कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँमा धार्मिक यात्रा

काँडाका बासिन्दा हरेक माघमा हिमपातको पुकारा गर्छन् । हिउँले ननुहाए बुडुमष्ट मन्दिरबाट झार्ले गोठसम्मको उनीहरुको यात्रा अपुरो हुन्छ ।
हरि गौतम

(रुकुम पश्चिम) — बाँफीकोट गाउँपालिका–५, काँडाका स्थानीय बर्सेनि माघ महिनामा हिमपातको अपेक्षा गर्छन् । स्थानीयले बाली सप्रियोस् भनेर होइन, यात्राका लागि हिमपातको आशा गर्ने गरेका हुन् । काँडास्थित बुडुमष्ट मन्दिरबाट गरिने यात्राका लागि हिउँ पर्नु अनिवार्य नै हुन्छ ।

हिउँमा धार्मिक यात्रा

बुडुमष्ट मन्दिरमा गरिएको भाकल र देवताको इच्छाअनुसार हिमपातपछि मात्रै धार्मिक यात्रा गर्ने गरिएको हो । स्थानीयले बर्सेनि मन्दिरबाट झार्ले गोठसम्मको धार्मिक यात्रा गर्दै आइरहेका छन् । मन्दिरका धामी र पुजारीसहित भक्तजन दुई दिन हिँडेर झार्ले गोठ पुग्छन् भने ३ देखि ७ दिनपछि मात्रै मन्दिर फर्किन्छन् । तीर्थयात्रुले बाक्लो हिउँमा यात्रा मात्रै गर्नु पर्दैन । उनीहरू हिमपातको समयमै रुखको ओत लगाएर बास बस्छन् । स्थानीय गोपाल केसीका अनुसार यात्राको क्रममा घरमा बास बस्न पाइँदैन । ‘नुनसमेत नखाएर गर्नुपर्ने हिउँमाथिको धार्मिक यात्रा चुनौतीपूर्ण छ,’ उनले भने, ‘पानी जमेपछि हिउँले नै स्नान गर्नुपर्छ ।’ उनका अनुसार तीर्थालुले दूध, दही र सुख्खा रोटी मात्रै खाने नियम चलिआएको छ ।


धन आर्जन, सन्तान प्राप्ति र मनोकांक्षा पूरा हुने विश्वासका साथ बर्सेनि धार्मिक यात्रा गर्ने गरिन्छ । झार्ले गोठको पूजापाठ सकेपछि फेरि फर्केर बुडुमष्ट मन्दिरमा पूजाआजा गर्ने गरिएको स्थानीय पुरोहित बालकृष्ण रिजालले बताए । उनका अनुसार झोर्ले गोठ र मन्दिरमा पूजाआजा गरेपछि मात्र एक वर्षको हिउँमाथिको धार्मिक यात्रा सकिन्छ । धार्मिक यात्रापछि मनोकांक्षा पूरा भएकाहरूले बुढुमष्ट मन्दिरमा बोकाको बली चढाउने गरेको उनले जानकारी दिए । स्थानीयका अनुसार माघे पूर्णिमाअघि हिमपात नभएपछि धार्मिक यात्रा अन्यत्रै मोडिन्छ । हिउँ नपरेपछि रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ मा रहेको तातोपानीसम्मको धार्मिक यात्रा गर्ने चलन रहेको केसीले बताए । ‘हिउँ परेपछिकै धार्मिक यात्रा शुभसंकेतका रुपमा लिने चलन पुरानै हो,’ उनले भने, ‘बुडुमष्ट मन्दिरबाट गरिने अरु ३ धार्मिक यात्रामध्ये झार्ले गोठसम्मको यात्रा महत्त्वपूर्ण मानिन्छ ।’


उनका अनुसार मन्दिरबाट १७ दिन लामो धार्मिक यात्रा पनि गरिन्छ । जुम्लाको बुरु र डोल्पाको मुकुटधारीसम्मको १७ दिने धार्मिक यात्रा हरेक वर्षको वैशाख पूर्णिमाको अवसरमा हुन्छ । यो यात्रा पनि नुनबिनाको यात्रा हो । सबै धार्मिक यात्राका क्रममा घरमा बास बस्न पाइँदैन । जंगल र रुखलाई छानो मानेर बास बसिन्छ । हरेक साउने पूर्णिमाको अवसरमा बुडुमष्टबाट गारकटेरा र आठबीसकोट नगरपालिकास्थित शाइकुमारी मन्दिरको धार्मिक यात्रासमेत गर्ने गरिएको छ । कार्त्तिक पूर्णिमाको बेला रुकुम पूर्वको सिस्ने गाउँपालिका–१, को वायुगाडको धार्मिक यात्रा पनि स्थानीयले चलाइरहेको पुरोहित रिजालले जनाए । उनका अनुसार सबै यात्राको केन्द्रविन्दु बुडुमष्ट मन्दिर नै हो । ‘हरेक धार्मिक यात्राअघि र पछि बुडुमष्ट मन्दिरमा आएर पूजाआजा गरिन्छ,’ उनले भने, ‘आफूले चाहेको पूरा हुने विश्वासकै कारण वर्षमा ४ स्थानको धार्मिक यात्रा गर्ने चलन छ ।’


स्थानीय तारापति पुरीले मन्दिरका सामग्री बोक्नका लागि पुजारी, पूजाआजा र पाठका लागि ब्राहमण र मुख्य कामका लागि धामी यात्रामा हिँड्ने गरिएको बताए । ‘पहिला सफलता नपाएकाहरू यात्रापछि सफलता मिलेको भन्दै भाकल पूरा गर्न मन्दिरमा आउने गरेका छन्,’ उनले भने, ‘धार्मिक यात्रा भएकाले खानपानदेखि उठबससम्मका नियम लगाइएको छ ।’ बुडुमष्ट मन्दिरबाट दीक्षाप्राप्त धामीको नेतृत्वमा धार्मिक यात्रा गर्ने गरिएको छ । यात्रामा कम्तीमा ७ जनादेखि डेढ सय जनासम्म सहभागी हुने गरेका छन् । धार्मिक यात्राका क्रममा मन्दिरका घाटघण्ट, निसानी, चौंरी, थदरो, वेद, शंख, मूर्ति साथैमा लिने गरिएको छ । मन्दिरका धामी ध्रुवराज केसीले केही भक्तजन आत्मशान्ति र मनोकांक्षा पूरा गर्नका लागि धार्मिक यात्रामा जोडिने गरेका बताए ।

प्रकाशित : माघ ८, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?