कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निगालोले धानिँदै जीवन

विप्लव महर्जन

(सल्यान) — कपुरकोट गाउँपालिका–२, दानबाङका ५२ वर्षीय शंकर घर्तीले तरकारी खेतीसँगै घरमै बाँस र निगालाका विभिन्न सामग्री उत्पादन गर्दै आएका छन् । बारीमै उत्पादन हुने बाँसनिगालाबाट उनी डोका, डाला, छिटवा, पेटारो, माछा मार्ने पुरुङ्गो, फूलदानीलगायत सामग्री उत्पादन गरी वार्षिक २ लाख रुपैयाँ आम्दानी गर्छन् ।

उनका छिमेकी गणेश बुढा पनि फुर्सद हुने बित्तिकै बाँस–निगालाका सामग्री बुन्न व्यस्त रहन्छन् । उनले यही व्यवसायबाटै आफ्नो घरको वर्षभरिको खर्चको जोहो गरिरहेका छन् । बाँस–निगालाका सामग्रीको माग जिल्लाबाहिर बढेपछि सजिलै भाउ पाइरहेको छ । यही पेशाबाटै वर्षमा साढे २ लाखसम्म कमाइ हुने गरेको उनले बताए ।


यी दुईमात्र होइन, कपुरकोट गाउँपालिका–२ दानबाङ, गर्पा र गोठीवनका करिब दुई दर्जन स्थानीय बाँस–निगालाको सामग्री उत्पादन गरी आत्मनिर्भर बनेका छन् । किसानले उत्पादन गरेका सामग्री २ सयदेखि ८ सय रुपैयाँसम्म बिक्री भइरहेका छन् ।


बाँस–निगालाको सामग्री उत्पादनबाट प्रतिघरधुरी डेढ लाख रुपैयाँसम्म वार्षिक आम्दानी भइरहेको बुढाले जानकारी दिए । कपुरकोट गाउँपालिका जिल्लामा सबैभन्दा बढी बाँस–निगालो उत्पादन हुने क्षेत्र हो । जिल्लाबाहिर माग बढ्दै गएपछि स्थानीयले तरकारी खेतीसँगै परम्परागत सामग्री उत्पादनमा जोड दिएको बुढाको भनाइ छ । विगतमा जीविकोपार्जनमा समस्या भएपछि युवालाई मजदुरीका लागि भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता थियो ।


‘बारीमै बाँस–निगालाको उत्पादन भइरहेको छ, व्यापारीहरू उत्पादन गरिएका सामग्री किन्न घरमै आउँछन्,’ घर्तीले भने, ‘आम्दानी बढेको छ, छोराछोरीको पढाइ र घरखर्च यही आम्दानीले चलाउँछौं ।’ परिवारका अन्य सदस्य तरकारी खेती र आफू बाँस–निगालाको सामग्री उत्पादनमा लागेको उनले बताए । उनका अनुसार स्थानीयले उत्पादन गरेका सामग्री जिल्लाका विभिन्न बजारका साथै रुकुम पश्चिम, रोल्पा र दाङसम्म पुगिरहेका छन् ।


स्थानीयले परम्परागत तरिकाबाटै बाँस–निगालाका सामग्री उत्पादन गरिरहेका छन् । उद्योग र बिक्री केन्द्रको व्यवस्था भए आम्दानी अझै बढ्ने स्थानीय देवबहादुर घर्तीले बताए । उनले महिनामा १५ वटासम्म छिटवा, पेटारो, छिट्नी, डोकोलगायत सामग्री उत्पादन गर्दै आइरहेको जानकारी दिए । ‘पहिले बिक्री नहुँदा खाद्यान्नसँग साट्ने गरेका थियौं,’ उनले भने, ‘केही वर्षयता नगदमै बिक्री हुन्छ, माग बढेपछि बजारमा पुर्‍याउनै धौधौ छ ।’ बाँस–निगालाका सामग्री बिक्रीबाट वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले बताए ।


तरकारी र बाँस–निगालाको सामग्रीमार्फत स्थानीयले गाउँमै रोजगारी पाएको स्थानीय शिक्षक कपिल शर्माले बताए । उनका अनुसार सजावटको रुपमा बाँसका सामग्रीको माग सहरी क्षेत्रमा बढेपछि किसान आत्मनिर्भर बन्दै गएका छन् । ‘रोजगारीका लागि विभिन्न ठाउँमा भौतारिनुपर्ने बाध्यताबाट स्थानीयले मुक्ति पाएका छन्,’ उनले भने, ‘गाउँलेको आम्दानी पनि बढिरहेको छ ।’


आफै स्वरोजगार बनेका स्थानीयलाई तालिम दिएर थप आत्मनिर्भर बनाउन स्थानीय सरकारले योजना बनाइरहेको वडाध्यक्ष मानबहादुर रानाले बताए ।

प्रकाशित : माघ ७, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?