कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वाधारमा लम्किँदै गोतामकोट

चालू वर्ष एकीकृत कृषि फार्मिङका लागि ५ करोड रपैयाँ छुट्ट्याइएको छ भने १ करोड लगानी गरेर मन्दिर बनाइँदै छ
हरि गौतम

रुकुम पश्‍चिम — आठबीसकोट नगरपालिका–४ स्थित गोतामकोट र सम्पेचौर पछिल्लो समय चर्चामा छन् । गोतामकोट गौतमहरूको उद्गमस्थल हो भने सम्पेचौर अत्रि ऋषिको आश्रयस्थल । आठबीसकोट नगरपालिकाले दुवै ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार विकासमा जोड दिएको छ ।

पूर्वाधारमा लम्किँदै गोतामकोट

गोतामकोटमा गौतमहरूको उद्गमस्थल, अत्रि ऋषिको आश्रम, मालिका मन्दिर, चित्रीपाटनलगायतलाई जोडेर बृहत् पर्यटकीय क्षेत्र बनाउन विभिन्न संरचना निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षको नीति तथा कार्यक्रममै ‘गोतामकोट जाऔं, गौतमहरूको उद्गमस्थल चिनौं र पर्यटन प्रवर्द्धनमा लागौं’ भन्ने नारा समेटिएको थियो । कर्णाली प्रदेश सरकारको लगानीमा पनि केही संरचना निर्माण भइरहेको नगर प्रमुख गोर्खबहादुर केसीले बताए ।


गोतामकोट गाउँदेखि मालिका मन्दिरसम्म ६ सय १३ वटा सिँढीसहितको बाटो बनाइएको छ । ५० लाख रुपैयाँको लगानीमा रेलिङसहितको बाटो हुँदै मालिका मन्दिरबाट सम्पेचौरस्थित अत्रि ऋषिको आश्रम पुग्ने बाटो निर्माण पनि जारी छ । मालिका मन्दिरनजिकै १ करोड रुपैयाँमा मुख्य मन्दिर निर्माण भइरहेको केसीले जानकारी दिए । उनका अुनसार आधारभूत संरचना निर्माण भइसकेको मन्दिर यसै वर्षभित्र सक्ने नगरपालिकाको योजना छ ।


गोतामकोटबाट चित्रीपाटन उक्लने बाटो बनाउने योजनासमेत नगरपालिकाले अघि सारेको छ । चित्रीपाटन क्षेत्र ओलीहरूको उद्गमथलो मानिन्छ । जाँदा भीरैभीरको बाटोमा चित्रिपाटन उक्लने र चिप्लेटीमार्फत फर्कने गरी संरचना बनाउन डीपीआरको काम भइरहेको नगर प्रमुख केसीले बताए । ‘धार्मिक, पर्यटकीय र कृषि पर्यटनका लागि गुरुयोजना बनाएका छौं,’ उनले भने, ‘गौतमहरूको उद्गम थलको विकास गरी कृषि र पर्यटनलाई जोड्ने हाम्रो योजना हो ।’


चालु आर्थिक वर्षमा एकीकृत कृषि फार्मिङको लागि ५ करोड रुपैयाँ बजेट परिचालन हुने केसीले जानकारी दिए । उनका अनुसार नेपालका पहाडी गाउँमा व्यवसाय र पर्यटनलाई जोडेर कसरी मोडेल गाउँ बनाउन सकिन्छ भन्ने सन्देश दिइनेछ । सबै संरचनाको काम दुई वर्षमा सक्ने गरी निर्माणलाई तीव्रता दिइएको नगरप्रमुख केसीले बताए ।


सुन्दर फाँट र मिलेका बस्ती, धार्मिक तथा प्राकृतिक सम्पदाले पनि गोतामकोट महत्वपूर्ण रहेको छ । चित्रीपाटनबाट झर्ने ९ छहराले पनि पर्यटकलाई आकर्षित गर्छन् । बुधबार नेकपा उपाध्यक्ष बामदेव गौतम, प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गोतमकोट र गौतमहरूको उद्गमस्थल, अत्री ऋषिको आश्रमस्थल, मालिका मन्दिर जाने सिढीलगायतको अबलोकन गरेका छन् ।


हेलिकप्टरमार्फत आएका उनीहरूले गोतामकोटको सौन्दर्यको वर्णन गरे । उपाध्यक्ष गौतमले गोतामकोटको विकासका लागि संघीय सरकारको पनि सहयोग हुने बताए । उनका अनुसार ७ सय वर्षदेखि गोतामकोटमा गौतमहरू रहेको इतिहास छ ।उद्‌गम थलोबाटै गौतम विस्थापितगौतमहरूको उद्गमस्थल गोतामकोटमा गौतम भने घट्दै गएका छन् । यहाँका गौतमहरू विभिन्न कारणले विस्थापित भएर अन्यत्र गएका छन् । गोतामकोटमा रेग्मी, पौडेल र केसीभन्दा पछि मात्र गौतमहरूको संख्या गणना हुन्छ । पछिल्लो समय गोतामकोटमा भण्डारी, थापा, बस्नेत र विष्टको बाहुल्य पनि बढिरहेको छ ।


अत्रि ऋषिको आश्रममा हरेक वर्ष हुने विशेष पूजामा मुस्किलले ३० परिवार गौतम पुग्छन् । मन्दिरका पुजारी देउदत्त गौतमले हरेक वर्षको ४ वटा पूर्णिमामा मन्दिरमा पूजा हुने गरेको जानकारी दिए । उनका अनुसार अहिले गोतामकोटको पानीकोटमा २६ घरधुरी गौतमको मात्रै बसोबास छ । उनले बैशाख, साउन, कार्तिक र माघे पूर्णिमामा सम्पचौरको मन्दिरमा पुजाआजा हुने जनाए ।


मन्दिरमा गाईको दूध, चामल, फूलपाती मात्रै चढाउने गरिन्छ । पूजामा एक वर्णे गाई (पूरै कालो वा पूरै रातो) को दूध मात्रै चढाइने पुजारी गौतमले बताए । ‘अत्रि ऋषिको मन्दिरमा दूध चढाएको गाईका बहरले जोत्न मिल्दैन,’ उनले भने, ‘मन्दिर आसपासको जंगलमा हसिया र बन्चरो लाउन मिल्दैन ।’ उनका अनुसार अहिलेसम्म कसैले पनि उक्त जंगलका घाँसपात काटेका छैनन् । खडेरी पर्दा अत्रि ऋषिको मन्दिरमा पुजा गर्दा वर्षा हुने विश्वास छ । अत्रि ऋषिका पछिल्ला तीन भाइ गोतामकोटबाट फाटेको गौतमले जानकारी दिए । जेठा शिवदास, माइला काशीदास र कान्छा बलु पाध्याय थिए ।


सेवासुविधा र अरु हिसाबले गाउँ छाड्नेहरू बढ्दै गएको स्थानीय प्रेमबहादुर खत्रीले बताए । उनका अनुसार तीमध्ये माइला काशीदास मात्रै गोतामकोटमा बसे र उनका सन्तान अहिले पानीकोटमा छन् । जेठा होलीतिर लागेका थिए भने कान्छा धानचामल भन्ने ठाउँमागएको किंवदन्ती छ । मुख्य ऋषिको आश्रममा माइलाबाहेक अरू आउन छाडेको धेरै भइसक्यो ।

प्रकाशित : फाल्गुन १, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?