बर्सेनि माघ १४ देखि १६ सम्म साँखमा धुमधाम बिहे हुन्छ तर बेहुला र बेहुली दुवै केटी हुन्छन्
(रुकुम पश्चिम) — मंगलबार साँझ साँखदहको चारैतिर बाक्लो चहलपहल थियो । दहभन्दा उत्तरी क्षेत्रको धर्मशाला र दक्षिणपट्टिको सिलिंगेको बोटनजिकै स्थानीय बासिन्दा घरै बनाएर बसेका थिए । यी दुई ठाउँ दुलही माग्ने र दुलही दिनेका क्षेत्र हुन् ।
धर्मशालाका बासिन्दा आएर सिलिंगेको बोट नजिकबाट दुलही मागे । मुसीकोट नगरपालिका–७, स्थित साँख दह नै दुई गाउँ छुट्याउने क्षेत्र हो । साँखमा मुख्य गरी दुई गाउँ छन् । दहदेखि माथि माथिगाउँ र तलको तलीगाउँ । यो वर्ष माथि गाउँले तलीगाउँसँग दुलही माग्यो र विहेबारी भयो । मंगलबार दुलही मागेको माथिगाउँले बुधबार बेलुकी बिहे गरेर दुलही लग्यो । तलीगाउँले दुलही अन्मायो । अघिल्लो वर्ष माथि गाउँले दुलही अन्माएको थियो भने यो वर्ष तलीगाउँले ।
दुई दिन लगाएर सम्पूर्ण विधि–प्रक्रिया गरेर धुमधामले गरिने विहे भने ‘नक्कली’ हो । विहेमा बेहुला र बेहुली पनि नक्कली नै हुन्छन् । दुवै गाउँका केटीलाई बेहुला र बेहुलीको भूमिकामा राखिन्छ । बेहुला र बेहुली पक्षका अभिभावक, बिहे गर्ने र गराउने जन्ती जाने, भोजभतेरमा सहभागी हुने सबै अविवाहित हुन्छन् । सबै कार्यमा पुरुषको सहभागिता भने हुँदैन । हरेक वर्ष माघ १४ देखि १६ गतेसम्म साँखमा यसरी नै धुमधामका साथ नक्कली बिहे हुँदै आएको छ । यो रहर वा बाध्यताभन्दा पनि परम्परा हो । हरेक वर्ष साँखका तल र माथि गाउँले यसरी नै पापिनी मेला मनाउँछन् ।
साँखमा मानव बस्ती सुरुभएदेखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा मान्छे मर्छन् भन्ने जनविश्वास लामो समयदेखि रही आएको छ । हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन् । परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ । ‘पापिनी’ हुन ३ योग्यता चाहिन्छ– ‘जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने ।’ यही योग्यताका आधारमा पापिनी छानिन्छन् भने अगुवा पनि त्यसरी नै छनोट गरिन्छ । ‘गाउँको चालचलन धान्ने कन्या पापिनी हुनुपरेको छ, यो उहिलेकै चलन हो,’ वडाध्यक्ष हिमबहादुर पाण्डेले भने, ‘यो नक्कली विहे भने पनि, पापिनी मेला भने पनि यसको सबै जिम्मा कन्याहरूकै हुन्छ ।’ साँखमा पूखौंदेखि चलिआएको यो चलनको भरथेग गर्ने कन्यालाई ‘पापिनी’ किन भनियो भन्ने उत्तर कसैसँग नभएको उनी बताउँछन् ।
‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ । तलीगाउँका पूर्णबहादुर बुढाले वर्षौदेखि यसको अगुवाइ गर्दै आएका छन् । तलीगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा हरेक राति बस्ने गर्छन् । आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम थला बसेका बेला गरिने चलन भएको बुढाले बताए । हरेक वर्ष माघ १४ गते बेहुला पक्षका पापिनी बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिल जान्छन् । १४ गते माग्ने काम सकिएपछि उनीहरू १५ गते बिहेमा सहभागी हुने उनले जानकारी दिए । उनले तलीगाउँ र माथिगाउँका पापिनी दुवै ठाउँमा नाच्ने गरेको बताए ।
‘बेहुलापट्टिका थलामा ७ र बेहुलीपट्टिका थलामा ५ फन्को नाच्ने चलन छ, सबै विधि सक्कली विहेजस्तै हुन्छन्,’ उनले भने, ‘परम्परा क्रमशः पुस्तान्तरण हुँदै गएकाले यसले निरन्तरता पाइरहेको छ ।’ केही दसक अघिसम्म मेलामा आउनेबाट दण्ड–जरिवाना संकलन गर्ने भएकाले उनीहरूले दिएको उपमा अनुसार ‘पापिनी’ भनिएको होकी भन्ने सुन्नमा आएको बुढाको भनाइ छ । नाटकीय विवाह गर्नका लागि चाहिने रकम दण्ड संकलन गरेरै जुटाइने उनले जानकारी दिए ।
