप्रतिनिधि आश्वासन मात्रै दिन्छन्, काम गर्दैनन्,’ उनले भने, ‘बिजुली बाल्ने सपना पूरा नहुँदा हामीलाई स्थानीय सरकारको अनुभूति नै छैन ।’


गाउँपालिका कार्यालयका अनुसार लक्ष्मीपुरका ५० घरधुरीमा मात्र केन्द्रीय प्रशारण लाइनको बिजुली छ । स्थानीय खोलाबाट विद्युत् उत्पादन गर्न सकिने भए पनि बजेट अभावमा समस्या भएको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । ‘हाम्रो स्रोतसाधन र सीमित बजेटले स्थानीयस्तरमै विद्युत् उत्पादन गर्न भ्याउँदैन,’ उनले भने, ‘माथिल्ला सरकारले बेवास्ता गरिरहेका छन् ।’ उनले चालु आर्थिक वर्षभित्र गाउँपालिकाको केन्द्र र वडा नं ६ मा विद्युतीकरण गर्नेगरी बजेटको व्यवस्था गरिएको जानकारी दिए । ‘गत वर्ष मुद्दा परेपछि विद्युतीकरणको काम हुन सकेन,’ उनले भने, ‘चालु आर्थिक वर्षका लागि टेन्डर प्रक्रिया सुरु गरिसकेका छौं ।’ गाउँपालिकाले यस वर्ष उज्यालो गाउँपालिका कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रकाशित : फाल्गुन १, २०७६ ०९:१६

प्रतिक्रिया
पठाउनुहोस्

करोडको अर्गानिक मकै निर्यात

भीमबहादुर सिंह

जाजरकोट — जिल्लामा उत्पादन हुने अर्गानिक मकैको माग जिल्लाबाहिर बढ्दै गएको छ । कुशे गाउँपालिका र छेडागाड नगरपालिकाबाट एक वर्षको अवधिमा करिब १ करोड रुपैयाँको मकै जिल्लाबाहिर गएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार मकै, कोदो, भटमासलगायत अन्नको माग नेपालगन्ज, काठमाडौंलगायत ठाउँमा बढिरहेको छ । कुशे, नलगाड, जुनीचाँदे र छेडागाड जिल्लामा मकै उत्पादनको भण्डार मानिन्छन् । एक वर्षको अवधिमा करिब १ करोडको मकै र करिब ५० लाख रुपैयाँको अन्य कृषिजन्य उत्पादन जिल्लाबाहिर गएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्रै १ करोड रुपैयाँको उत्पादन जिल्लाबाहिर गएको छ ।

स्थानीय जातको मकै, कोदो, भटमास, सिमी, रातो चामललगायत अर्गानिक अन्नको माग सहरमा बढेको स्थानीय व्यापारी भद्रबहादुर ओलीले बताए । उनका अनुसार मधुमेहलगायत रोगका बिरामीले रोटी, चाख्ला, भात, ढिढोलगायत परिकार खानका लागि अर्गानिक मकै र कोदो खोज्ने गरेका छन् । काठमाडौंका बासिन्दाले पहाडको अर्गानिक मकै, रातो चामल र कोदोको माग कोसेलीको रुपमा पठाउन आफन्तलाई आग्रह गर्ने गरेको उनको भनाइ छ । ‘सहरका ठूला होटल र रेष्टुरेण्टमा भटमास र सिमी खपत हुने क्रम पनि बढिरहेको छ,’ उनले भने, ‘आफ्नो उत्पादन बाहिर पठाउन लागेपछि कृषकको जीवनस्तरसमेत फेरिएको छ ।’

जिल्लाबाट नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा पठाइने मकै बोइलर कुखुराको दानामा पनि प्रयोग हुने गरेको छ । ओलीले यस वर्ष एक सय ३० मेट्रिक टन मकै, १५ मेट्रिक टन भटमास र १५ मेट्रिक टन कोदो नेपालगन्ज पठाइसकेको जानकारी दिए । उनका अनुसार स्थानीय बजारमा मकै ३५, कोदो ३८ र भटमास ७८ रुपैयाँ प्रतिकिलोमा खरिद बिक्री भइरहेको छ । जिल्लाका दुर्गम क्षेत्रमा २८ रपैयाँ प्रतिकिलोमा मकै खरिद हुने गरेको छ ।

जिल्लामा उत्पादन हुने रातो चामलको माग पनि बढिरहेको छ । यहाँको रातो चामल प्रतिकिलो ३ सय रुपैयाँमा नेपालगन्ज र काठमाडौंमा बिक्री हुने गरेको छ । तर, यातायातको असुविधाका कारण बारेकोट गाउँपालिकामा उत्पादन हुने अर्गानिक अन्नले बजार पाउन सकेको छैन । कुशे गाउँपालिकाबाट सबैभन्दा बढी मकै जिल्लाबाहिर गएको कृषि कार्यालयको तथ्यांक छ । कुशेको चाल्ना, जिन्ताला, चौराटा, पैक, लाता कफल्लालगायत ठाउँको मकै रोटी र ढिढोका लागि प्रख्यात मानिन्छ ।

प्रकाशित : फाल्गुन १, २०७६ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×