कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बमका छर्रा’ शरीरमै

विप्लव महर्जन

(सल्यान) — पन्ध्र वर्षअघिको त्यो घटना नभइदिएको भए सायद उनको जीवन अर्कै ढंगले अघि बढिरहेको हुन्थ्यो । दार्मा गाउँपालिकास्थित भल्चौरका ४६ वर्षीय मनबहादुर विकलाई कहिलेकाहीँ यस्तै लाग्छ । २०६१ चैत २४ गते उनको लागि कालो दिन बन्यो । रुकुमको खारामा तत्कालीन माओवादी र नेपाली सेनाबीच भीडन्त हुँदा उनी गम्भीर घाइते भए । 

‘बमका छर्रा’ शरीरमै

शरीरमा लागेका बमका ७ छर्रा अझै निकाल्न सकेका छैनन् । ‘१६ वर्षको उमेरमै भूमिगत भइयो,’ उनले भने, ‘कम्पनी कमान्डरसम्म पुगियो, तर समायोजनमा अयोग्य ठहरिएँ ।’ पार्टीले सरकारमा गएको बेला पनि बेवास्ता गरेको उनको गुनासो छ । आर्थिक अवस्था कमजोर हुँदा उनी हातमा ३, खुट्टामा ३ र छातीमा एउटा बमको छर्रा बोक्न बाध्य छन् ।


०५९ जेठ २९ गते छत्रेश्वरी गाउँपालिका–१ स्थित गुराँसे भीडन्तमा बमको छर्रा टाउकोमा लागेपछि ४६ वर्षीया नन्दकली कवर घाइते बनिन् । टाउकोमा लागेको ३ छर्रामध्ये २ वटा फालिए पनि एउटा अझैं बाँकी छ । आर्थिक अवस्था कमजोर हुँदा उनको आँखादेखि माथिको भागमा रहेको छर्रा त्यत्तिकै रहेको हो । छर्रा फाल्न नसक्दा शारीरिक अवस्था दिनदिनै कमजोर बनेको उनले बताइन् ।


यी २ मात्र होइनन्, जिल्लामा द्वन्द्वकालमा घाइते भई अशक्त जीवनयापन गर्नेको संख्या दर्जनौं छ । साविकको स्थानीय शान्ति समितिका अनुसार द्वन्द्वकालमा जिल्लाभरि २ हजार ३ सय १० जना घाइते भएका थिए । खारा भीडन्तकै क्रममा बम विष्फोट हुँदा काप्रेचौर–१ जुमखोलाका कृष्ण केसीको शरीरभरि ५४ वटा बमका छर्रा लागे । घरजग्गा र पत्नीको गहनासमेत बेचेर उपचार गर्दा २२ वटा छर्रामात्र फाल्न सके । सबै निकाल्न २० लाख रुपैयाँ लाग्ने भएपछि उनको टाउकोमा २, घाँटीमा १, छातीमा १ र हातखुट्टामा २८ छर्रा बाँकी छन् । ‘शरीर कमजोर बनिरहेको छ,’ उनले भने, ‘कहिलेकाँही राम्ररी बोल्न, सुत्न र हिँड्नसमेत समस्या हुन्छ ।’ कामकाज गर्न नसक्दा अर्काको भरमा पालिनुपरेको उनले गुनासो गरे ।


७ कक्षामा अध्ययन गर्दागर्दै २०५२ फागुन १४ गते छत्रेश्वरी–४ झिम्पेका देबबहादुर डिसीलाई प्रहरीले माओवादीको आरोपमा घर नजिकैबाट नियन्त्रणमा लियो । प्रहरीबाट चरम यातना पाए । २०५८ मा रिहा गरे पनि फेरि २०६० सालमा भैरवनाथ गणले नियन्त्रणमा लियो । त्यहाँ पनि उनले दुई वर्ष यातना पाए । अहिले उनको शरीर कमजोर छ । औषधि खाएर बाँचिरहेका उनले सरकारले राहत नदिएको गुनासो गरे ।


माओवादीको कुटपिटले बायाँ खुट्टा गुमाएका कालीमाटी गाउँपालिकाका भूपेन्द्र खत्रीले पनि राहत पाएका छैनन् । शान्ति समिति र शान्ति मन्त्रालय नै खारेज भएपछि राहतको आशा गर्न छाडेको उनले बताए । ‘बैशाखीको भरमा जीवन बिताइरहेको छु,’ उनले भने । राजनीतिक पहुँचका आधारमा सरकारले राहत वितरण गरेको उनको आरोप छ ।


जिल्लामा द्वन्द्वको समयमा माओवादी र राज्य पक्षबाट पीडित बनेका २ हजार ५९ जनाले अझै राहत पाउन सकेका छैनन् । घाइते तथा अंगभंग भएका २ हजार ३ सय १० मध्ये ३३ जनालाई मात्र साविक स्थानीय शान्ति समितिमार्फत राहत र जीवन निर्वाह भत्ता दिइएको थियो । द्वन्द्वको समयमा जिल्लामा ३ सय ७२ जनाको मृत्यु भएको तथ्यांक छ । स्थानीय शान्ति समिति खारेज भएपछि अहिले द्वन्द्वपीडितको समस्या जिल्ला प्रशासन कार्यालयले हेर्दै आएको छ ।


प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले द्वन्द्वकालमा घाइते तथा अंगभंग भएकामध्ये ३३ जनाले अहिले जीवन निर्वाह भत्ता पाउँदै आएको जानकारी दिए । ‘यस वर्ष छुटेकाहरूको पुनरावलोकन गर्न भन्दै गृह मन्त्रालयले सूचना जारी गरेको थियो, ६८ जनाको निवेदन पर्‍यो,’ उनले भने, ‘मन्त्रालयमा कागजात पठाइसकिएको छ, मन्त्रालयकै निर्देशनअनुसार उहाँहरूलाई राहत तथा जीवन निर्वाहभत्ता वितरण गरिनेछ ।’

प्रकाशित : माघ ४, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?