कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली सडक–मानवमुक्त : सडकमा बस्न, भिख माग्न रोक

सडकमा बास बनाएका व्यक्तिलाई राख्न प्रदेश सरकारले मानव सेवा आश्रम, आमा घर र प्रशान्ति वृद्धाश्रमसँग सम्झौता गरेको छ
चाँदनी कठायत

वीरेन्द्रनगर — मन्दिर होस् वा पर्यटकीय स्थल, त्यहाँ कसैले भिख माग्न पाउनेछैन । त्यस्तो अवस्थाका मान्छे भेटिए सरकारले नै तोकिएका ‘घर’मा पुर्‍याउनेछ । कर्णाली सरकारले शनिबार ‘सडक–मानवमुक्त प्रदेश’ घोषणा गर्दै यस्तो जनाएको हो ।

कर्णाली सडक–मानवमुक्त : सडकमा बस्न, भिख माग्न रोक

घोषणासँगै सरकारले देउतीबज्यै मन्दिर परिसरमा रहेका व्यक्तिलाई त्यहाँबाट उठाएर नेवारेस्थित मानव सेवा आश्रममा राखिसकेको छ । जिल्ला प्रशासन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले आगामी दिनमा मन्दिर परिसरमा बसेर माग्न रोक लगाउनेछन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभिन्न कारणले सडकमा बास भएका व्यक्तिलाई ‘सरकार अभिभावक हो’ भन्ने अनुभूति दिलाउन यो घोषणा गरिएको बताए । उनका अनुसार प्रदेश सरकारले २०७५ पुस १० गते कर्णालीलाई ‘सडक मानवरहित प्रदेश’ बनाउने निर्णय गरेको थियो । पुस ११ मा सम्पन्न प्रदेश समन्वय परिषद्को दोस्रो बैठकले पनि कर्णालीलाई सडक सहयोगापेक्षी मानवरहित प्रदेश बनाउने संकल्प परेको थियो । यो घोषणा र संकल्प पूरा गर्न प्रदेश सरकारले जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा अनुगमन तथा निगरानी समूह गठन गरेको छ ।


सडकमा बास बनाएका व्यक्तिलाई राख्न प्रदेश सरकारले मानव सेवा आश्रम, आमा घर र प्रशान्ति वृद्धाश्रमसँग सम्झौता गरेको छ । एक वर्ष अवधिमा १ सय ५० जनाको उद्धार गरिएको छ । तीमध्ये कतिपयलाई आश्रममा राखिएको छ भने कतिपय आफ्नो घरमै पुनःस्थापित भएका छन् । प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले अब विभिन्न आश्रममा रहेका वृद्धवृद्धा, बालबालिकाको व्यवस्थापनको सम्पूर्ण जिम्मा प्रदेश सरकारले लिने बताए । उनका अनुसार अभियान सफल बनाउन प्रदेश सरकारले चालु वर्षमा मानव सेवा आश्रमलाई १ करोड रुपैयाँ दिएको छ । यसबाट आश्रमको लागि जग्गा खरिद र भवन निर्माण गरिनेछ । ‘अहिले प्रदेश सरकारले आश्रमसँग सम्झौता गरी भाडाका घरमा आश्रय दिइरहेको छ,’ उनले भने, ‘विस्तारै प्रदेश सरकारले असहाय, अशक्त, घाइते, अपांगता भएका व्यक्तिका लागि स्थायी संरचना निर्माण गर्नेछ ।’ सामाजिक विकास मन्त्रालयमार्फत प्रत्येक जिल्लामा स्थायी आश्रम निर्माण गरिने उनले बताए ।


सरकारको यो अभियानसँगै आश्रममा पुगेका व्यक्तिहरूले आफूले नयाँ जीवन पाएको बताएका छन् । तिनैमध्येका हुन् ६० वर्षीय पुण्यप्रसाद न्यौपाने । सन्तानको माया नपाएपछि बजारमा मागेर गुजारा चलाएका उनी अहिले मानव सेवा आश्रममा छन् । ‘पहिले यो संसारमा मेरो कोही छैन भन्ने लाग्थ्यो, अहिले त सरकारै बाउजस्तो भइदिँदा ढुक्कसाथ बसेको छु ।’ आश्रममा अहिले ५३ जना छन् ।


त्यस्तै आमाघरमा रहेका रतन सार्कीले माग्न खोज्दा कतिपटक कुटाइ खाएको विगत सुनाए । ‘माग्न जाँदा दिनु त कता हो कता, पिटेर पठाउँथे,’ उनले भने, ‘अहिले आमाघरमा आएपछि बुबाआमाको जस्तै माया पाएका छौँ ।’


आमाघर सञ्चालिका शीतलसिंह राठौरले परिवारको कमजोर आर्थिक अवस्थाका कारण सडकमा पुगेका बालबालिकालाई आश्रय दिइएको बताइन् । आमाघरमा १० बालबालिका छन् ।

प्रकाशित : माघ ५, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?